२०८२ फाल्गुन ५ गते
×

Now Playing

गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।

पर्यटकीय हिसाबले गिडीदह निकै सम्भावना बोकेको छ । अप्ठ्यारो बाटो, उचित बासस्थानको अभाव आदि कारणले गिडीदहमा पर्यटक जान कठिन छ । तर यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई लोभ्याउन सकिने स्थानीय बताउँछन् ।

यही विषयलाई मध्यनजर गर्दै पर्यटकीय पदमार्ग बनाउन शुरु भएको हो । भविष्यमा सक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित पदमार्गलगायत पर्यटन प्रवर्द्धनका काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाले जनाए ।

सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहको काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना गरिएको छ । उनले भने, ‘त्यसका लागि पर्यटनमैत्री संरचना निर्माणदेखि पर्यटनमैत्री व्यवहार अघि बढाउन लागिपरेका छौं ।’
गिडीदह जाँदा हराउने, बाटो बिराएर अलमल हुनेलगायत समस्या पदमार्ग बनेपछि समाधान हुने उनको भनाइ छ । दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर पदमार्ग निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले बताए । गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर पदमार्गको काम गरेका छन् ।

१० दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो । अब आन्तरिक र बाह्य पर्यटक गिडीदह पुग्न कुनै समस्या छैन । स्थानीय युवा कौरव पाण्डेको नेतृत्वमा गिडीदहमा धर्मशालादेखि पाटनसम्म पर्यटन पदमार्ग निर्माण गरिएको हो । पालिकाले आन्तरिक स्रोतबाट सात लाख २५ हजार रकम पदमार्ग निर्माणका लागि विनियोजन गरेको थियो । कात्तिक १६ देखि २६ सम्म पदमार्ग निर्माण गरिएको हो ।

गिडीदह अब सबैले अवलोकन गर्न पाउँनेछन् । यो आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ । यसअघि तातोपानी गाउँपालिकाको टीम पर्यटनकर्मीहरू लिएर गिडीदह पुगेको थियो ।

तातोपानी–४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहरूको अवस्था अध्ययन गरेर गएको छ । टोलीले तालमै ¥याफ्टिङ गरेको थियो । लम्बाइ, चौडाइ र उचाइ नाप्ने कामसमेत सकिएको छ  ।

टोलीले गिडीदहमा पाइने जीवदेखि तालवरिपरि भेटिएका हरेक वस्तुको अध्ययन गरेको जनाइएको छ । तर अध्ययनपछिको प्रतिवेदन टोलीले सार्वजनिक गरेको छैन ।

तालमा नयाँ प्रजातिको जीव भेटिएकाले ल्याब टेस्ट गर्न देशबाहिर पठाइएको छ । त्यसैले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । वडाध्यक्ष रोकायाले पदमार्गको बीचमा आवासदेखि खानपानको व्यवस्था गर्नसमेत पहल भइरहेको बताएका छन् ।

गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु

३५ हजार ब्ल्यांकेट, ५१ हजार त्रिपाल वितरण

गिडीदह पुग्न पर्यटकीय पदमार्ग निर्माण शुरु

चिसो बढेसँगै हिमाली क्षेत्रका भेडीगोठ बेसी झार्न