पहिरो हटाउन एक हप्ता लाग्ने

कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ । पहिरोले उक्त खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन खिड्कीज्युलामा थन्किएका छन् भने त्यहाँदेखि यात्रु पैदल हिँड्न बाध्य भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबैभन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्साभेटर लगाएर पन्छाउने काम जारी रहेको बताए । शुक्रबारसम्म मौसम थप सक्रिय नभए यताको पहिरो पन्छाउन सकिएला तर नौ किलोमिटरभरि पहिरो गएकाले सडक मर्मत र पहिरो पन्छाउन हप्ता दिनभन्दा बढी लाग्न सक्ने उनले बताए ।

प्रहरी टोली पहिरो प्रभावित क्षेत्र कालीकोटको सिमा दहीखोलासम्म पुग्दा सडकको अवस्था निकै बिग्रिएको उनले जनाए  । यही गतिमा काम भए तत्काल सडक खुल्न सक्ने अवस्था छैन तर सडक डिभिजन कार्यालय सुर्खेत र यताबाट जुम्ला कार्यालयले कामलाई तीव्रता दिए एक हप्तापछि सडक खुलाउन सकिने महताराको भनाइ छ । गगनेखोलाको पहिरोले सडक पूरै बगाएकाले नयाँ सडकको ट्र्याक खोल्नुपर्ने छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर वीरबहादुर जिटीले दहीखोलामा रहेको पक्की पुल बगाएकाले धेरै क्षति पुगेको बताए  । घटनास्थलमा खटिएका कर्मचारीसँग ढिलो सम्पर्क भएकाले थप क्षतिको विवरण मागिरहेको र सुर्खेत कार्यालयसँग पनि समन्वय भइरहेकाले दुवैतर्फबाट सडक खुलाउने काम हुने जिटीले बताए ।

एक हप्तासम्म सडक सञ्चालन नहुने भएपछि सबैभन्दा बढी समस्यामा सर्वसाधारण र बिरामी पर्ने भएका छन् । बिरामीलाई समेत नौ किलोमिटर सडकमा स्टे«चरमा राखेर बोक्नुपर्ने भएको छ भने स्याउ व्यापारी पनि समस्यामा पर्ने भएका छन् । जुम्लादेखि स्याउ बोकेका गाडी अहिले कालीकोटको हुल्म बजारमा रोकिएका छन् । एक हप्तासम्म स्याउ ट्रकभित्र रहँदा कुहिने डर देखिएको छ । गन्तव्यसम्म पु–याउन नसक्दै स्याउको गुणस्तर घट्ने भएपपिछ स्याउ व्यापारी चिन्तित भएका छन् ।

पहिरो हटाउन एक हप्ता लाग्ने

सम्पादकीय: माथिल्लो कर्णालीमाथीको जालझेल