दोस्रो किस्ता निकासा


रुकुमपश्चिममा भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण गर्न दोस्रो किस्ताको रकम निकासा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले दोस्रो किस्ताको रकम निकासा पठाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद शर्माका अनुसार आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका आठ हजार ६ सय ५८ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम पठाइएको छ ।

आठबिसकोट नगरपालिकाका तीन हजार १३ जना र सानीभेरी गाउँपालिकाका पाँच हजार ६ सय ४५ जना लाभग्राहीका लागि दोस्रो किस्ताबापतको २१ करोड ६४ लाख ५० हजार रुपियाँ सम्बन्धित पालिकाको खातामा पठाइएको हो । उक्त रकम भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८० र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार स्थानीय तहले वितरण गर्ने बताइएको छ ।

भूकम्प प्रभावित घरपरिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार दिने व्यवस्था रहेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि लाभग्राही कायम भएका रुकुमपश्चिममा ३२ हजार ९ सय ९६ जना लाभग्राहीलाई पहिलो किस्ताको रकम सम्बन्धित पालिकामार्फत वितरण गरिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार दुई जनालाई भने पहिलो किस्ताको रकम अपुग भएकाले वितरण हुन सकेको छैन ।

बर्खा लाग्नै थाल्दा दिनहुँ जसो हावाहुरीले भूकम्पपीडित परिवारले थप पीडा भोग्नु परिरहेको छ । हावाहुरीका कारण अस्थायी आवासका लागि बनाइएको टहरा भत्काउनुका साथै पानीका कारण घरायसी सामान जोगाउन धौ धौ हुने गरेको पीडितको गुनासो रहेको छ । आठबिसकोट नगरपालिका–१४ का रमेश मल्लका अनुसार गाउँमा हावाहुरीले धेरैको टहरा उडाइदिएको छ । चर्किएको घरमा समेत पानी चुहिने, छानाको ढुङ्गा खस्ने गर्दा थप जोखिमको डर रहेको उनले जानकारी दिए ।

दोस्रो किस्ता निकासा

विद्युत् प्राधिकरणले ९ महिनामा ११ अर्ब रुपैयाँ

दोस्रो किस्ता निकासा

पश्चिम क्षेत्रको राडार दुई वर्षदेखि कामविहीन