लैंगिक हिंसा न्युनिकरणका लागि सचेतनामुलक नाटक प्रदर्शन


कालीकोटमा लैङ्गिक हिंसा विरुद्ध शनिवार सचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता’ भन्ने यस वर्षको मूल नारालाई आत्मसाथ गर्दै सतेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।
सामाजिक कुरीति कुसंस्कार र अन्धविश्वासका रुपमा अझै पनि समाजमा रहेको छाउपडी प्रथा, महिला हिंसा, लैङ्गिक हिंसा घरेलु हिंसालाई विरुद्ध सचेतना जोगाउन ‘हामी कुनै पनि प्रकारका हिंसा गर्दैनौं र हिंसा हुन दिन्नौं’ भन्ने मूल मन्त्रलाई नाटक मार्फत स्थानीय कलाकारहरुले प्रस्तुत गरेका थिए ।
नाटकमा विशेष गरीे घरेलु हिंसामा परेका महिलाहरुको अबस्था तथा यातनालाई चित्रण गरिएको थियो । आयोजक संस्था मानअधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) नेपाल कालीकोटका कार्यकारी निर्देशक तथा मानव अधिकारकर्मी कालीबहादुर मल्लले स्थानीय कलाकारहरुले देखाएको सडक नाटक प्रभावकारी रहेको बताए ।
अधिकारकर्मी मल्लले समाजमा भएका नकारात्मक कुप्रथा, रितिरिवाज, हिंसा र अन्य क्रियाकलापलाई नाटक मार्फत सचेतना जगाउने गरी प्रस्तुत गरेको र यस्तै कार्यक्रमहरु आयोजना गर्नका लागि स्थानीयलाई पनि सुझाव दिनुपर्नेमा जोड दिए ।
सडक नाटकमा विभिन्न पात्रहरुले हाम्रो समाजमा घट्दै आएका लैङ्गिक हिंसाका विभिन्न घटनाहरुलाई प्रस्तुत गरेका थिए । सडक नाटकमा पत्रकार तथा कलाकार हस्त चौलागाँई (त्रिकाल) ले नाटक लेखन तथा निर्देशन गरेका थिए । नाटकका पात्रहरुमा हस्त चौलागाँई ,यसोदा बिश्वकर्मा,कोपिला शाही,छत्र रोकामगर,काली बहादुर मल्ल लगायत नेपाल प्रहरीबाट उपस्थिति रहेको थियो ।
सडक नाटक हेर्ने उपस्थितहरुले समाजको वास्तविकता नाटकबाट प्रस्तुत गरिएको र यस्ता सचेतनामूलक कार्यक्रमहरुले लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् ।
हाम्रो आवाज, हाम्रो रोजाई परियोजना अन्र्तगत खाँडाचक्र नगरपािलका कालीकोटको समन्वय सहकार्य, युरोपियन युनियनको सहयोग, प्लान इन्टरनेशनल नेपाल, दलित महिला संघ फेडो नेपालको साँझेदारी र मानअधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) नेपाल कालीकोटको आयोजनामा उक्त सडक नाटक प्रर्दशन गरिएको थियो । सडक नाटकमा डिआर कर्णाली हेल्थ अस्पतालले निःशुल्क हेल्थ डेस्कको व्यवस्थापन गरेको थियो ।
सडक नाटक प्रर्दशन कार्यक्रममा दलित महिला संघ फेडो नेपाल कालीकोटका अध्यक्ष हजा सुनार, जिल्ला कार्यक्रम संयोजक रमेश नेपाली, प्लान इन्टरनेशनल नेपालका परियोजना विशेषज्ञ कविता चापागाईं, लगायत पत्रकार नागरिक समाज, सुरक्षाकर्मीहरुको सहभागीता रहेको थिए ।






