सिधनियाघाट पुल निर्माण ७५ प्रतिशत पूरा तटबन्धको स्वरूपलाई लिएर स्थानीयको चिन्ता

बाँके, ५ असोज ।
बाँकेको सिधनियाघाटमा निर्माणाधीन पुलको काम ७५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । पुल निर्माण पूरा भएपछि डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा समेत जिल्ला सदरमुकाम नेपालगञ्जसम्मको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । तर, पुलसँगै निर्माण हुने नदी नियन्त्रण तथा तटबन्धको संरचनालाई लिएर स्थानीय र निर्माण पक्षबीच भने मतभेद देखिएको छ ।
स्थानीयले पुल निर्माणसँगै नदीको बहाव व्यवस्थापनका लागि बनाइने तटबन्धको स्वरूपप्रति चासो व्यक्त गरेका छन् । पुलको लम्बाइ नबढाई पूर्वतर्फ तटबन्ध निर्माण गरिए नदीको प्राकृतिक बहाव प्रभावित हुने र त्यसको असर आसपासका खेतीयोग्य जमिन तथा बस्तीमा पर्ने उनीहरूको चिन्ता छ । स्थानीयका अनुसार प्रस्तावित तटबन्धका कारण करिब दुई सय बिघा खेतीयोग्य जमिन प्रभावित हुनसक्ने अवस्था छ ।
विगतमा सिधनियाघाट आसपासका क्षेत्रमा बाढी र डुबानका कारण धनमाल तथा खेतीबालीमा क्षति पुगेको स्मरण गर्दै स्थानीयले आगामी दिनमा त्यस्तो समस्या दोहोरिन नदिन पुलको लम्बाइ बढाउनुपर्ने माग गरेका छन्। नदीको बहावलाई सहज र व्यवस्थित बनाउन वारिपारिका तटबन्ध जोडिने गरी पुलको लम्बाइ थप चार सय ४० मिटर बढाउनुपर्ने उनीहरूको माग छ ।
स्थानीय नेता चमेली वाकाबल र केशव ओलीले पुल निर्माण हुनु सकारात्मक भए पनि त्यससँगै निर्माण हुने संरचनाले बाढी तथा डुबानको जोखिम बढाउन नहुने बताएका छन् । उनीहरूले स्थानीयको सुझाव र विगतको बाढीको अवस्थासमेत अध्ययन गरेर नदी व्यवस्थापनको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झन्करबहादुर थापा र राप्ती सोनारी गाउँपालिका–६ का वडाध्यक्ष लबराज खरेलले पुलको लम्बाइ नबढाई तटबन्ध निर्माण गरिए वर्षायाममा नदीको पानी खेतीयोग्य जमिन र बस्तीमा पस्ने जोखिम रहेको बताएका छन् । नदीको बहाव साँघुरो हुने गरी संरचना निर्माण गर्दा एक ठाउँको समस्या समाधान भए पनि अर्को ठाउँमा डुबानको समस्या सिर्जना हुनसक्ने उनीहरूको भनाई छ ।
हाल निर्माणाधीन सिधनियाघाट पुल सात सय मिटर लामो र ११ मिटर चौडा छ । एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको काम ७५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । पुलका दुईवटा स्ल्याब निर्माण गर्न भने बाँकी रहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले जनाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल आयोजनाअन्तर्गत चार हजार ६ सय मिटर रिभर ट्रेनिङ तथा एक हजार चार सय ८० मिटर एप्रोच सडक निर्माण गर्ने योजना छ । पुल निर्माणको मुख्य कामसँगै नदी नियन्त्रणका लागि आवश्यक संरचना निर्माणको कामसमेत अघि बढाइने उनले बताएका छन् ।
सिधनियाघाट पुल सञ्चालनमा आएपछि डुडुवा, राप्ती सोनारी र नरैनापुरका बासिन्दाले वर्षायाममा समेत सहज रूपमा नेपालगन्ज आवतजावत गर्न पाउने अपेक्षा गरिएको छ । विशेषगरी बाढीका कारण सडक तथा नदीमा आवतजावत अवरुद्ध हुँदा वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयका लागि पुल महत्वपूर्ण पूर्वाधार बन्ने देखिएको छ ।
यद्यपि, पुल निर्माणसँगै नदी नियन्त्रणका नाममा निर्माण हुने संरचनाका कारण नयाँ डुबानको समस्या सिर्जना नहोस् भन्ने स्थानीयको मुख्य चासो छ । विकास पूर्वाधार निर्माण गर्दा पुलबाट हुने यातायात सुविधा मात्र नभई नदीको प्राकृतिक बहाव, खेतीयोग्य जमिन र बस्तीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने देखिएको छ ।
स्थानीयको मागअनुसार पुलको लम्बाइ बढाउने वा प्रस्तावित संरचनामै आवश्यक सुधार गर्ने विषय प्राविधिक अध्ययन र सम्बन्धित निकायको निर्णयमा निर्भर रहनेछ । तर, सिधनियाघाट पुलले वर्षौंदेखिको आवागमनको समस्या समाधान गर्ने अपेक्षा बढाइरहेका बेला त्यससँगै निर्माण हुने नदी नियन्त्रणका संरचनाले भविष्यमा बाढी र डुबानको नयाँ जोखिम ननिम्त्याऊन् भन्नेतर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ ।






