सैनिक आवासिय महाविद्यालयको खेलकुद सप्ताह

सैनिक आवासीय महाविद्यालय वीरेन्द्रनगर–१० मङ्गलगढी सुर्खेतले आयोजना गरेको खेलकुद सप्ताह विहिबार सपन्न भएको छ । पौष २२ गतेदेखि खेलकुद सप्ताह जारी थियो । एक हप्ता लामो उक्त कार्यक्रममा महाविद्यालयमा रहेका रातो, निलो, पहेँँलो र हरियो सदन अन्तर्गत भएको अन्तरसदनात्मक प्रतिस्पर्धामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

उक्त सप्ताहमा कबड्डी, कर्नर स्प्रे, भलिबल, फुटबल, बास्केटबल, ब्याटमिन्टन, लङ्गजम्प, हाइजम्प लगायत ३९ वटा इभेन्स र टेवान्डोका ११ वटा खेलहरू समावेश गरिएका थिए । प्रतिस्पर्धात्मक खेलहरूमा विजयी हुन सफल विद्यार्थीहरूलाई करिब ५०० भन्दा बढी मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समाहरोमा महाविद्यालयको सिनियर छात्रतर्फको फुटबल खेल सञ्चालन भएकोमा हरियो सदनले निलो सदन माथि विजय प्राप्त गरेको थियो । समग्रमा बेष्ट अफ स्पोर्टस गर्लको उपाधि ३ स्वर्ण, ३ रजत र १ कास्यसहित कक्षा–१२ मा अध्ययनरत निलो सदनकी छात्रा अनु शाक्यले हात पार्न सफल भइन् ।
बेष्ट अफ स्पोर्टस् वाईको उपाधी ५ स्वर्ण र २ रजतसहित कक्षा–१२ का हरियो सदनका छात्र सागर चन्दले हात पारे । साथै, १६ स्वर्ण, १७ रजत र १६ काँस्यसहित हरियो सदन बेष्ट कलर घोषित भयो । महाविद्यालयका निमित्त प्रमु्ख व्यवस्थापक सेनानी सिर्जना वि.क.ले छोटो मन्तव्यसहित कार्यक्रममा स्वागत गरेकी थिइन । त्यसैगरी प्रमुख अतिथि महाविद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् उत्तर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी कृष्णदेव भट्टले जीवनमा खेलकुदको महत्वलाई प्रष्ट पार्दै विजेता विद्यार्थीहरूलाई बधाईका साथ खेलकुदमा सहभागी भइरहन हौसला दिए ।
त्यसैगरी महाविद्यालयका प्रधानाध्यापक प्रेम बहादुर विश्वकर्माले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । उक्त खेलकुद सप्ताहमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरी, विभिन्न सुरक्षा युनिटका युनिट पतिहरू, महाविद्यालयका शिक्षक, कर्मचारीहरू, सैनिक सकल दर्जा एवम् विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो । अतिरिक्त शैक्षिक विभाग प्रमुख बेतेन्द्रकुमार दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।







