भूकम्प पीडितको लागि जुम्लाका तीन स्थानीयबाट १६ लाख सहयोग


भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितलाई मध्यनजर गर्दै जुम्लाका तीन स्थानीयबाट १६ लाख रुपैयाँ सहयोग भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख,सिंजा गाउँपालिकाले एक लाख र पातारासी गाउँपालिकाले पाँच लाख रुपैयाँ‘ सहयोग गर्ने भएका छन् ।
भूकम्पपछि भत्किएका संरचनाको पुनर्निर्माण, पीडितको राहत उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाका तीन गाउँपालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।
नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमै सहयोग रकम जम्मा गर्ने सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् । भूकम्पले छिमेकी जिल्लाहरु पीडामा छन् ।
खाद्यान्न, औषधि उपचार अभाव छ । त्यसैले सहयोग गर्ने निष्कर्षमा पुगेको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । तत्कालका लागि भनेर सहयोग गर्ने निर्णय गरिएको हो ।
विज्ञप्ति जारी गर्दै जुम्लाका ८ वटै स्थानीयले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति तातोपानीले दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
गत शुक्रवार राति गएको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका गरी एक सय ५७ जनाको मृत्यु भएको छ ।






