एमाले नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम


नलगाड नगरपालिकाको सभाहलमा नेपाल कमुनिस्ट पार्टी (एमाले) नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख उपस्थितिमा भएको हो ।
कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष विर बहादुर गीरी, भेरि नगरपालिका प्रमुख सिपी घर्ती र विभिन्न अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य विषय संगठन विस्तारमा जोड दिने र मंसिर १६ गते हुने नगर उप प्रमुखको निर्वाचनका लागि तयारी गर्ने कुरा रहेको बताइएको छ ।
मुख्यमन्त्री यामलाल कडेल लाई जाजरकोटको भूकम्पपछि स्थायी घरको लागि ध्यानाकर्षण गराएको जाजरकोट जिल्लाको जिल्ला कमिटी अध्यक्ष नरेन्द्र शाहीले जानकारी गराए ।
विर बहादुर गीरीले भने, ‘नलगाड नगरपालिका को नगर उप प्रमुखको उम्मेदवार चयन र चुनावमा कसरी सफलता हासिल गर्ने बारे सो कार्यक्रम गरिएको हो ।’ उनले तिहारमा देउसी भैलोको आयोजनासँगै पार्टीलाई सक्रिय बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।
नलगाड नगरपालिकाका एमाले इन्चार्ज नरेन्द्र नेपालीले ४०० मेगावाटको नलसिंहगाड जलविद्युत् परियोजनालाई तत्काल अघि बढाउने, विभिन्न सडक र पुलको विकास र भूकम्पको दोस्रो किस्ताका लागि रोकिएका कामहरूलाई सञ्चालन गराउन मुख्यमन्त्री लाई फाईल पेश गरे ।
मुख्यमन्त्री यामलाल कडेलले भने, ‘तपाईं जुन राजनीति गर्नुहुन्छ, त्यो स्वार्थको लागि मात्र रहेको छ भने पार्टीको संगठन घट्न जान्छ । शिक्षा, स्वास्थ्य जस्ता मुद्दामा विशेष महत्व दिनुहोस्, किनकि यी विषयहरू केवल पार्टीको लागि मात्र होइन, व्यक्तिगत जीवनका लागि पनि महत्त्वपूर्ण हुन्छन् ।’






