नेकपा कर्णालीमा चर्किदै विवाद, बदला लिने होडमा दुबै पक्ष प्रमुख सचेतकबाट हटाइए शाह

सुर्खेत, २७ असोज ।

कर्णालीमा सत्ता संघर्षमा उत्रिएका नेकपाका सांसदहरु आपसमा बदला लिने होडमा पुगेका छन् । आइबार मात्र बहुमत सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । संसदीय दलमा आफूविरुद्धको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका हुन् ।

एउटा पक्षले मुख्यमन्त्रीलाई नै हटाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसको बदलामा अर्को पक्षले प्रमुख सचेतकलाई नै हटाएको जनाएको छ । प्रमुख सचेतकबाट हटाइएका शाहले मंगलबार आज दलको बैठक बोलाएका थिए । उक्त बैठकमा आफूविरुद्धको प्रस्ताव पारित हुने देखेपछि मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेका हुन् । शाहको ठाउँमा यसअघि दलको सचेतक रहेकी सिता नेपालीलाई नियुक्त गरिएको छ ।

नेकपाका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको २४ घण्टा वित्न नपाउँदै शाही पक्षले प्रमुख सचेतकलाई नै बर्खास्त गरेको हो । योसँगै नेकपा भित्रको विवाद थप चुलिएको छ । अविश्वास प्रस्ताव ल्याउन सहयोग गरेको आरोप लगाउँदै नेकपा कर्णाली संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीले उनलाई हटाइ दिएका हुन् । अनेपेक्षित रुपमा आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सोही शैलीमा मुख्यमन्त्रीले पनि प्रमुख सचेतक शाहलाई पदमुक्त गरिदिएका छन् । दुबै पक्षका गतिविधि हेर्दा कर्णालीमा नेकपाको विवाद सहजै समाधान हुने देखिदैन । दुबै पक्षले एकअर्का पक्षलाई बदलाको रुपमा काम गर्न थालेका छन् ।

सोमबारसम्मको घटनाक्रमले पनि नेकपा कर्णाली संसदीय दलमा प्रमुख सचेतक को हो भन्ने प्रश्न खडा भएको छ । दुबै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । यसले पनि थप अन्यौलता बढेको हो । नेकपाको संसदीय दलको विधानमा दलको नेताविरुद्ध अविस्वासको प्रस्ताव आएमा प्रमुख सचेतकले नै दलको बैठक बोलाउने व्यवस्था छ । यही कारण पनि एउटा पक्षले मंगलबार र अर्को पक्षले कार्तिक ७ गते दलको बैठक बोलाएका छन् ।

शाहले मंगलबार एक बजे दलको बैठक बोलाएका छन् भने नेपालीले कार्तिक ७ गते शुक्रबार विहान ११ बजे बैठक आह्वान गरेकी छिन् । बैठकसम्म दुबै पक्षसँग छलफल गर्ने र मिले समस्याको सामाधान निकाल्ने उनको भनाइ छ । ‘म सबैलाई मिलाउने प्रयासमा छु, कात्तिक ७ गतेको बैठकले नै नयाँ निर्णय गर्छ’ नेपालीले भनिन् । तर अविश्वासको प्रस्ताव ल्याउने पक्षले भने मंगलबार १ बजे दलको बैठक बस्ने जनाएको छ । उक्त समूहका अनुसार आज नै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास गर्ने तयारी छ । यसले नेकपा कर्णालीमा वारपारको अवस्था पुगेको छ ।

आज दलको नेतालाई नै हटाइन्छ ः शाह

मुख्यमन्त्रीले संसदीय दलको प्रमुख सचेतकबाट पदमुक्त गरेका सांसद गुलावजंग शाहले आफूहरुले अब दलको नेतालाई हटाउने बताएका छन् । ‘१८ जना सांसदको उहाँ (मुख्यमन्त्री) विरुद्ध अविश्वासको प्रस्ताव आइसकेको छ, आज बस्ने दलको बैठकले त्यही प्रस्ताव हुबहु पास गर्छ’ उनले भने, ‘बहुमत सदस्यहरुको अविश्वासको प्रस्ताव आएपछि मलाइ पदमुक्त गरेको कुनै अर्थ छैन ।’ यद्यपी मुख्यमन्त्री शाहीले पदमुक्त गरेको पत्र आफूले नपाएको उनले बताए । ‘मुख्यमन्त्रीले नक्कली काम गरेर मलाइ हटाएको हल्ला सुनेको छु, तर आधिकारिक रुपमा मैले पत्र पाएको छैन’ शाहले भने, ‘यदी नक्कली काम गरेर हटाएको भए त्यसको हिसाव– किताव भैहाल्छ ।’

बहुमत सदस्यहरु विपक्षमा उभिएपछि दलको नेताले कुनै पनि काम गर्न नमिल्ने उनको तर्क छ । ‘मलाइ प्रमुख सचेतकबाट हटाउन एक चौथाइ सांसदको हस्ताक्षर चाहिन्छ, तर उल्टै मुख्यमन्त्रीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्’ सांसद शाहले भने, ‘एक दिनअघि अविश्वासको प्रस्ताव आउने र भोलिपल्ट हटाए भन्नु नीतिसँगत छैन ।’ मुख्यमन्त्रीले शाहीले शाहलाई पदमुक्त गरिएको पत्र पनि सोमबार मात्रै सार्वजनिक भएको थियो । तर पदमुक्त गरिएको पत्रमा मिति भने असोज २५ गते नै लेखिएको छ ।

दुबै पक्ष मिल्नुको विकल्प छैन ः शर्मा

यस्तै मुख्यमन्त्री निकटका सांसद गोपाल शर्माले दुबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘हामी जनताबाट निर्वाचित जिम्मेवार सांसद हौँ, जिम्मेवार पदमा बसेको व्यक्तिको जिम्मेवारी पार्टीलाई संकटबाट टार्ने हो । तर समस्यामा पार्ने होइन’ उनले भने, ‘ एउटै दलका नेताहरुले यसअघि कसले के ग¥यो भन्दा पनि अब कसरी मिलेर जाने भनेर समाधानको विकल्प खोज्नुपर्छ ।’ दुबै पक्षले आ–आफ्नो गल्ती कमजोरी स्वीकार गर्दै मिलेर जानुको विकल्प नरहेको उनको तर्क छ । ‘सबै सांसदलाई मुख्यमन्त्री र मन्त्री बन्ने महत्वाकाँक्षा छ, तर एउटै कार्यकालमा सबैलाई मुख्यमन्त्री र मन्त्री बनाउन सम्भव छैन’ उनले भने, ‘असहमितका मुद्दामा छलफल गरौँ, तर एकपछि अर्काे विवाद गरेर रमिता नगरौँ ।’

व्यक्तिको महत्वकाँक्षाभन्दा पनि पार्टीको मर्मअनुसार दुबै पक्ष मिल्नुपर्ने उनको जिकिर छ । ‘हामीले चुनावमा जनतालाई एक भयौँ, स्थिर सरकारका लागि हामीलाई जिताउनोस् भनेर बाचाहरु गरेका छौं, त्यो भुल्ने अधिकार कसैलाई छैन’ शर्माले भने, ‘पार्टीको भविष्य नहेर्ने हो भने जसले जे गर्दा पनि हुन्छ ।’

सम्पादकीयः प्रहरीमा अनुशासन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds