एक सातादेखि भन्सारमै थन्किए पेट्रोलियम अन्वेषणका उपकरण


दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि ल्याइएका उपकरणहरु नेपालगञ्ज भन्सारमै थन्किएका छन् । एक साताअघि चीनबाट भारतको कोलकाताहुँदै नेपालगञ्ज आइपुगेका ड्रिलिङ मेशीन लगायतका उपकरणहरु रुपैडिया भन्सारले रोकेको हो ।

भन्सार छुट पत्रमा उपकरणहरुको नाम फरक परेपछि नेपालगञ्ज भन्सारले सबै सामान रोकेको हो । रुपैडिया नाकाबाट दैलेखसम्म मेसिन ल्याउन करिब आठ दिन लाग्छ । सबै मेसिनको पार्ट टुक्रा–टुक्रा पारिएकाले जडान गर्न समेत समय लाग्छ । तर उपकरणहरु हप्तौ दिनसम्म भन्सारमै रोकिँदा अन्वेषणको काम प्रभावित बनेको छ ।

पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रका सिनियर डिभिजनल भुगर्भविद डा. गणेशनाथ त्रिपाठीका अनुसार भन्सार छुट पत्रमा नाम त्रुटीहुँदा आठ ट्रक सामान भन्सारमा रोकिएका छन् ।उनले भने, ‘सामान्य त्रुटीले उपकरणहरु भन्सारले रोकेको छ । सयममै उपकरण पुगेको भए अन्वेषणको काम प्रभावित बनेको छ ।’ड्रिलिङ मेशिन हिड्नु पूर्व नै सबै सम्झौता गरिएको थियो । तर खानी तथा भूगर्भ विभाग हुनुपर्नेमा पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्र भएपछि भन्सारले रोकेको छ ।

दैलेखमा चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न लागिएको छ । यसका लागि हाल नौ जना चिनियाँ प्राविधिकहरु दैलेखमा पुगेर काम गरिरहेका छन् । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको हो ।

माघ २१ गते अर्थ मन्त्रालयमा खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषण परियोजनाका नाममा सम्पूर्ण कर तथा महसुल छुट दिने भन्ने पत्र पठाएको थियो । पत्र पेस गरेको लामो समयसम्म पनि नाम परिवर्तन नगरिँदा मेसिन नाकामा थन्किएको प्रमुख नापितले बताए ।
उनका अनुसार अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरिदिँदा ट्रान्सपोर्ट कम्पनीलाई लाखौंको जरिवाना तिर्नुपर्ने भएको छ । २०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जीओलोजिकल सर्भे कम्पनीका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मन्त्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो ।

बेला–बेलामा कामबारे चासो दिएको भएपनि सत्ता फेरबदलले गर्दा परियोजनाको काम ओझेलमा परेको जनाइएको छ । अब पनि अर्थमन्त्रीले निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिन्छ । दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारीले देशकै गौरवको आयोजना भएकाले नाकाबाट मेसिन ल्याउन सबै आ–आफ्नो ठाउँबाट सहजीकरण गर्नुपर्ने भन्दै सरकारले बाटो खोलिदिनुपर्ने दावी गरे ।

उपकरण ल्याउने पहल जारी
खानी तथा भूगर्भ विभागले डेढ महिना अघि नै नाम सच्याएर अर्थ मन्त्रालयमा पठाएपनि अर्थबाट स्वीकृत नहुँदा नाकामा उपकरण अलपत्र परेको विभागका प्रवक्ता मोनिका झाले बताइन् । समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले उपकरणहरु नाकामा रोकिएको र समस्या सुल्झाउन पहल भइरहेको उनको भनाइ छ ।

उनका अनुसार अर्थ मन्त्रालयले नै सम्पूर्ण कर तथा महसुल छुट दिएको पत्र नपठाइदिँदा उपकरण रोकिएका हुन् । उनले भनिन्, ‘समस्या सुल्झाउन हामी लागिरहेका छौं । पहल जारी छ । अब केही दिनमा समस्या समाधान हुन्छ ।’ भन्सारमा रोकिएका सामानहरु सुर्खेतबाट कर्णाली राजमार्गहुँदै चामुण्डाविन्द्रासैनीबाट अन्वेषण खानीस्थल दैलेखको जलजले पु¥याउनुपर्नेछ ।

२०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजना ड्रिलिङ चरणमै रोकिएको छ । नेपाल र चीन सरकारबीच सन् २०१७ मा परियोजनामा सम्झौता भएको थियो ।अन्वेषणका सामग्री ल्याउनकै लागि कर्णाली राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाइएको हो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा अन्तिम ड्रिलिङका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्माउने लगायतका काम सकिएका छन् । अब भन्सारबाट उपकरण आउने बित्तिकै मेसिन जडान गरेर ‘ड्रिलिङ’को काम सुरु गरिनेछ ।

एक सातादेखि भन्सारमै थन्किए पेट्रोलियम अन्वेषणका उपकरण

सम्पादकीय : औद्योगीक ग्राम कहिले बन्छ ?

एक सातादेखि भन्सारमै थन्किए पेट्रोलियम अन्वेषणका उपकरण

खस जातिको प्राचीन इतिहाँस

This will close in 0 seconds