आउँदो माघसम्म सबै वाडामा विजुली बाल्छैं’


पुष्पाकुमारी बोहरा
नेपालको संविधान अनुसार देशमा तीन तहका सरकार गठन भएका छन् । ति मध्ये जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार नै हो । यो सरकारलाई पनि प्रशस्त अधिकारहरु प्रदान गरिएको छ । संघीयतापछि गठन भएका स्थानीय सरकारका पहिलो निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लागेको छ । उसो त निर्वाचन आयोगले आउँदो चैतमा स्थानीय तहको अर्को निर्वाचन गर्न प्रस्ताव पनि गरिसकेको छ । यो अवधिमा सल्यानको सिद्धकुमाख गाउँपालिकाले के कस्ता काम गर्यो ? जनप्रतिनिधिले जनताको बिचमा गरेका प्रतिवद्धता पुरा भए त ? लगायतका विषयमा हाम्रा सहकर्मी टेकराज केसीले सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी बोहरासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजोआज जनताको प्रतिनिधिको रुपमा पालिकाको जिम्मेवारी त पुरा गर्नु नै पर्छ । सँगै हिजोआज हाम्रो पार्टी नेकपा एमालेको पार्टीको महाधिवेशन चलिरहेको हुँदा त्यही काममा अलि धेरै व्यस्त छु । यतिबेला पार्टीकै काममा व्यस्त छु ।
विकासका काम कसरी भइरहेका छन् ?
विकास निर्माणका कामहरुको गती अहिले त सुस्त नै छ । किनकी बर्षायाम र यो चाडपर्वको कारण भनेअनुसारले काम अगाडी बढ्न सकेको अवस्था छैन । तथापि हाम्रा टेन्डरबाट हुने कामहरु भने संचालन भइरहेका छन् ।
अहिले सडक निर्माण र विद्युत विस्तारको कामहरु चलिरहेका छन् । समग्रमा जुन स्पिडमा काम हुनुपर्ने हो, त्यो स्पिडमा काम भने भएका छैनन् ।
काम सुस्त हुनुमा तपाइँकै कमजोरी होइन र ?
तपाइँले भनेको अनुसार कमजोरी हाम्रै देखिएला । तर पनि काम गर्ने शिलशिलामा सबै पक्षलाई मिलाएर लिनुपर्ने, पालिकाभित्रै पनि राजनीतिक खिचातानीले गर्दा योजना कार्यान्यनमा समस्या हुने गरेको छ । अर्कोतर्फ कर्मचारीले समयमै काम नगरिदिने समस्या छ । यसले पनि योजना कार्यान्वयन समयमै हुन सक्दैनन् । त्यसको दोष फेरि हामीले नै लिनुपर्ने हुन्छ ।
यसपालीको बजेटका प्राथमिकता के छन् ?
हामीले विशेष गरेर पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता राखेर बजेट र योजना निर्माण गरेका छौं । त्यसपछि हामीले शिक्षा, स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरेका छौं । सँगै चौथो नम्बरमा अन्य क्षेत्रलाई पनि समेटेका छौं । कोरोनाका कारण विकास निर्माणका कामसँगै शिक्षा स्वासथ्य क्षेत्रमा असर परेको सबैलाई सर्बविदितै छ । त्यसकारण ति क्षेत्रलाई माथी उठाउने गरी बजेट बनाएका छौं । साना साना योजना पनि हामीसँग छन् । विशेष गरेर विभिन्न सीप सिकाएर मानिसहरुलाइ गरिखाने गराउने पनि हाम्रो बजेटमा समेटिएको छ । अब कार्यान्वयन पनि छिट्टै गर्नुपर्छ भनेर मैले कार्यपालिकाको बैठकमा भन्ने गरेको छु ।
गत बर्षको बजेट कार्यान्वयन भयो त ?
गत बर्षको बजेट कार्यान्वयन अवस्था हाम्रो सन्तोषजनक नै रह्यो । गाउँपालिका र विशेष अनुदानको बजेट कार्यान्वयनको अवस्था राम्रै रह्यो । तर प्रदेशबाट आएको बजेट भने कार्यान्वयन हुन सकेन । बजेट सिलिङ अनुसार काम त भयो । तर प्रदेश सरकारले पठाउने बजेट समयमै नआएका कारण त्यसलाई कार्यान्वयनमा लिन सकिएन । गत बर्ष सम्पन्न भएका कामको भुक्तानी यो बर्ष दिने भनेका छौ । समग्रमा हाम्रो ८५ प्रतिशत बजेट कार्यान्वयन भयो । काम भने ९० प्रतिशत सम्पन्न भएका छन ।
यसपाली बजेट कार्यान्वयनको तयारी के छ ?
गतबर्ष कोभिड १९ का कारण काम गर्न केही असहजता थियो । तथापी हामीले धेरै विकास निर्माण कामहरु गर्न सफल भएका थियौं । यो बर्ष के कारणले हो, मैले पनि बुझ्न सकेको छैन । कार्यपालिका बैठक पनि एउटा मात्रै बस्यो । अहिलेसम्म यो बर्षका विकास निर्माणका कामहरु किन अगाडी बढ्न सकेनन ? मैले आवाज उठाइरहेको छु । तर पालिकाका जनप्रतिनिधि राजनीतिक खिचातानीमा अल्झिएर होला जस्तो लाग्छ । विशेष गरेर पालिका अध्यक्षले अहिले योजना कार्यान्वयनको सन्दर्भमा मौनता देखाइ रहनुभएको छ । कार्यान्वयन छिटो गर्नुपर्छभन्दा पनि उहाँ समन्वय नगर्ने, बैठक नै नडाक्ने परिस्थितिमा पुग्नुभएको छ । मैले यस सन्दर्भमा धेरैपटक भनेको पनि छु ।
रोजगारी सिर्जना गर्ने योजना के छन् ?
हाम्रो पालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम त छदै छ । सँगै पालिकाको तर्फबाट हामीले अध्यक्ष रोजागार कार्यक्रम बनाएका छौं । त्यसमार्फत अधिकांश युवाहरुलाई रोजगारीमा जोड्ने हाम्रो योजना छ । तथापि अहिलेसम्म काम भने अगाडी बढ्न सकेको छैन । सँगै हामीले विभिन्न सीपहरु सिकाएर विपन्न वर्गहरुलाई स्वरोजगार बनाउने नीति लिएका छौं । भने कृषि पशुपालन व्यवसायलाई आधुनिक र व्यवसायमुखि बनाउँदै लिएर युवाहरुलाई स्वरोजगार बनाउनुपर्छ भन्ने हामीले नीतिगत योजना बनाएका छौं । मलाइ लाग्छ यो सही ढङ्गले कार्यान्वयन भएको खण्डमा धेरै युवाहरु रोजगारीमा जोडिने छन् ।
न्यायिक समितिमा मुद्दाको अवस्था के छ ?
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पाएको अधिकार अनुसार हामीले न्यायिक समितिमार्फत मेलमिलाप गराउने गरेका छौं । सिद्धकुमाख गाउँपालिकामा सल्यानका अन्य पालिकाभन्दा न्यायिक समितिमा कम मुद्धा आउने पालिकाको रुपमा गणना समेत हुने गरेको छ । बर्षमा बढीमा १० वटा सम्म मुद्धाहरु आउने गरेका छन् । त्यसमा सबैभन्दा बढी लेनदेन र जग्गा विवादका धेरै मुद्धाहरु आउने गरेका छन । हाम्रो अधिकार क्षेत्रभित्र नपर्ने उजुरीहरुको सन्दर्भमा हामीले माथिल्ला न्यायिक नीकायसम्म पुर्याउन पहल गर्छौं ।
निर्वाचित भएयता के के काम गर्नुभयो ?
हामी निर्वाचित हुनुभन्दा पहिले हाम्रो पालिकामा कुनै पनि संरचनाहरु बन्न सकेका थिएनन् । सबै क्षेत्रले पछाडी रहेको यस पालिकामा सबै वडामा सडक निर्माण गर्यौं । सबै नागरिक सडक पहुँचमा पुग्नु भएको छ । त्यसपछि विद्युत पनि थिएन । अहिले हामीले सबै वडामा विद्युत लाइन विस्तार गरिसकेका छांै । माघसम्म सबै वडामा विद्युत बलिसक्छ । स्वाथ्यको अवस्था पनि त्यस्तै थियो । पालिकाभर जम्मा तिनवटा स्वास्थ्य चौकीहरु थिए । अहिले हामीले सबै वडामा सेवासहित स्वास्थ्यचौकी निर्माण गरेका छौं । शिक्षा क्षेत्र पनि लथालिङ्ग अवस्थामा थियो । भवन थिएनन् भवन निर्माण भए भने दरबन्दी अनुसारको विद्यालय समायोजन गरेर हामीले शिक्षाको गुणस्तर बढाएका छौं । त्यसैगरी खानेपानी, कृषि, रोजगारीको क्षेत्रमा पनि धेरै काम गरेका छौं ।






