कर्णालीमा उद्योग दर्ता घट्यो, खारेजी बढ्यो


पछिल्ला दुई वर्षमा कर्णाली प्रदेशभर नयाँ उद्योग दर्ता र नविकरणको संख्या घट्दै गएको पाइएको छ । नयाँ उद्योग दर्ता र नविकरण घटेसँगै उद्योग खारेजीको संख्या भने बढ्दै गइरहेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकले कर्णालीका १० वटै जिल्लामा दर्ता नविकरणको तुलनामा उद्योग खारेजी हुने दर बढ्दो देखाउँछ ।
यसमा साना तथा लघु उद्योगहरु बढि छन् । कर्णालीमा आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभर तीन हजार आठ सय ४० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्ष २०८०/०८१ म झण्डै तेब्बरले घटेर एक हजार चार सय ९५ वटा मात्रै नयाँ उद्योग दर्ता भएको निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभर तीन हजार पाँच सय ८३ वटा उद्योगहरु नविकरण भएका थिए । गत आर्थिक वर्षमा यो संख्या घटेर दुई हजार ५५ मा झरेको छ । आर्थिक वर्ष २०७९/०८० मा उद्योग खारेजीको संख्या तीन सय ६९ थियो गत वर्ष यो संख्या बढेर चार सय १० मा पुगेको छ । यो अवधिमा सुर्खेतमा सबैभन्दा धेरै उद्योगहरु खारेज भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा सुर्खेत जिल्लमा आठ सय ६१ वटा नयाँ उद्योग दर्ता भएका थिए । गत आर्थिक वर्षमा यो संख्या घटेर ६ सय ७१ मा झरेको छ । आर्थिक वर्ष २०७९/०८० मा जुम्ला जिल्लामा पाँच सय ९३ नयाँ उद्योग दर्ता हुँदा गत वर्ष घटेर दुई सय चारमा झरेको छ । त्यस्तै दैलखमा यहीँ अवधिमा पाँच सय ४१ नयाँ उद्योग दर्ता भएकोमा गत वर्ष घटेर एक सय ५६ मा सिमित भएको छ । हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७९/०८० मा दुई सय ७६ वटा नयाँ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्षमा घेटेर ५३ मा झरेको छ ।
सल्यानमा पनि नयाँ उद्योग दर्ता घट्दो अवस्थामा छ । आर्थिक वर्ष २०७९/०८० मा सल्यान जिल्लामा दुई सय १९ वटा नयाँ उद्योग दर्ता हुँदा गत वर्ष घटेर एक सय ३२ भएको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा रुकुम पश्चिममा दुई सय ८८ वटा नयाँ उद्योग दर्ता भएका थिए । गत आर्थिक वर्षमा यो संख्या घटेर एक सय भएको छ ।
जाजरकोट जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा तीन सय ५८ नयाँ उद्योग दर्ता भएकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा घटेर एक सय ५३ भएको छ । यस्तै मुगु जिल्लामा पनि नयाँ उद्योग दर्ता घटेको छ । अघिल्लो वर्ष मुगुमा दुई सय ४२ नयाँ उद्योग दर्ता भएकोमा गत वर्ष एक सय ११ वटामा झरेको छ ।
कालिकोट र डोल्पा जिल्लामा पनि नयाँ उद्योग दर्ताको आँकडा घट्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा कालिकोट र डोल्पामा क्रमश तीन सय २६ र एक सय ९६ वटा नयाँ उद्योग दर्ता भएका थिए । गत वर्ष घटेर कालिकोटमा एक सय २२ र डोल्पमा ९३ वटा मात्रै उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
जिल्लागत नविकरण र खारेजीको अवस्था
कर्णाली प्रदेशभर उद्योग नविकरणको अवस्था घट्दोक्रममा छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा मात्रै वार्षिक उद्योग नविकरणको अवस्था बढ्दोक्रममा रहेपनि उद्योग खारेजी भने बढ्दै गएको छ । अन्य नौ जिल्लामा भने उद्योग नविकरण घट्दो अवस्थामा रहदा खारेजी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सुर्खेत जिल्लामा सात सय ७४ उद्योग नविकरण हुँदा ९९ वटा खारेज भएका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर उद्योग नविकरण बढेर नौ सय २१ पुग्दा एक सय ६६ उद्योग खारेज भएका छन् । यस्तै जुम्ला जिल्लामा पनि उद्योग नविकरण घट्दो छ भने खारेजी बढ्दोक्रममा छ ।
जुम्लामा अघिल्लो वर्ष तीन सय ३२ उद्योग नविकरण हुँदा ३३ वटा खारेज भएका थिए । गत वर्ष यो संख्यामा ह्रास आई दुई सय ३७ उद्योग नविकरण भएका छन् भने ८१ वटा खारेजीमा परेका छन् । दैलेखमा आर्थिक वर्ष २०७९/०८० मा चार सय ३८ वटा उद्योग पुनः नविकरण भएका थिए भने ३४ वटा खारेजीमा परेका थिए । तर गत आर्थिक वर्ष २०८०/०८१ मा यो ह्वात्तै घटेर एक सय ५६ मा झरेको छ ।
गत वर्ष दैलेखमा २८ उद्योग खारेज भएका छन् । आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार हुम्ला जिल्लामा तीन सय २८ उद्योग नविकरण भएका थिए भने २८ खारेजीमा परेका थिए । गत वर्षसम्म आइपुग्दा हुम्ला जिल्लामा उद्योग नविकरण तेब्बरले घटेको छ । यस वर्ष हुम्लामा ८७ वटा उद्योग नविकरण हुँदा सात उद्योग खारेजमा परेका छन् ।
सल्यान जिल्लामा भने नविकरण हुने उद्योगको संख्यामा बृद्धि भएको छ । अघिल्लो वर्ष सल्यानमा एक सय उद्योग नविकरण हुँदा २२ वटा खारेज भएका थिए । सल्यानमा गत उद्योग नविकरण बढेर दुई सय ३६ मा पुगेको छ भने ३५ उद्योग खारेजीमा परेका छन् ।
रुकुम पश्चिममा पुनः उद्योग नविकरण तेब्बरले घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा सल्यान जिल्लामा चार सय ३८ उद्योग नविकरण भएका थिए । यस वर्ष ३३ यद्योग खारेज भएका थिए । तर गत वर्ष भने रुकुम पश्चिममा उद्योग नविकरण ७४ मा झरेको छ । २२ उद्योग खारेज भएका छन् । जाजरकोटमा पनि उद्योग नविकरणको अवस्था सन्तोषजनक छैन ।
आर्थिक वर्ष २०७९/०८० मा जाजरकोट जिल्लामा कुल दुई सय ६८ वटा उद्योग नविकरण भएका थिए । यस वर्ष ३४ वटा उद्योग खारेज भएका थिए । गत वर्षसम्म आइपुग्दा जाजरकोटमा पनि झण्डै तेब्बरले उद्योग नविकरणमा कमि आएको छ । यस वर्ष ८३ वटा मात्रै उद्योग नविकरण हुँदा २८ वटा उद्योग खारेजीमा परेका छन् ।
त्यस्तै मुगुमा पनि उद्योग नविकरण ठुलो संख्यामा घटेको छ । आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार मुगु जिल्लामा तीन सय ४२ उद्योग नविकरण हुँदा गत वर्ष ह्वात्तै घटेर ५१ मा झरेको छ । अघिल्ला वर्ष ३० र गत वर्ष ५१ वटा उद्योगहरु खारेजीमा परेका छन् । कालिकोट र डोल्पामा पनि यद्योग नविकरण घट्दो अवस्थामा छ भने खारेजी बढिरहेको छ । यि दुई जिल्लामा आर्थिक वर्ष २०७०/०८० मा क्रमश एक सय ९३ र तीन सय २८ उद्योगहरु नविकरण भएका थिए ।
यहीँ अवधिमा कालिकोटमा ३३ र डोल्पामा २३ उद्योग खारेज भएका थिए । गत आर्थिक वर्षमा आएर यी दुई जिल्लामा ठुलो संख्यामा उद्योगहरु नविकरण भएका छैनन् । गत वर्ष कालिकोटमा एक सय ३१ र डोल्पामा ७९ वटा मात्र उद्योग पुनः वार्षिक नविकरण भएका छन् भने कालिकोटमा ३७ वटा उद्योग खारेज भएका छन् । यस वर्ष मुगुमा कुनै पनि उद्योग खारेजीमा नपरेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
किन घट्यो नविकरण ?
कर्णाली प्रदेशमा उद्योग नविकरण घट्नुको कारण प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली नहुनु रहेको बताउँछन् उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका सूचना अधिकारी थिरबहादुर श्रेष्ठ । लामो समसम्म नियमावली नहुँदा उद्योग नविकरणमा कमि आएको उनले बताए ।
प्रदेश सरकारले गत फागुनमा प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) (पहिलो संसोधन) नियमावली–२०८० लागु गरेपछि उद्योग नविकरणमा रहेको कानुनी अल्झनको अन्त्य भएको उनले बताए । यसअघिको नियमावलीमा नवकिरण शुल्क लगायतका विषयलाई लिएर उद्योगीहरुले उद्योग नविकरण नगर्दा संख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।
नियमावली लागु भएसँगै उद्योग नविकरणको संख्या बिस्तारै बढ्दै गएको सूचना अधिकारी श्रेष्ठले बताए । उद्योग खारेजीको सन्दर्भमा साना तथा लघु उद्योगहरु बढी रहेको उनले बताए । पछिल्लो समय कोभिड–१९ लगायतका कारणले उत्पन्न आर्थिक संकटका कारण यस्ता उद्योगहरु बन्द भएको हुनसक्ने उनले बताए । खारेज भएका अधिकांश कृषि तथा पशुपालनमा आधारित उद्योगहरु बढी रहेको श्रेष्ठले बताए ।





