महिला कृषकद्धारा पालिकामा मागपत्र पेश
उत्तरदायी स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रम लेकबेशी र भेरीगंगामा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, भिएसओ नेपालको सहकार्य र बेलायत सरकारको आर्थिक सहयोगमा याक्टिभ परियोजना अन्तर्गत सम्पन्न भएको हो ।

सोही अवसरमा महिला किसानको उद्यमशिलता अभिवृद्धि गर्नका लागि पालिकाको बजेट, नीति तथा कार्यक्रममा समेट्ने विभिन्न मागसहित मागपत्र पेश गरिएको छ । लेकबेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल र भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहरालाई मागपत्र पेश गरिएको थियो ।
महिला कृषकहरुको लेखा व्यवस्थापन, ऋण माग, फार्म व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गर्नुपर्ने, महिला कृषक उद्यमीका लागि बिउ विजन मल तथा आवश्यक कृषि सामाग्रीहरुमा विशेष अनुदानको व्यवस्था हुनुपर्ने, कृषिमा महिला किसानको योगदानको पहिचान र कदर गर्दै महिला कृषकको नाममा रही आएको जग्गामा महिलाकै स्वामित्व हुने, महिलाले बेचबिचन गर्न पाउनुपर्ने माग राखिएको छ ।

त्यसैगरी कृषिमा लैङ्गीक समता र महिलाको योगदानको महत्व बुझाउने र समान कामको समान ज्याला सुनिश्चितताको लागि जनचेतनामूलक कार्यक्रम गर्ने, महिला कृषकहरुको आवश्यकता र प्राथमिकतालाई पालिकाको बार्षिक योजना कार्यक्रम तथा बजेट पुस्तिकामा प्रतिििम्बत गर्न बजेट निर्माण प्रक्रियामा महिला कृषकलाई सहभागिता गराउनुपर्ने माग राखिएको छ ।
कृषि उत्पादनको मुल्य अभिवृद्धि विकासका लागि महिला कृषकहरुलाई प्याकेजिटङ, ब्यान्डिङ सम्बन्धी तालिमको योजना र महिलामैत्री बजार निर्माण धारणा ल्याउने, पालिकाको महिला किसानको अधिकार सुनिश्चित हुने महिला नीति, नियम तथा कानून निर्माण गर्नुपर्ने, कृषि औजारमा महिलाको सहज पहुँच हुनुपर्ने माग राखिएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका निवर्तमान अध्यक्ष नवराज वस्नेतले देशभरी छरिएर रहेका साना किसान, सिमान्तकृष्त किसान र पछाडी पारिएका महिला किसानका सवालमा वकालत गर्दै आएको बताए । कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्त बहादुर केसीले सबै किसानले समान खालका हकहित पाउनुपर्ने र वर्गिकरण सहितको किसान परिचयपत्र सबै किसानको हातहातमा हुनुपर्ने बताए ।





