हिउँमा जुम्लाका भेडीगोठहरु

पशुपालनमध्ये भेडापालनलाई व्यावसाय निकै अप्ठेरो मानिन्छ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा र हुम्ला लगायतका थुप्रै स्थानीयहरु लागि भेडापालन व्यावसाय आर्थिक उपार्जनको भरपर्दो बलियो स्रोत हो ।

यो निकै कठिन व्यवसायमा पनि थप कठिनाइ अझै हिउँदमा थपिन्छ, जब गोठ क्षेत्रमा बाक्लो हिउँ पर्न थाल्छ । खर्सुका (डालो) बाक्ला जंगल छेउका पारिलो पाखामा भुइँ तले गोठ बनाइएका हुन्छन् । पिउने पानी पानीको नजिकै स्रोत छ, कि छैन भन्ने पनि हेरिन्छ ।

कहीँ कतै भने खर्सुको जंगलबीचमै रहेका ओडारलाई बारेर गोठ बनाइएको हुन्छ। यस्ता भेडीगोठमा कुकुर मुख्य पहरेदार हुन्छन् । गोठ आसपास केही सुइँको पाउनै हुँदैन, शङ्कास्पद भए कुकुर भुक्नु अनि त्यसको चालमा गोठालाहरू सतर्क भएर कोकोहोलो कराउनु÷चिच्याउनु सामान्य दिनचर्या हुन्छ । भेडाहरू हिउँदका बेला अत्यन्त अल्छी र लाटो स्वभावका हुन्छन् ।

हिउँमा भेडाहरु

राम्रो स्याहार पुगेन भने भेडा बेस्सरी दुब्लाउँछन् । स्थानीय समुदायमा सामुदायिक र निजी वन दर्ता गर्ने होड चल्यो, तब भेडापालन झन्झन् घेराबन्दीमा प¥यो।अहिले पनि १ रुखको समुदायको तिथि अनुसार रुपैयाँ तिरेर खर्सु काट्ने गरिन्छ । भेडा पारिलो पाखाको घाँस कदापि रुचाउन्नन् । हिउँ पर्दा ठुलै सास्ती खेप्नुपर्छ । घुँडाघँडासम्म हिउँ पर्नु सामान्य हो ।

यस्तोमा जमिनमा घाँस हुँदैन । अनि खर्सुको डालाको विकल्पै छैन । भेडा पालक किसान सिंजा–६ काडागाँउका रामकृष्ण बुढाका अनुसार घरमा सिमीको सुकेको कुनोरो, मकै, भटमास खुवाइन्छ । एउटा असली तथा योग्य गोठालो बन्न रूख चढ्न सक्ने मात्र होइन, भरपुर मात्रामा खर्सुको डाला काट्न सक्नुपर्छ ।

प्रायजसो गोठालाहरू हिउँद याममा कसले कति डाला काट्न सक्यो र भेडालाई पेट अघाउँजी ख्वाएर पुष्ट बनायो भनेर दाँजिन्छन् । जुन भेडा बथान खर्सुको डालामा भरपुर आश्रित रह्यो त्यही बगालका भेडा बढी हृष्टपुष्ट हुन्छन् । तर हिउँ पर्दा छिप्पल रूख चढ्ने हिम्मत हराउँछ । जस्तोसुकै ‘मैं हुँ’ भन्ने गोठालाहरू पनि खर्सुका पोथ्रापोथ्री काट्नतर्फ लाग्छन् । खर्सु लेकाली रूख हो । हिमाली उच्च भागमा खर्सु बाक्लो पाइन्छ ।

दक्षिणी मोहडा भएका पहाडहरूमा ३ हजारदेखि माथि तथा उत्तरी मोहडा भएका पहाडमा ३ हजारदेखि तल २ हजार मिटर माथिसम्म खर्सु विशेष फैलन्छ । खर्सुको रूखमा चढेर डाला काट्दा फुर्को अनिवार्य राख्ने चलन छ । यसको आफ्नै सांस्कृतिक तथा वैज्ञानिक महत्त्व छ । फुर्को राख्नाले आफ्नो चिनो दिगो रहन्छ भन्ने उनीहरूको विश्वास छ । ज्येष्ठ गोठालाहरू जीवनको अति स्मरणीय क्षणको ठोस चिनारीको प्रतीकको रूपमा फुर्कोलाई मान्छन् ।

युवा जोसका बेला पालिएका फुर्काहरू जीवनको अन्तिम क्षणतिर देख्न पाउँदा उनीहरू आफूलाई औधी भाग्यमानी मात्र ठान्दैनन्, विगत सम्झेर आफ्नो जिन्दगी गुजार्नुको अर्थ कहन्छन् । र, उनीहरू बाँच्नका लागि संघर्षको रहस्य केलाउँछन् ।

फुर्को राख्नाले रूखको उचाइ अझै बढ्ने, मूल डाँठ अझ सशक्त बन्ने, रूख अझ स्वस्थ बन्न बल पुग्ने, रूखको स्वच्छतामा दिगोपन आउने तर्कहरू गोठालोहरू सुझाउँछन । यता पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांक अनुसार जुम्लामा खसी, बोका र बाख्राको सख्या ४६ हजार ३ सय ६ र भेडाभेडीको संख्या ८४ हजार ३ सय ८८ छ । पशु सेवामा कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार भेडापालनको मुख्य चुनौती घाँसको अभाव छ । उनले भने, ‘बढ्दै गएको जनसंख्याका कारण चरिणचरणका क्षेत्र अतिक्रमण हुँदै छन् ।

घाँस उत्पादन हुने क्षेत्र नै नभए पनि घाँस अभाव भएको देखिन्छ । यस्तै कर्णाली प्रदेश सरकारले कार्यविधि बनाएर भेडा गोठालो भत्ता कार्यक्रम सुरुवात गरेको छ । किसानहरूलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले बनाएको कार्यक्रम अनुसार भत्ता दिन थालिएको हो ।

कर्णाली प्रदेश सरकार, पशुपक्षी विकास निर्देशनालय मार्फत कर्णालीका हुम्ला, मुगु, जुम्ला र डोल्पाका भेडा तथा च्याङ्ग्रा पालन गर्ने किसानहरूलाई भत्ता दिन थालेको हो । कम्तीमा ५० भेडा तथा च्याङ्ग्रा पाल्ने, लेकमा गोठ भएको लगायतको मापदण्डमा तोकिएको छ । कार्यविधि अनुसार प्रति किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपियाँ भत्ता दिइएको छ ।

हिउँमा जुम्लाका भेडीगोठहरु

ऐतिहाँसिक कर्णाली खस साम्राज्यको इतिहाँस