श्वेतपत्रमा कुनै पूर्वाग्रह भए कठघरामा उभिन तयार छु : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्।
बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताएका हुन्।
उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामको उल्लेख गरिएको बताए। उनले यसमा कुनै आग्रहको गन्ध नभेटिने दाबी गरे।
उनले भने,‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले तथ्यांकमा जे छ त्यही प्रस्तुत गरेका छु।’
प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको भन्दै शर्माले कतै तथ्यांकमा फर परेको र पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन तयार रहेको बताए। उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए।
यसको निर्णय संसदले गर्ने उनले जानकारी दिए । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउँदै उनले आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पारे।
उनले भने,‘बजेट अध्यादेशमार्फत् नल्याउनु पथ्र्यो ल्याइयो तर पनि सरकारको निरन्तरताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा प्रस्तुत गरिएको छ।
यसको निर्णय संसदले गर्नेछ, यहाँहरुले गर्नुहुनेछ, त्यसलाई संसोधन, परिमार्जन, प्रतिस्थापनका कुरा संसदमा आएर निर्णय हुनेछन्। त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन।’
उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै उनले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने धारणा राखे। उनले मानव सूचाङ्क विकसित नभएका कर्णाली, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा विशेष महत्व दिइने पनि बताए।





