केक खाँदा बालिका बिरामी


जन्म दिनमा केक खाँदा एक बालिका बिरामी परेकी छिन् । केकमा बढी कलर मिसाएका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ नेवारेस्थित सिवानी केसी जन्मदिन मनाए लगत्तै बिरामी भइन् । ज्वरो आउने र बान्ता हुने लक्षण देखियो । उपचारपछि सिवानीलाई दुई दिनपछि ठिक भयो । वीरेन्द्रनगरमा रहेको मनकमल बेकरीबाट लगिएको केक खाँदा ज्वरो र बान्ता भएपछि चेकजाँचको लागि बेकरीविरुद्ध गुनासो गरेपछि छानबिन गरिएको थियो ।
सिवानीका बुवा शुसिल केसीले केकमा कलर मिसावट बढी भएको भन्दै गुनासो गरे । केकको कलर लागेको हात साबुनले धुँदा समेत नगएको केसीले बताए । गुनासो गरेपछि अन्य केकभन्दा सिवानीको जन्मदिनमा लगेको केकमा कलर बढी मिसाएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनाएको छ ।
बजारमा पाइने केकमा कलरकै कारण आफ्नो छोरी बिरामी भएको आफुले चेकजाँचका लागि गुनासो गरेपनि कार्यालयबाट चित्तबुझ्दो नभएको प्रतिक्रिया शुसिल केसीले दिएका छन् । बजारमा पाइने हरेक सामान प्रयोग गर्दा उपभोक्ता सचेत हुनुपर्ने उनको भनाई छ ।
केक खाएर बिरामी भएको गुनासो आएपछि स्थलगत रुपमा निरीक्षकका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेष बहादुर थापा आफै पुगेका थिए । सबै पसलका सबै केकहरू चेकजाँच गरेको र गुनासो आएको केक पनि चेकजाँच गर्दा पसलको भन्दा ग्राहकले लगेको केकमा बढी कलर भएको पाइएको भेष निमित्त कार्यालय प्रमुख भेष बहादुर थापाले बताए ।
‘केक पसलमा गएर चेक गर्दा खान मिल्ने कलर प्रयोग गरेको पाइयो ।’ निमित्त प्रमुख थापाले भने, जहाँ गुनासो भएको थियो त्यहाँ कलर बढी प्रयोग गरेको पाइएको छ । पसलमा कलर प्रयोग गर्दा सावधानी अपनाउन सचेत गराइएको छ ।’ कलर चेक गर्ने श्रोत साधन सुर्खेतमा छैन । जसका कारण पनि केकमा कति मात्रामा कलर मिसाइएको थियो त्यसबारे कार्यालयले प्रष्ट जवाफ दिन सकेको छैन ।






