जारी स्ववियु भलिबलमा तातोपानी र पातारासी फाइनलमा पुगे

जुम्ला ,११ बैशाख ।
जुम्लामा सञ्चालित जारी प्रथम स्ववियु खुला भलिबल प्रतियोगिताको तेस्रो दिन तातोपानी गाउँपालिका र हाम्रो पातारासी टिम फाइनलमा प्रवेश गरेका छन् । तातोपानी गाउँपालिकाले कर्णाली मावि अनामनगर र हाम्रो पातारासी टिमले कर्णाली प्राविधिक शिक्षालयको टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार तातोपानीले तीन सेट जितेको थियो भने कर्णाली मावि अनामनगरले एक सेटमै चित्त बुझाएर पराजित हुनुपर्यो ।आयोजक स्ववियु जुम्लाले शनिबार दिउँसो १ बजे फाइनल खेल हुने जनाएको छ ।
फाइनल खेल हुनुपूर्व जुम्ला बहुमुखी क्याम्पस र पुराना भलिबल खेलाडीहरु बीचमा मैत्रीपूर्ण खेल हुनेछ । पुरस्कार वितरण कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसम्म प्रस्तुत गरिने छन् । प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछ । पछिल्लो समयमा लोप हुँदै गइरहेको भलिबल खेलको संरक्षण गर्न र खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्न भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।






