अभियान चल्दै, घरेलु हिंसा बढ्दै


‘घरैदेखि सुरु गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेको महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने जस्ता ब्यानर बोकेर हरेक दिन कार्यक्रम सञ्चालन भइरहेका छन् । जुम्लामा हिंसा घट्नुको सट्टा ह्वात्तै बढेको सहजै अनुमान गर्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महिलामाथि हुने हिंसा बर्सेनि बढ्दै गएको छ । चालु आर्थिक बर्ष २०८०-०८१ मा घरेलुु हिंसा ३८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्ला अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार जसमध्ये २३ वटा फछ्र्यौट ( मिलापत्र) भइसकेका छन् । ६ वटा उजुरीकर्ता आफूखुसी अदालत पुगेका छन् ।
नांै वटा बाकी छन् । यस्तै सामाजिक हिंसा तर्फ ३९ उजुरी परेका थिए,जसमध्ये २५ वटा फछ्र्यौट ( मिलापत्र)भए, ३ वटा मुद्दा दर्ता भए र ११ वटा बाकी छन् ।
आर्थिक वर्ष २०७७-०७८ मा सामाजिक हिंसातर्फ ४४, घरेलु हिंसातर्फ ३५, आर्थिक वर्ष २०७८-०७९ मा सामाजिक हिंसातर्फ ५४ र घरेलु हिंसातर्फ ६१ वटा उजुरी परेका थिए।२०७९-०८० मा सामाजिक हिंसातर्फ २० र घरेलु हिंसातर्फ ३१ उजुरी दर्ता भएको देखिन्छ । चार आर्थिक वर्षको तथ्यांक केलाउँदा घरेलु हिंसाका घटना बढी छन् ।
प्रहरीको यो तथ्यांकले जुम्लामा महिला हिंसाका घटनाहरु तिव्र रुपमा बढ्दै गएको स्पष्ट देखाउँछ । कडा कानुनको अभाव, जनचेतनाको अभावले घटनाहरू बढ्दै छन् ।
जतिसुकै अधिकारका नारा लगाए पनि हरेक वर्ष मनाउने यस अभियान कुनै चाड हो कि भन्ने लाग्न थालेको छ । महिला हिंसाविरुद्धको अभियानमा काम गरिरहेका एनजीओकर्मीहरू, सबै स्थानीय तहमा अहिले सभा, गोष्ठी र जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी हुन भ्याई–नभ्याई छ ।

यी सबैजसो सभा–सेमिनार, देउडा, सडक नाटक प्रदर्शन र्यालीको निष्कर्ष हुने गर्छ । १६ दिने अभियानलाई औपचारिकतामा सीमित नराखी यी र यस्ता गम्भीर सवालमाथि समीक्षा गर्नु अत्यन्त जरुरी छ ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

अझै पनि अधिकारका अभियानहरु सदरमुकाममै सिमित हुने निश्चित महिलाहरूले मात्रै यस विषयमा बुझेका कारण ग्रामीण क्षेत्रका महिलाहरू अझै हिंसा खेप्न बाध्य भएको चन्दननाथ नगरपालिका–४ कि पार्वती सुनार बताउँछिन्।सदरमुकामकै महिला पुर्ण रुपमा सचेत भएका छैनन् । स्थानीय तहका केन्द्र मै बस्नेहरू सबैले अधिकारको बारेमा जानकारी पाएका छैनन् ।
उनले भनिन्,‘पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूले अधिकारका विषयमा कुरा उठाउने भए पनि यसको व्यवहारिक कार्यान्वयनको पाटोका बारेमा अव ग्रामीण क्षेत्रमा चेतना जागरण गर्नु पर्ने उनको तर्क छ ।’
यद्यपि स्थानिय तहका जनप्रतिनिधिहरू भने आफूहरूले यस्ता अभियानमा सबैलाई सहभागी गराइरहेको दाबी गर्छन् ।
जुम्लाको चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्कादले भनिन,‘हामीले आयोजना गर्ने कार्यक्रममा सबैलाई समेटने गरेका छौ । यसपाला पनि नगरपालिकाका १ देखि १० वडामा कार्यक्रम गर्ने तयारी गरेका छौ ।’
यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पनि आफ्नो गाउँपालिकाको सबै महिलाहरूले अधिकारबारे थाहा पाएको बताइन् ।






