सडक सञ्जालसँग नजोडिएको मुगुम  कार्मारोङमा बन्यो १० करोडको अस्पताल 

ओम शाही
मुगु, ३० कार्तिक ।
पालिकाको केन्द्रसम्म सडक सञ्जाल विस्तार नभएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका– ६ को रिउस बगरमा १० शय्याको अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’को अवधारणाअनुसार अस्पताल निर्माण सम्पन्न भएको मुगुम कार्मारोङ आधारभूत अस्पताल रिउस बगरको शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, मुगुका प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाही, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र उपाध्यक्ष छिरिङ पुटी लामाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
‘एक स्थानीय तह एक अस्पताल’को अवधारणाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा भर्चुअल माध्ययमबाट अस्पतालको शिलान्यास गरेका थिए । सोहीअनुसार अस्पातालको भौतिक शिलान्यास १७ वैशाख २०७८ मा भएको थियो ।
सम्झौताअनुसार ३० असार २०८० मा सम्पन्न भइसक्नुपर्ने अस्पतालको भवन डीपीआर, यायातातका कारण निर्माण सामग्रीको ढुवानीमा समस्यालगायतका प्राविधिक कारणले अस्पताल भवन निर्माणको काम दुई वर्षपछि धकेलिएको थियो । अस्पतालको कुल लागत १० करोड २४ लाख ९३ हजार एक सय ६० रुपैयाँ छ ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र रावलका अनुसार, यो भवन निर्माणका क्रममा पाँच पटक म्याद थप गरिएको थियो । अहिले अस्पताल भवन उद्घाटन भएपनि अस्पतालका लागि आवश्यक सामाग्री जडान भएका छैनन् ।
अस्पताल भवनको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकरका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वास्थ्य सेवामा स्थानीय तहलाई सवल बनाउने संघीय सरकारको नीतिमा प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने बताए ।
उनले सडक सञ्जालले नछोएको कार्मारोङ गाउँपालिकामा निर्माण भएको अस्पताललाई आवश्यक पर्ने जनशक्ति र उपकरणयुक्त बनाउन कुनै कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने जिम्मेवारी तीन तहका सरकारको दायित्वभित्र पर्ने उल्लेख गर्दै शाहीले अस्पतालको सेवालाई गुणस्तरीय बनाउन स्थानीय तहको प्रमुख जिम्मेवारी भएको बताए ।
त्यस्तै, प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्लले आधारभूत अस्पतालका लागि आवश्यक पर्ने उपकरण तथा अन्य सामग्री खरिद गर्न विकास साझेदार संस्थासँगको सहकार्यमा एक करोड बढी रकमको व्यवस्थापन गरिएको बताए ।
आगामी दिनमा अस्पताललाई आवश्यक पर्ने दक्ष जनशक्ति तथा स्वास्थ्य उपकरण खरिद गरी जडान गर्न थप बजेट व्यवस्थापन गर्ने मल्लले बताए । अस्पतालको भवन निर्माण संघीय सरकारले गरे पनि यसको सञ्चालन र व्यवस्थापन प्रदेश र स्थानीय तहले मिलेर गर्नुपर्नेमा मन्त्री मल्लको जोड थियो ।
उनले रिउस बगरमा १० शय्याको अस्पताल सञ्चालनमा आएसँगै आधारभूत स्वास्थ्य सेवा लिन घण्टौँ डोकोमा बोकेर बिरामीलाई सदरमुकाम लैजानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरेको बताए । मुगुम कार्मारोङ हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र पालिका हो ।
पालिकाको केन्द्रसम्म सडक सञ्जाल विस्तार गमगढी–नाक्चेनाग्ला सडक योजना अघि बढे पनि संघीय सरकारले प्राथमिकता नदिँदा कार्मारोङ सडक सञ्जालबाट अलग बन्दै आएको छ । ९ वटा वडा रहेको कार्मारोङमा कुनै पनि वडामा माटे सडकसमेत पुगेको छैन ।
भौगोलिक विकटता, कडा चट्टानी भू–भाग र संघीय सरकारको चरम उपेक्षाका कारण यी वडाका नागरिकलाई दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी हुँदा दुई दिनसम्मको पैदल दूरी तय गरेर जिल्ला सदरमुकाम गमगढी पुग्नपर्ने बाध्यता छ ।
गमगढी–नाक्चेनाग्ला सडकलाई संघीय सरकारले दक्षिणको भारतदेखि उत्तरको चीन जोड्ने लक्ष्यसहित बर्सेनि प्राथमिकतामा राख्दै आएको दाबी गर्छ । तर, बजेट अभावमा एक दशक पूरा बित्दा बल्ल झण्डै २२ किलोमिटर मात्रै सडकको ट्र्याक खोलिएको मुगुम कार्मारोङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ पुटी लामाले बताइन् ।
सडक सञ्जाल नहुँदा सेवा लिनै मुस्किल
करोडौँको स्वास्थ्य संरचना बने पनि सो अनुसार सेवा लिने लाभग्राहीको संख्या भने न्यून छ । आनन्द आधारभूत स्कुलका शिक्षक वीर्खबहादुर बड्वाल विकास गाउँमा पुगे पनि सेवाग्राही भने विदेश पलाएन भएको बताए । उनका अनुसार, यहाँका अधिकांश युवा फ्रान्स गइसकेका छन् ।
ठुलो भवन बने पनि गाउँ बस्तीमा तीन हजार जना पनि छैनन् । वडा नम्बर ७, ८, ९ मा मात्र केही जनससंख्या छ । छायलाका स्थानीयलाई पूर्वको रिउस आउनभन्दा गमगढी सजिलो हुन्छ । यो अस्पतालबाट मह, माग्री, रिउस, पुअ, दाउरा, सेरोग, कात्तिक क्रिम्रे, ताखाखारी, डोल्फु, चितै र मुगुका नागरिक लाभान्वित हुनेछन् ।
यद्यपि ती गाउँबाट रिउस आउन घन्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ । अस्पताल र गाउँपालिकाका कार्यालय सडक सञ्जालले जोडिन सकेका छैनन् । गमगढी—नाक्चेनाग्ला सडक छायलासम्म मात्र खनिएको छ, त्यो पनि बिच बिचमा पहिरोले अवरुद्ध छ । ‘करोडौँको भवन बन्यो, तर सेवाग्राही पाँच सय पुग्न पनि मुस्किल छ,’ उनले भने, ‘यातायातको सुविधा छैन, गाउँ बस्ती टाढा टाढा छन् ।’ एक बस्तीबाट अस्पताल आउन दुईदेखि तीन दिन पनि लाग्छ । अस्पताल स्रोतका अनुसार, अहिले दैनिक १५ जनादेखि ४० जनासम्मले मात्रै स्वास्थ्य सेवा लिने गरेका छन् ।
मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिबहादुर बुढाका अनुसार, पालिकाकै बजेटबाट एक जना चिकित्सकसहित आठ जना कर्मचारी छन् । यहाँ हालसम्म दरबन्दी स्वीकृत भइसकेको अवस्था छैन । चिकित्सक प्रदेश सरकारले उपलब्ध गराएको हो ।
छायानाथ तीर्थस्थल, यार्सा लगायतका जडीबुटी सङ्कलनकर्ता र विभिन्न आवासीय विद्यालय र गुम्बामा रहेका विद्यार्थीलाई समेत स्वास्थ्य उपचारका लागि सहज हुने बुढा बताउँछन् । ‘गाउँमा बिरामी हुन्छन्, तर सडक नहुँदा अस्पताल आउँदैनन्,’ उनले भने, ‘हामी गाउँ डुल्दा थुप्रै बिरामी हुन्छन् ।’ उनका अनुसार, यहाँका स्थानीयमा परम्परागत उपचार पद्धति र धामी झाँक्रीमा विश्वास गर्न चलन हटेको पनि छैन । वर्षभरी १० हजारसम्मले लिन्छन् स्वास्थ्य सेवा स्वास्थ्य शाखा प्रमुख बुढाका अनुसार, पालिकाभर एक अस्पताल, पाँच स्वास्थ्य चौकी, चार वटा आधारभूत स्वास्थ्य केन्द्र र चार वटा सामुदायिक स्वास्थ्य इकाई छन् ।
यी स्वास्थ्यका संरचनाबाट वार्षिक १० देखि ११ हजारले सुविधा लिने गरेको उनले बताए । गाउँपालिकाको जनसंख्या ६ हजार दुई सय चार छ । तर, यार्सा टिप्न जाने तथा तीर्थस्थल आउने पर्यटकले समेत यहाँका स्वास्थ्य संरचनाबाट सेवा लिने गरेका छन् । समग्र पालिकामा स्वास्थ्यका स्वीकृत दरबन्दी २७ जना रहेकामा १३ जनाको पदपूर्ति मात्रै भएको छ । अधिकांश स्वास्थ्य संस्था करार कर्मचारीका भरमा चलेका छन् ।
सडक सञ्जालसँग नजोडिएको मुगुम  कार्मारोङमा बन्यो १० करोडको अस्पताल 

सम्पादकीय : छोरीको भविष्यमा सरकारको खेलवाड

सडक सञ्जालसँग नजोडिएको मुगुम  कार्मारोङमा बन्यो १० करोडको अस्पताल 

एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर 

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!