अक्षयकोष स्थापनार्थ सहयोग


नेपाल पत्रकार महासंघ, सुर्खेतमा अक्षयकोष स्थापनाका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । देउसी भैलो मार्फत संकलन भएको रकमलाई महासंघको कोषमा जम्मा गरिएको हो ।
काँक्रेविहार मिडिया प्रालि र मोन्टाज मिडिया प्रालिद्वारा २०७६ सालको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो । सो समयमा एक लाख दुई हजार रुपैयाँ संकलन भएको थियो । दुई कम्पनीका सञ्चालकबीचको सोमबार बसेको संयुक्त बैठकले पत्रकार पुरस्कार स्थापनार्थ अक्षयकोषका लागि रकम हस्तान्तरण गर्ने निर्णय भएको हो ।
उक्त बैठकमा काँक्रेविहार मिडिया प्रालिका तर्फबाट सञ्चालक सुशीलराज शर्मा र मोन्टाज मिडिया प्रालिका तर्फबाट सञ्चालकद्वय उपेन्द्र खड्का र वुद्धिसिंह ठकुरीको उपस्थिति रहेको थियो ।
बैठकपश्चात सोमबारै पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष ललित बसेललाई देउसी भैलोबाट संकलन भएको एक लाख दुई हजार र काँक्रेविहारका सञ्चालक शर्माद्वारा व्यक्तिगत २३ हजार सहित एक लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुर्खेत शाखाका सचिव ललित बुढा, कोषाध्यक्ष ललित गाहा समेतको रोहवरमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।
उक्त सहयोग रकमको कोष स्थापना गरी हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई पुरुस्कार प्रदान गरिने जनाइएको छ । त्यसका लागि महासंघको आगामी कार्यसमिति बैठकले पुरुस्कार राशीको नाम र छनोट कार्यविधि निर्माण गर्ने बताइएको छ ।






