प्रमुख प्रशासकीय अधिकृत विदामा गएपछि …..

प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई दशैंको मुखमा घर हिडेंपछि जुम्लाको गुठिचौर गाउँपालिका अस्तव्यस्त बनेको छ ।
भुक्तानी लिनुपर्ने उपभोक्ताहरु, सेवाग्राहीहरुले पालिकामा ताला लगाउने प्रयास गरेका छन् । दशैंको मुखमा कामको चापकै बीच प्रशासकीय अधिकृत घर हिडेपछि सेवाग्राहीहरु आक्रोशित बनेका हुन् ।

पालिका अध्यक्षको बिदा स्वीकृतिबिना प्रमुख प्रशासकीय अधिकृत मनपरी हिसाबले घर हिडेको पालिकाले जनाएको छ । पालिका अध्यक्ष दानबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृतले गुठिचौरलाई धोका दिएको बताए ।

केही साताअघि प्रशासकीय अधिकृतले बिदा स्वीकृत गराइदिन भनेका थिए । ‘कार्यालय सहयोगीलाई भनेर भ्रमण आदेश स्वीकृत गरिदिन भनेका थिए’, अध्यक्ष बुढाले भने, ‘तर, मैले दशैं नजिकिंदै छ । धेरै भुक्तानी दिन बाँकी छ । काम सकाए पछि जानू होला भनेर भनेको थिए । म सडक सुधार गर्न गाउँतिर हिंडे । पालिकामा त हाकिम साप कामै नगरेर जान लाग्नुभएछ ।’

अध्यक्ष पालिकमा आउँदा सेवाग्राहीले पालिका घेरेका थिए । तालाबन्दीसमेत गर्न खाजे । सोधपुछ गर्दा ‘हाकिम भागे, हाम्रो भुक्तानी चाहियो, हाकिम जहाज चड्न लागिसके । के हेरेको ?’ भनेपछि केही वडाध्यक्षहरु एयरपोर्टमा गएपनि उनलाई सकेनन् । कर्मचारी फर्काउन आफु समेत विमानस्थल पु्गेर आग्रह गर्दा समेत नमानेको अध्यक्ष बुढाले बताए ।

‘वडाध्यक्षहरु र हाकिमबीच तपाईं काममा फर्किनुहोस् भनेर झोला तानातान भएको रहेछ’, अध्यक्ष बुढाले थपे, ‘जहाज चढ्न बोर्डिङ पास लिएर लाइनमा बसेका हाकिम फर्किने कुरै भएन । दर्जनौं योजना र कार्यक्रमको भुक्तानी दिन बाँकी छंदै उनी भागेर घर गए । हरेक वातावरण सहज गर्दा गर्दै किन हाकिमले यस्तो व्यवहार गरे त्यो थाहा छैन ।’

प्रशासकीय अधिकृत भागेर गएपछि गुठिचौरका दर्जनौं योजना तथा कार्यक्रमको भुक्तानी रोकिएको छ । अध्यक्ष बुढाकाअनुसार एक जलविद्युत आयोजनाको ८६ लाख, भवन निर्माणको १५ लाख, दिपेन्द्र लामाको २८ देखि ३० लाख, शंकर बहुउदेश्यीय माध्यमिक विधालयको २३–२४ लाख र मदिरा विश्राम स्थलको नौं लाख गरी झण्डै डेढ करोड बढी रकम भुक्तानी रोकिएको छ ।

दशैं नजिकएकाले निर्माण व्यवसयी, होटल व्यवसायी, उपभोक्ता भुक्तानी दिन ताकेता दिएपनि कर्मचारी नभएपछि नियमित कार्यसम्पादन अस्तव्यस्त भएका छन् ।

यता गुठिचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले काज बिदाबाहेक अन्य बिदाका लागि अध्यक्षको स्वीकृति लिनु नपर्ने बताए । ‘म आफैै कार्यालय प्रमुख हो । दशैं अघिको ६ दिन बिदामा आएको छु । मलाई भाग्यो भनेर अतिरञ्जित गरियो’, उनले भने, ‘बिदामा जान लागेको कुरा अध्यक्ष, उपाध्यक्ष र कर्मचारीलाई १० दिन अघिदेखि नै थाहा भएको थियो । घरमा ६ महिनाको गर्भवती श्रीमती छन् ।’ उनको स्वास्थ्यमा समस्या आएपछि तत्काल जानूपर्ने भएर सबैलाई जानकारी गराएर आएको उनको दाबी छ ।

कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तलब, दशैं पेश्की तथा जनप्रतिनिधिको सेवा सुविधा सबै भुक्तानी गरेर आएको उनको भनाइ छ । टेबुलमा आएका कुनै पनि फाइलको भुक्तानी नरोकिएको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ । नयॉ जनप्रतिनिधि आएको झण्डै डेढ वर्षमा पाँच प्रमुख प्रशासकीय अधिकृत फेरिसकेका छन् । प्रशासकीय अधिकृत भट्टराई भदौ १७ गते गाउँपालिकामा हाजिर भएका थिए ।

उनी असोज २६ गते अर्थात् एक महिना नौं दिनपछि घर जाने भन्दै गएका हुन् । पालिकाले शुक्रबार नै कर्मचारी गएको जानकारी र तत्काल निकास दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन् ।

पत्रमा अध्यक्ष दानबहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृत भट्टराई काम गर्न भन्दा पनि आन्तरिक पर्यटकको रुपमा घुम्न आएको उल्लेख गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विदामा गएपछि …..

लेखपोखरामा ‘ल्याब सेवा’ सञ्चालन

प्रमुख प्रशासकीय अधिकृत विदामा गएपछि …..

वडादशैं शुरु: आज घटस्थापना