२०८२ फाल्गुन ५ गते
×

Now Playing

प्रजातान्त्र दिवसको दिन सिंजाको जोडुगाउँमा कोईरा पर्व

फागुन ७ गते देशभर जहाँनीय हुकुमी शासन अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइदै आएको छ । देशमा विभिन्न कार्यक्रम गरेर ७२ औँ प्रजातन्त्र दिवस मनाइयो । तर जुम्लाको सिँजा गाउँपालिका–६ जोडु गाउँमा भने प्रजातन्त्र दिवसको अवसरमा कोइरापर्व धुमधामका साथ मनाइएको छ ।हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ ।

यो दिनमा बारीमा कोइरा र चोताको बीउ रोप्ने गरिन्छ । बसन्त ऋतु भित्रीने दिनको रुपमा कोइरा पर्व मनाउने गरिएको ८७ बर्षिय मोतिराम बुढाले बताए ।

उनले भने,‘यो दिन देविदेवताले प्रदान गरेको शुभसाइतको दिनका रुपमा गणना हुन्छ । जोडु गाउँका हरेक घरले बारीमा कोइरुा र चोतो लगाउँछन । मिठा परिकार बनाएर एकआपसमा सुखदुख साट्ने गर्दछन । ’जोडु गाउँमा २ सय भन्दा बढी घरधुरी छन् । कोइरा चोता रोपेपछि हरेक बर्ष नयाँ खेतीको शुरूवात भएको मानिन्छ ।

यो संगै यहाँका किसानले बारीमा खनजोतको काम अघि बढाउँछन । बाली नाली लगाउन सुभसाइतका रुपमा रहेको फागुन ७ गते हरेक किसानले बढीमा पाँच ÷पाँच वटा कोइरा र चोता बारीमा रोप्छन ।एकातिर कोइरा र अर्कोतिर चोता रोपिन्छ । प्रयोग नभएको सल्लाको रुखबाट झरेको पिरलले लगाएको कोइरा र चोताको बीउ ढाकछोप गरिन्छ ।

सेतो चामल र पहिलो बेसारबाट बनाइएको दहीचामलको टीका लगाएर पुजापाठ गरि ढोक्ने किंवदन्ती रहेको मोतिराम बताउँछन ।दहीचामलको टीका बनाउन पुरानो तामाको बटुको (कचौरा) प्रयोग गरिन्छ । त्यो बटुको कुनै पनि अशुभ कार्यमा प्रयोग नगरेको हुनुपर्छ । टीका बनाउने पानी पनि अविवाहित युवतीलाई धाराबाट ल्याएर बनाउन लगाइन्छ ।

रोप्दा राम्रोसँग फलोस, कसैको आँखा नलागोस भनेर पुकार गर्ने परम्परा रहेको बुढापाकाहरु बताउँछन् ।बारीको मलिलो माटोमा कोइरा र चोताको खेति गरिन्छ । दिउँसो १ वजे देखि साढे २ वजे सम्म कोइरा लगाइन्छ ।

प्रजातन्त्र दिवसको दिनमा अलि अलि हिउँ पर्नु पर्ने जनविश्वास रहेको छ । कार्तिक र मंसिरको महिना औल (हाट) गएकाहरु प्रायःजसो आजको दिनमा फर्कने गर्दछन ।

यो दिनमा पुरी र जिगुराको तरकारी लिएर खाने गरिन्छ । अन्यत्र गाउँका स्थानीयहरुले पनि त्यो गाउँबाट मागेर यहीँ फागुन १२ गते कोइरा तथा चोता लगाउने गर्दछन ।

अन्य गाउँ भन्दा जोडु गाउँ कोइरा र चोताको हिसाबले प्रसिद्ध रुपले चिनिन्छ ।यो खाँदा गुलियो र रसिलो हुने गर्दछ । यसबाट विभिन्न परिकार बन्छन् । जस्तै चाना,असुरो, रुम्ला, बनाउन सकिन्छ । यसबाट बनाइएका चाना फापरको पिठो संग मिसाएर ढेस्सु हालेर खाने चलन छ । त्यो भएर जोडु गाउँलाई जोडाल चाना भनेर रमाइलो गरेर जिस्काउने गर्दछन ।

कोइरा चोताबाट बनाइएको असुरोको छुट्टै पहिचान छ ।असुरो बनाउदा १२ दाते रिठ्ठाको र फलामबाट निर्माण गरेको जातिको माध्यमबाट बनाइन्छ । असुरो चामल उत्पादन हुने बस्ती सम्म लिएर मार्सीचामल संग साट्ने गरिन्छ । असुरो लिएर धान फल्ने क्षेत्रका मानिसहरूले रातो लोकल चामल र पिर्रे ( खुर्सानी ) दिने गर्दछन ।

चोता,कोइराको पहेँलो जुगुरा काटेर मिटमसला संग भुटेर पुरी संग खाने चलनचल्ती बसेको अर्को ८२ वर्षकी काली बुढा बताउँछिन । यो दिन पोइल गएकी सबै छोरीचेली माइतीघरमा आउछन् । गाउँमा मइतेलु आइन, ढेस्सु लोटाइन् भनेर ठट्टा गर्ने प्रचलन रहेको सिंजा–६ वडा अध्यक्ष लालबहादुर बुढा बताउँछन् । कोइरा र चोता स्वास्थ्यका लागि राम्रो मानिन्छ । कोइरा र चोता कार्तिक र मंसिर महिनाको घाँस काट्ने बेला बढी प्रयोग गरिन्छ ।

प्रजातान्त्र दिवसको दिन सिंजाको जोडुगाउँमा कोईरा पर्व

मुगुमा कारागारको भवन नहुदा: कैदीलाई अन्यत्र जिल्ला

प्रजातान्त्र दिवसको दिन सिंजाको जोडुगाउँमा कोईरा पर्व

सुर्खेतमा चल्दै गरेको पल्सर बाईकमा आगलागी