नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने


जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।
तिला गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले बताइन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । जुम्लामा यो निर्णय गर्ने पहिलो गाउँपालिका बनेको छ । आठ वटा स्थानीय तह छन् । हाजिरी आएदेखि नक्सा पास तथा निर्माण इजाजतका लागि कार्यपालिकाबाट निर्णय गरी कार्यविधि पास गरी जग्गाको नक्सा पासको काम सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत कँडेल बताउँछिन् ।
गाउँपालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण शुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रूपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न सबै वडालाई परिपत्र गरिएको छ ।
नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कँडेलले बताइन् ।
उक्त गाउँपालिकामा १ देखि ९ वडा छन् । घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा पास हो । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन । यदी अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारी छ ।
गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरू लागू गरिएको छ । नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने उनको भनाइ छ । नक्सा पास गर्दा आवश्यक पर्ने कागजात रहेका छन् ।
जसमा नागरिकताको प्रतिलिपि–एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ ।
नक्सा पास भएको दुई वर्षसम्म घर बनाउनुपर्ने प्रावधान छ । यदी त्यो समयमा घर बनाई सकिएन भने फेरी दुई वर्षको लागि म्याद थप्न सकिने प्रावधान छ ।






