कर्णाली राजमार्ग मर्मतमा बर्सेनि करोडौं खर्च, यात्रुलाई सधैं सास्ती

सुर्खेत, २९ माघ ।
कर्णाली राजमार्ग साविक कर्णालीका लागि विकासको ढोका खोल्ने मुख्य मार्ग हो । यो राजमार्गले सुर्खेतदेखि मुगुसम्म जोडेको छ । राजमार्ग खुलेपछि स्थानीयले पैदल हिँड्नुपर्ने बाध्यता त अन्त्य भयो । तर सडकको स्तरोन्नति नहुँदा यात्रुले सास्ती भने भोग्नु परिरहेको छ । राजमार्ग संचालनमा आएको लामो समयसम्म पनि स्तरोन्नति नहुँदा सडकमा सास्ती धेरै हुने गरेको छ ।

बर्षातमा बाढी र पहिरोका कारण यो राजमार्ग हप्तौसम्म बन्द हुने गर्दछ । हिँउदको समयमा पनि राजमार्गमा सवारी साधन नियमित संचालन हुन सक्दैनन् । सुर्खेतदेखि जुम्लासम्मको दुईसय ३२ किलोमिटर सडकमा बर्सेनि सडक मर्मतका नाममा करोडौ रुपैयाँ खर्च हुने गरेको छ । तर सडकको अवस्था भने उस्तै छ ।

बर्सेनि राजमार्गको मर्मत र संम्भारका नाममा बजेट आउने भए पनि भत्किको ठाउँमा सामान्य मर्मत मात्र गरेर बजेट सक्ने गरेको पाइएको हो । यो राजमार्गलाई विश्व बैंकको सहयोगमा झन्डै तीन अर्ब रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको थियो । तर कालोपत्रे गरिएको सडकको हालत अहिले पुरानै अवस्थामा पुगेको छ । राजमार्गको २३२ किलोमिटर सडक मध्ये सडक डिभिजन कार्यालयले जुम्लाले एकसय किलोमिटर र सडक डिभिजन कार्यालय सुर्खेतले एकसय ३२ किलोमिटर सडक हेर्ने जिम्मा लिएका छन् ।

सडक डिभिजन कार्यालय सुर्खेतले सुर्खेतदेखि कालिकोटसम्म र सडक डिभिजन कार्यालय जुम्लाले कालिकोटदेखि जुम्लासम्म सडक हेर्दै आएका छन् । सडकमा पहिले ओटासिल हाल्दै जाने र त्यसपछि उप्किँदै जाने भएकाले पनि सडक सुधारका नाममा गरिने बजेटको खर्च खेर गइरहेको हो । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माकाअनुसार कर्णाली राजमार्गको मर्मतका लागि गतवर्ष २९ करोडमा ठेक्का भएको थियो ।

त्यसमा १८ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयले प्रत्येक वर्ष यो राजमार्गमा मर्मतको नाममा २५ देखि ३० करोड रुपैयाँ खर्चदैं आएको छ । विभिन्न खण्डमा मर्मतका लागि ठेक्कामार्फत काम हुने गर्दछ । तर निर्माण व्यवसायीले इमान्दार भएर काम नगर्ने, सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुर्ने र ओटासिल मात्र गर्ने गरेकाले पनि राजगमार्गको हालत यस्तो भएको देखिन्छ ।

बर्सेनि मर्मतको नाममा करोडौं रकम खर्च भए पनि सडकको अवस्था उस्तै रहेको कालिकोटको खाडाँचक्र नगरपालिका–६ दाहाँका नरबहादुर शाहीले बताए । सडकमा अगाडिबाट ओटासिल हाले पनि पछिबाटै उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४ का वडा अध्यक्ष खड्कराज शाहीले बताए । ‘मेरो वडाको राँचुलीमा सडकमा कालोपत्रे गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भयो’ उनले भने,‘केही दिनसम्म राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा त पहिलेको जस्तै जीर्ण पो बन्यो ।’

कामदार अभाव र सानो सडकमा यातायात पनि सञ्चालन भइरहने हुँदा कालोपत्रे गरेको सडक छिट्टै उप्किने गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कर्मचारीले अनुगमन नगर्नु, इमान्दार कर्मचारीलाई साबिकको ठाउँमा काम गर्न नदिनु लगायतका कारणले राजमार्गको स्तरवृद्धि हुन नसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । ‘हामीले सडक निर्माणको अनुगमन प्रभावकारी गर्न सडक डिभिजनलाई निर्देशन दिएका छौं’ उनले भने,‘अब विगतको जस्तो टालटुले काम गर्ने ठेकेदारलाई कारबाही हुन्छ ।

कर्णाली करिडोरमा सडक अतिक्रमण रोक्न निर्देशन
जिल्ला प्रशासन कार्यालय कालिकोटले सडक अतिक्रमण नगर्न निर्देशन दिएको छ । कर्णाली करिडोर आसपासमा स्थानीयले घरटहरा बनाए सडक अतिक्रमण गरेपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा नेतृत्वको टोलीले करिडोर अन्तर्गत कालिकोट खण्डको अनुगमन गदै अतिक्रमित सडक तत्काल छोड्न र बाँकी बनाउन थालिएका घरटहरा पनि नबनाउन निर्देशन दिएको हो ।

टोलीमा सडक डिभिजन कार्यालय सिमकोट हिल्साका कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि, पत्रकार र अन्य सरोकारवाला सहभागि थिए । करिडोरको लालीघाट, खुलालु, रेगिंल, सान्नीघाट, भुरावगर र जारकोट लगाएतका क्षेत्रमा सडक अतिक्रमण गरेर स्थानीयले घरटहरा बनाएका छन् । तत्काल सडक सुधार गर्नुपर्ने भएकाले स्थानीयले लगानी गरेको खेर जाने भन्दै सडकको जमिनभन्दा बाहिर मात्र घरटहरा बनाएर आफ्नो ब्यवसाय सुरु गर्न प्रशासनले भनेको हो । टहरा नहटाए प्रशासनले नै हटाउने चेतावनी दिएको छ ।

तीन जिल्लामा छैन कालोपत्रे सडक
कर्णाली प्रदेशका १० जिल्लामा कच्ची र पक्की सडकगरी करिब एकहजार चारसय ४१ किलोमिटर सडकले छोएको छ । जिल्लाहरुलाई सडक सञ्जालले जोड्दा पनि डोल्पा, हुम्ला र मुगुमा भने हालसम्म एक किलोमिटर सडक पनि कालोपत्रे भएका छैनन् । डोल्पामा १०७.२६, मुगुमा २७ र हुम्लामा २७.११ किलोमिटर कच्ची सडक सञ्जाल विस्तार भएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) का अनुसार आर्थिक वर्ष २०७७/७८ मा कालिकोट, दैलेख, सल्यान र सुर्खेत जिल्लामा पक्की सडकको तुलनामा कच्ची सडकको विस्तार भएको देखिँदैन । यो अवधिमा कालिकोटमा ६५.९, दैलेखमा १४८.८१, सल्यानमा १४५.०८ र सुर्खेतमा १८९.२८ किलोमिटर सडक कालोपत्रे भएको पाइएको छ । यस्तै कालिकोटमा ३६, दैलेखमा १३३, सल्यानमा ३४.४२ र सुर्खेतमा ३० किलोमिटर कच्ची सडक निर्माण भएको छ । त्यसैगरी जुम्लामा ९४.७६, जाजरकोटमा १६०.४४ र रुकुमपश्चिम ६३.७३ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यी जिल्लामा कच्ची सडकको तुलनामा पक्की सडकको विस्तार भएको देखिदैन ।

कर्णाली राजमार्ग मर्मतमा बर्सेनि करोडौं खर्च, यात्रुलाई सधैं सास्ती

घरजग्गामा ‘दलाल राज’ : ६ करोडको जग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *