घरजग्गामा ‘दलाल राज’ : ६ करोडको जग्गा बेच्दा १ करोड कमिशन !

काठमाडौं, २९ माघ ।
कीर्तिपुरकी रमा नेपाल (नाम परिवर्तन) ले महिनौ लामो धपेडी पछि हालसालै मात्र जग्गा बेच्न सफल भइन् । जग्गा विक्री भएको खुसी साँट्न नपाउँदै उनलाई तनाव दिने अर्को कुरा अगाडी आयो । उनी छाँगा बाट खसे जस्तै भइन् । समयमै जग्गा विक्री नहुँदा जति तनाव भएको थियो, त्यो भन्दा बढी तनाव त्यतिबेला भयो, जब उनले कमिसन वापत १५ प्रतिशत रकम जग्गा व्यवसायीलाई तिर्नु पर्यो । कलंकीका बिजय थापा (नाम परिवर्तन) ले पनि ५/६ महिना अघि जग्गा किनेका थिए ।
प्रतिआना २५ लाख रुपैयाँ हालेर उनले किनेको जग्गामा जग्गा व्यवसायीले प्रति आना पाँच लाख रुपैयाँ आफूलाई राखेर मूल्य गरेका रहेछन् । यी दुई पात्र जग्गा किनबेच गर्दा ठगिएका प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय काठमाडौंमा जग्गा किन्न होस या बेच्न जग्गा व्यवसायीहरुले मनमौजी मूल्य तोक्ने र कमिशन लिने गरेको खरीदविक्री कर्ताहरुको दुखेसो छ ।
शिक्षक देखि नेता सम्म र ज्यामी देखि ठेकेदार सम्मै जग्गा व्यवसायी
जग्गाको किनबेच बढी हुने उपत्यकाका काठ क्षेत्रमा जग्गा दलालीसँग नजोडिएका स्थानीय विरलै भेटिन्छन् । स्थानीय स्तरमा मजदूरी गर्ने ज्यामी देखि ठेकेदार सम्म र शिक्षक देखि नेता सम्मको वैकल्पिक धन्दानै जग्गा दलाली रहेको स्थानीयहरु बताउँछन् ।
सानो चिया पसल चलाउने देखि मोटरसाइकल सर्भिसिङको काम गर्नेहरूको वैकल्पिक आम्दानीको स्रोत नै जग्गा दलाली रहेको पाइन्छ । कति सम्म भने फोहोर संकलन गर्ने देखि ढल मर्मत गर्नेहरू पनि कतै न कतै जग्गा दलालीमा जोडिएको जग्गा खरीदविक्री गरेकाहरुको अनुभव छ ।
जग्गा देखाएकै ५० हजार कमिशन ! कम्तिमा ३ तहमा दलाली
तपाईं जग्गा किन्ने मान्छे हो र सोझै जग्गा धनीलाई भेटेर जग्गा किन्छु भनेर डुल्न जानु भयो भने सबैभन्दा पहिला ठोकिने तिनै चिया पसल लगायतका व्यवसायीहरूसँगै हो । उनीहरुले बैभन्दा पहिला यो ठाउँमा यो जग्गा विक्रीमा छ भन्दै जग्गा देखाउन लैजान्छन् । त्यसपछि जग्गा मन पर्यो् र थप कुराकानी गर्न चाहनु भयो भने फहिलो तहका जग्गा दलालहरूसँग भेट गराई दिन्छन् ।
पहिलो तहका जग्गा दलालहरुसँग पनि सकारात्मक कुरा भएपछि उक्त जग्गा बेच्ने जिम्मा लिएका मुख्य जग्गा व्यवसायीहरुसँग भेट हुन्छ । त्यसपछि मात्रै तपाईंको जग्गाको अन्तिम मूल्य तय हुन्छ । तपाईंले केही गरि उक्त जग्गा किन्नु भयो भने चिया पसले देखि तह तहमा भेटिएका दलालहरुलाई कमिशन जोडेर जग्गाको मूल्य तय गरिएको हुन्छ । जग्गा देखाउने तल्लो तहको व्यक्तिले ५० हजार रुपैयाँ कमिशन पाउँछ भने माथिल्लो तहका दलालहरुले १ लाख, २ लाख गर्दै कमिशन रकम बढाउँदै लगेका हुन्छन् ।
जग्गा व्यवसायीको सिन्डिकेटले जग्गाधनी नै पिडित
अहिले काठमाडौं उपत्यकाका धेरै जसो ठाउँमा सोझै जग्गा धनीसँग भेटेर जग्गै किन्न सकिन्न । स्थानीय जग्गा व्यवसायीहरुले कुनै पनि जग्गा किनबेच गर्न उनीहरुलाई नै सम्पर्क गर्नुपर्ने वातावरण बनाएका हुन्छन् । जस्तो जग्गा धनीलाई आर्थिक समस्या पर्यो भने सानो तिनो रकम उनीहरुले नै चलाई दिन्छन् ।
त्यसलाई पछि बैना रकमको रुपमा गणना गरेर राख्छन् । तर ठूलै आर्थिक संकट आएको बेला सस्तो मूल्यमै भएपनि जग्गा बेच्छु भन्न उनीहरुले पाउँदैनन् । जग्गा धनीलाई जति नै ठूलो समस्या परेपनि व्यवसायीहरुले भनेको मूल्य नपाएसम्म उक्त जग्गा विक्री हुँदैन ।
तह तहमा कमिशनको चक्करले आकासिदै जग्गाको भाउ
शेयर बजारमा शेयर किनबेच गर्दा निश्चित कमिशन लिने कानूनी व्यवस्था भए जस्तो घरजग्गा किनबेचमा कति कमिशन लिने भन्ने कानूनी व्यवस्था नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशी बताउँछन् ।
कम्पनी दर्ता गरेर नियम संगत काम गर्ने कम्पनीहरुले ५ प्रतिशत सम्म कमिशन लिने गरेको भए पनि, कम्पनी दर्ता नगरेका व्यक्ति विशेषबाट जग्गा किन्दा भने १५ देखि २० प्रतिशत सम्मै कमिशन तिर्नु परेको जग्गा किनबेच गरेकाहरूको गुनासो छ । यसरी जग्गा व्यवसायीको मनोमानी मूल्य र कमिशन रकमका कारण घरजग्गाको मूल्यले आकाश छोएको घरजग्गा क्षेत्रका जानकारहरु बताउँछन् ।
६ करोडको जग्गा बेच्दा १ करोड कमिशन !
रमा नेपालले भरखरै बेचेको ६ करोड रुपैयाँको जग्गाको कमिशन मात्रै १ करोड रुपैयाँ तिर्नुपरेको छ । ६ करोड रुपैयाँमा जग्गा बेचेको भनेपनि आफूले पाँच करोड रुपैयाँ मात्रै पाएको उनको गुनासो छ । त्यस्तै जग्गा किन्नेहरुले पनि त्यतिकै रकम कमिशनमा तिरिरहेका छन् । यसले जग्गाको मूल्य दिन दिनै आकासिदै गएको छ । जग्गा किन्न होस या बेच्न दलालको पञ्जा बाहिरबाट काम गर्न सक्ने स्थिती नै नभएको जग्गाधनीहरूको गुनासो छ ।
कित्ता काटको डरलाग्दो अवस्था
चालू आर्थिक वर्षको पहिलो ६ महीनामा देशभर करीब ९ लाख कित्ताकाट भएका छन् । गत वर्ष भने सोही अवधिमा साढे ५ लाख कित्ताकाट मात्रै भएका थिए । चालू वर्षको तथ्याङ्क गत वर्षको सोही अवधिको भन्दा ६० प्रतिशत बढी हो ।
चालू वर्षको साउनदेखि पुस सम्म ३ लाख ८१ हजार कित्ता जग्गालाई काटेर ८ लाख ७४ हजार कित्ता कायम गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा भने २ लाख ४९ हजार कित्ता जग्गा काटेर ५ लाख ५६ हजार टुक्रा कायम गरिएको थियो । घरजजग्गाको कारोबारमा कमी आइरहेको बेलामा कित्ताकाटको तथ्याङ्क भने डरलाग्दो देखिएको विभागका अधिकारीहरु बताउँछन् ।
जग्गाको मूल्य बढ्दा कित्ताकाट पनि बढ्यो
घरजग्गाको मूल्य बढेको बढ्यै भएपनि जग्गा किन्नेहरुको आम्दानी नबढ्दा सानो सानो टुक्रा जग्गाको किनबेच बढेको घरजग्गा व्यवसायीहरु नै बताउँछन् । आज भन्दा २÷४ वर्ष अघि सम्म काठमाडौंमा जग्गा किन्नेहरुले कम्तिमा ४ आना जग्गा किन्थे । तर अहिले जग्गाको मूल्य यति धेरै बढेको छ की त्यतिबेला ४ आना जग्गा किन्ने पैसाले अहिले १ आना जग्गा पनि किन्न सकिन्न ।
मानिसहरुको किन्ने क्षमता घटेसँगै जग्गा व्यवसायीहरुले स–साना टुक्रा जग्गाको विक्रीवितरण बढाएका छन् । वर्षेनी दोब्बर कित्ताकाट हुनुमा यो पनि एउटा कारण रहेको व्यवसायीहरु बताउछन् । अहिले काठमाडौमा २ आना २ पैसा देखि ३ आना २ पैसा सम्मका घडेरीहरुको विक्री बढी हुने गरेको छ । जवकी केही समय अघि सम्म ४, ५ र ६ आनाका घडेरीहरु बढी विक्री हुन्थे ।
उपत्यका बाहिर तराइका जिल्लामा पनि केहि समय पहिले सम्म घडेरीका लागि कम्तिमा १/२ कठ्ठा जग्गा किन्ने चलन थियो । तर अहिले घरजग्गाको मूल्य निकै बढेपछि मानिसहरु ५ देखि ७ धुर सम्मका घडेरीहरु किन्न थालेका छन् । यसै कारण कित्ताकाटको संख्या पनि बढिरहेको छ ।
कित्ताकाटमा अनेक विकल्पको प्रयोग
कित्ताकाटमा रोक लगाएको भएपनि यति धेरै कित्ताकाट कसरि भइरहेको छ भन्ने प्रश्न उठ्ने गरेको छ । अंशबण्डा र अदालती आदेश ल्याएर कित्ताकाट गर्नेको संख्या पछिल्लो समय निकै बढेको मालपोत कार्यालयहरू नै बताउँछन् ।
नियमसँगत वर्षमा २ पटक कित्ताकाट गर्न पाउने नियमले आवश्यक परेको बेला जग्गा बेचौला भनेर पहिलेनै कित्ताकाट गरेर राख्नेहरु पनि बढेका छन् । यसकारण पनि कित्ताकाटको ग्राफ पछिल्लो ५ वर्ष देखि निरन्तर उकालो लागेको विभागको भनाई छ ।
यी कार्यालयमा तीब्र कित्ताकाट
गत वर्ष १० हजार हाराहारी वा त्यो भन्दा कम कित्ताकाट भएका कार्यालयहरुमा पनि यो वर्ष १० देखि २० हजार सम्म कित्ताकाट भएका छन् । मलंगावा सर्लाहीमा १४ हजार ५००, जलेश्वर महोत्तरीमा १५ हजार ८००, लहान सिराहमा १२ हजार ४००, सिराहमा १३ हजार १००, राजविराज सप्तरीमा १३ हजार ४००, दमक झापामा १४ हजार ५०० र विराटनगरमा १४ हजार कित्ताकाट भएका छन् ।
त्यस्तै कपिलवस्तुमा १४ हजार ८००, तुल्सिपुर दाङमा १४ हजार ५००, सुर्खेतमा १३ हजार ८००, रुपन्देहीमा १३ हजार २००, घोराही दाङमा १३ हजार ८००, नवलपरासी पश्चिममा १३ हजार ५००, नवलपराशीमा ११ हजार १००, महेन्द्रनगरमा १० हजार, तनहुँमा १० हजार र पोखरामा १२ हजार २०० कित्ताकाट भएका छन् । सबैभन्दा कम मुस्ताङमा १२४, मनाङमा १५८, हुम्लामा २४६, डोल्पामा ३६२ र मुगुमा ४२० कित्ताकाट भएका छन् ।






