चिसोले हिल्सा बजारमा २७ जनामात्र, आर्थिक कारोबार शून्य


अत्यधिक चिसोका कारण हिल्सा बजारमा चिनियाँ सामान आउन छाडेपछि आर्थिक कारोबार शून्य भएको हो ।

चिसो बढेपछि व्यापारी र निर्माण व्यवसायी कोही पनि हिल्सामा बसेका छैनन् । अहिले चीनको ताक्लाकोटबाट व्यापारिक प्रयोजनका सामान ढुवानी हुन छाड्दा कारोबार शून्य छ । व्यापारिक कारोबारमात्र होइन, यो नाकामा सुरक्षाकर्मी र केही होटल कुरुवाबाहेक अरु कोही छैनन् । सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवका अनुसार यतिबेला नेपालको सीमा क्षेत्र हिल्सा बजार सुनसान छ । हिल्सामा १५ जना सशस्त्र प्रहरी, ६ जना नेपाल प्रहरी र स्थानीय ६ जना होटल कुरुवा गरी २७ जनामात्र बस्दै आएका छन् ।

उनका अनुसार चिसो बढेपछि एक महिनायता चीनको ताक्लाकोटबाट व्यापारी र निर्माण सामग्री आउन छाडेका छन् । हिल्साका व्यापारी, जिल्लाबाट जाने व्यापारी र निर्माण व्यवसायी कोही पनि नभएकाले चीनको ताक्लाकोटबाट सामान आउन रोकिएको हो । चीनले नाका खुला राखे पनि व्यापारी हिल्सामा नभएकै कारण सामान आएको छैन । सामान आउन छाडेपछि चीनको सिमानाबाट हिल्सा बजारसम्म सामान ढुवानी गर्ने अटो रिक्साका चालकसमेत बेरोजगार बनेका छन् ।गत वर्ष वैशाख १८ गते हिल्सा नाका दुईतर्फी रुपमा सञ्चालनमा आएपछि कोरोना लकडाउन यता सामान आउन सुरु भएको थियो ।

हिल्सामा बस्दै आएका स्थानीय ताक्लाकोटबाट तरकारी खरिद गर्न हप्तामा एक–दुई जना जाने र किनेर ल्याउने कामभन्दा अन्य कुनै पनि कारोबार भएको छैन । मंसिरमा परेको हिमपातले गर्दा नारा लेकको सडक बन्द भएपछि व्यापारी हिल्सा छाडेर जिल्लातर्फ गएका हुन् ।सामान आउन छाडेपछि राजस्व असुलीसमेत बन्द भएको छ । हिल्सामा स्थापना गरिएको यारी भन्सार कार्यालय बन्द गरिएको छ । केही महिनाअघि यो नाकाबाट दैनिक ५०–६० जना नेपाली आवतजावत गर्दै आएको भए पनि हाल शून्य रहेको हिल्सा प्रहरी चौकीले जानकारी दिएको छ ।

नेपालीभन्दा चिनियाँ सामान सस्तोहुम्ला सदरमुकाम सिमिकोटबाट ९५ किलोमिटर कच्ची सडक छिचोलेपछि एक दिनमा हिल्सा पुगिन्छ । हिल्सा नाकादेखि पक्की सडक ३० किलोमिटर टाढा छ चीनको ताक्लाकोट बजार । हुम्लीवासी स्थानीय प्रशासन सीमा पास लिएर त्यहीँ ताक्लाकोटमा किनमेल गर्न पुग्छन्। सिमिकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर कच्ची सडकमा बोलेरो जिप, ट्याक्टर र ट्रक चल्न थालेपछि चीनसँगको निर्भरता अझै बढेको हो । सिंगो नाम्खा गाउँपालिका चीनको ताक्लाकोटकै भरमा दैनिक उपभोग्य वस्तुमा भर पर्नुपरेको छ । नाम्खा गाउँपालिका–५ का तेन्जिङ पाल्जोर लामाका अनुसार पिठो, वनस्पति घिउ, भोटे चिया, उवा, जुत्ता, ब्ल्यांकेट, ओछ्याउने फर्म, चुलो, थर्मस मात्र होइन, सिमेन्ट–सरिया पनि ताक्लाकोटबाट ल्याइन्छ ।

सदरमुकाम सिमकोट बजारमा नेपालगन्ज–सुर्खेत हुँदै हुम्लाको दक्षिण भेगको चंखेली गाउँपालिका सल्लीसल्लासम्म गाडी र त्यसपछि एक दिन पैदल खच्चडबाट बोकाएर चाउचाउ बिस्कुट, तेल, नुन, चामल ल्याउने गरेको भए पनि चिनियाँ सामानभन्दा महँगो हुने गरेको छ । ‘नेपालबाट आउने सामान महँगो छ । नेपाल भएर सिमिकोटसम्म गाडी आउँदैन,’ उनले भने, ‘सस्तोमा सामान पाइने भएकाले ताक्लाकोट जाने गर्छौ ।’ तर, नाकामा सहज छैन । ताक्लाकोटमा २५ केजी मैदाको बोरालाई चिनियाँ रुपैयाँ एक सय १० देखि एक सय ४० रुपैयाँ पर्छ । चिनियाँ एक युएन बराबर नेपाली १९ रुपैयाँ हो । नेपालीले विशेषगरी एक सय २० र एक सय ३० पर्ने मैदा किनेर ल्याउने गरेको नाम्खा गाउँपालिका–५ का तेन्जिङ पाल्जोर तामाङको भनाइ छ । चिनियाँ प्रहरीले मैदा ल्याउन नदिने भएकाले एक–दुई बोरामात्रै लुकाएर ल्याउन बाध्य भएको उनले बताए ।

चिनियाँ पातलो कालो जुत्ता ताक्लाकोटमै पाँच सय ३२ रुपैयाँ, ब्लांकेट २४ सय ७० पर्ने उनले बताए । त्यस्तै, वनस्पति घिउ १० केजीको ३८ सय, भोटे चिया ३० पिसको १९ सय, ओछ्याउने फर्म २८ सय ८० ताक्लाकोटमै पर्छ । ताक्लाकोटदेखि हिल्सासम्म ढुवानीको जिम्मा चिनियाँ पक्षको हुन्छ, नेपालीले भन्सार महसुल तिरेर सामान ल्याउने गरेको उनले बताए । उवा, फापर, कोदोको उत्पादनले वर्षभरि दैनिक उपभोगका सामानले नधान्ने भएकाले ताक्लाकोटबाट सामान ल्याएर जोहो गर्नुपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिका–४ का पुर्वु लामाले बताए । यस वर्ष तीनपटक ताक्लाकोट पुगेर तीन बोरा पिठो ल्याएको उनले सुनाए । हिल्सा नाकादेखि ताक्लाकोटसम्म ३० किलोमिटर दूरीमा चिनियाँ सार्वजनिक बस चल्दै आएको छ ।

गाडीभाडा २५ चिनियाँ युएन अर्थात् नेपाली पाँच सय रुपैयाँ तिर्दै आएका छन् । निजी सवारीमा सामान बोकाएर ल्याएको तीन सय ५० चिनियाँ युएन अर्थात् नेपाली ६ हजार ६ सय ५० पर्छ। दैनिक बिहान दुईवटा सार्वजनिक सवारी र ६ देखि आठवटा निजी सवारी चल्ने गरेका छन् । रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका नेपालीले दैनिक ताक्लाकोटदेखि हिल्सा नाकासम्म सामान पास गरेबापत ३६ सय लिने गरेका छन् । ताक्लाकोट पुगेर रोजगारी नपाएका नेपालीले ताक्लाकोटबाट हिल्सा नाकासम्म व्यापारीको सामान पास गर्न आउने गरेका छन्। सीमामा चिनियाँ प्रहरीले प्रतिव्यक्ति दुई पिसमात्रै सामान छाड्ने भएपछि नेपालीले दैनिक दुई बोराका दरले सामान पास गर्छन ।
गाडीले सामानको मूल्य अझ महँगो

चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दूरी रहेको हिल्सा नाकासम्म सामान एउटा गाडीमा र मान्छे अर्काे गाडीमा चढ्नुपर्छ । सार्वजनिक सवारीमा नेपाली पाँच सय रुपैयाँ प्रतियात्रु भाडा छ भने दुई बोरा सामान ल्याउन निजी गाडीमा ६ हजार ६ सय ५० रुपैयाँ तिर्नुपर्ने स्थानीय तेन्जिङ पाल्जोर तामाङले बताए । ३० किलोमिटर सडक पार गर्दा ६ हजार ६ सय ५० रुपैयाँ तिर्न बाध्य भएको नाम्खा गाउँपालिका–४ याङ्गारका पुर्वु तामाङले बताए ।

चीनको ल्हासाबाट हुम्ला ल्याउने निर्माण सामग्री हिल्सासम्म पुग्न झन्झट हुने गरेको छ । ठूलो गाडीका सामान ताक्लाकोट पुगेपछि १४ वटा गाडीमा टुक्र्याएर पैसा लुट्ने गरेको सिमकोट गाउँपालिका–४ का छिरिङ लामाले गुनासो गरे । ल्हासाबाट कम्पनीको नियमअनुसार ढुवानी गरिएको सिमेन्ट तथा डन्डी ताक्लाकोटमा झारेर १४ गाडी बनाउँदा भाडामा मात्रै दुई लाख ९२ हजार सात सय घाटा भएको लामाले बताए ।

चिसोले हिल्सा बजारमा २७ जनामात्र, आर्थिक कारोबार शून्य

देशका केही स्थानमा वर्षासँगै हिमपात

चिसोले हिल्सा बजारमा २७ जनामात्र, आर्थिक कारोबार शून्य

सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा समस्या