सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी


रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये तीन प्रतिशत युवाले मात्र रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृतमध्ये ३.१३ प्रतिशत अर्थात् १०१ जनाले मात्र रोजगारी पाएका हुन् । बाँकी ९६.८६ प्रतिशत अर्थात् तीन हजार १२१ जना सूचीकृत युवाले रोजगारी पाउन नसकेको नगरपालिकाले जनाएको छ ।

गरिब तथा विपन्न परिवार र वडाको आवश्यकताका आधारमा युवालाई छनोट गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको थियो । नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद शर्माका अनुसार नगरपालिकामा सञ्चालित विभिन्न २५ वटा योजनामा छनोट भएकामध्ये १०१ जनाले ९० दिन बराबरको रोजगारी प्राप्त गरेका छन् ।

उनका अनुसार उक्त कार्यक्रममा एक हजार ६५७ जना महिला र एक हजार ५६४ जना पुरुष गरेर जम्मा तीन हजार ३२२ जना बेरोजगार व्यक्ति सूचीकृत भएका थिए । जस अन्तर्गत छनोट भएका १०१ जनाले प्रतिदिन ६६८ रुपैयाँका दरले रकम प्राप्त गरेका छन् । रोजगार संयोजक शर्माका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो, सिँचाइ, पदमार्ग, खानेपानीलगायतका योजना सम्पन्न भएका छन् । यस कार्यक्रमका लागि प्राप्त भएको ८४ लाख १८ हजार बजेटमध्ये ९८.१० प्रतिशत अर्थात् ८२ लाख ५६ हजार ६३८ रुपैयाँ ५८ पैसा खर्च भएको छ ।

त्यसै गरी गत आवमा नै मुख्यमन्त्री रोजगार कार्यक्रमबाट चौरजहारी नगरपालिकामा २१९ जना बेरोजगारले रोजगारी पाएका छन् । विभिन्न १४ वटा आयोजनामार्फत उनीहरूले रोजगारी प्राप्त गरेका हुन् । मुख्यमन्त्री रोजगार कार्यक्रममा युवाले औसतमा ६६ दिन रोजगारी प्राप्त गरेको बताइएको छ । दक्ष कामदारले प्रतिदिन एक हजार १५५ रुपियाँका दरले र अदक्ष कामदारले प्रतिदिन ८७० रुपैयाँका दरले ज्याला पाएका छन् । नगरपालिकाका १४ वटै वडामा सञ्चालित योजना अन्तर्गत पदमार्ग, सिँचाइ कुलो, विद्यालयको पर्खाल निर्माण, गोरेटो बाटो र खानेपानीको आयोजना निर्माण गरिएको छ ।

यी आयोजना सम्पन्न गर्नका लागि नगरपालिकालाई दुई करोड ११ लाख ८० हजार रकम प्राप्त भएको थियो । प्राप्त भएको बजेटको ९९.९७ प्रतिशत अर्थात् दुई करोड ११ लाख १३ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी

हरायो तीजको दर खाने मौलिकता

सूचीकृतमध्ये तीन प्रतिशतलाई मात्र रोजगारी

प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डो¥याउन

This will close in 0 seconds