सिँचाइको नहरले खेतमा पानी मात्रै होइन, हात्तीको बाटो पनि छेक्यो

बर्दिया,४ असोज ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–डुम्रेनीमा सिँचाइका लागि निर्माण गरिएको अग्लो नहरले किसानको खेतमा पानी पुर्याउनुका साथै निकुञ्जबाट गाउँ पस्ने हात्तीलगायतका वन्यजन्तुको आवागमनसमेत रोक्न थालेको छ । सिँचाइ र वन्यजन्तु नियन्त्रण दुवैलाई ध्यानमा राखेर निर्माण गरिएको नहर स्थानीयका लागि दोहोरो लाभ दिने संरचना बनेको हो ।
बबई सिँचाइ आयोजनाले गत आर्थिक वर्षमा करिब २० करोड ५९ लाख ९८ हजार रुपियाँको लागतमा ८ सय ८ मिटर लामो अग्लो सिँचाइ नहर निर्माण गरेको हो । नहर निर्माणपछि डुम्रेनी क्षेत्रको करिब ५ सय ९० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । यसअघि उक्त क्षेत्रमा व्यवस्थित सिँचाइ सुविधा नहुँदा किसान वर्षामा निर्भर हुनुपर्ने अवस्था थियो ।
बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार डुम्रेनी क्षेत्रमा सिँचाइको समस्या समाधान गर्नुका साथै बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँ तथा खेतबारीतर्फ प्रवेश गर्ने वन्यजन्तुलाई रोक्ने उद्देश्यले नहरलाई अग्लो संरचनाका रूपमा निर्माण गरिएको हो । उनका अनुसार वन्यजन्तुले सहज रूपमा नहर पार गर्न नसक्ने गरी संरचना तयार गरिएको छ ।
नहर निर्माणपछि हात्तीको आवागमनमा कमी आएको स्थानीयको अनुभव छ । डुम्रेनीका स्थानीय लालबहादुर परियारले नहर निर्माणअघि हात्ती दैनिकजसो गाउँमा आउने गरे पनि अहिले नहर पार गरेर गाउँतर्फ आउन नसकेको बताए । “नहर निर्माणले यहाँका बासिन्दालाई दुई वटा फाइदा भएको छ। सिँचाइ पनि भएको छ, हात्ती आउन पनि रोकियो,” उनले भने ।
बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माका अनुसार सिँचाइका लागि निर्माण गरिने नहरलाई वन्यजन्तु नियन्त्रणमा समेत उपयोग गर्न सकिने देखिएपछि आयोजनाले हालसम्म करिब १ हजार ५ सय मिटर नहरलाई वन्यजन्तु रोक्ने संरचनाका रूपमा समेत काम गर्ने गरी निर्माण गरेको छ। यसले सिँचाइ पूर्वाधारलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग जोड्न सकिने देखाएको उनको भनाइ छ ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सिँचाइ सुविधा विस्तारसँगै वन्यजन्तुको आवागमन नियन्त्रणलाई समेत ध्यानमा राखेर नहर निर्माण गर्न आयोजनासँग अनुरोध गरिएको बताए । स्थानीयको आवश्यकता र वन्यजन्तुबाट हुने क्षतिलाई ध्यानमा राखेर अग्लो नहर निर्माण गरिएको उनले जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग ठाकुरबाबा नगरपालिकाको करिब ३२ किलोमिटर सीमा जोडिएको छ । निकुञ्जबाट गाउँ तथा बस्तीमा प्रवेश गर्ने वन्यजन्तुका कारण हुने क्षति न्यूनीकरण गर्न नगरपालिकाले सीमावर्ती क्षेत्रमा पक्की पर्खाल निर्माणलाई समेत अघि बढाएको छ । नगरपालिकाका अनुसार हालसम्म करिब १५ किलोमिटर क्षेत्रमा पक्की पर्खाल निर्माण भइसकेको छ भने अझै करिब १५ किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्न बाँकी छ ।
नगर प्रमुख लम्सालका अनुसार वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जको सीमामा पक्की पर्खाल निर्माणमा नगरपालिकाले हालसम्म झन्डै ३० करोड रुपियाँ खर्च गरिसकेको छ । वन्यजन्तुबाट हुने क्षति कम गर्न पूर्वाधार निर्माणसँगै अन्य उपायलाई पनि प्राथमिकता दिइएको उनले बताए ।
सिँचाइ पूर्वाधारलाई वन्यजन्तु नियन्त्रणसँग जोडेर निर्माण गरिएको डुम्रेनीको अग्लो नहरले एकातिर किसानको खेतमा पानी पुर्याएको छ भने अर्कोतिर निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने हात्तीलगायतका वन्यजन्तुको आवागमनमा अवरोध सिर्जना गरेको छ । स्थानीयका अनुसार यसले कृषि उत्पादनमा सहयोग पुर्याउनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुगेको छ ।





