महिलालाई वडा सदस्यमा सीमित नराखौँ, मेयर–वडाध्यक्षमा पनि उठ्ने आँट गरौँ : हमाल

नेपालगञ्ज ,२५ साउन ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) की केन्द्रीय अध्यक्ष टुका भद्र हमालले आगामी निर्वाचनमा महिलाले वडा सदस्य र उपमेयरमा मात्र सीमित नभई वडाध्यक्ष र मेयरजस्ता नेतृत्वदायी पदमा उम्मेदवारी दिने आँट गर्नुपर्ने बताउनुभएको छ।
अनेमसंघ बाँकेको आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष हमालले योग्य र सक्षम महिलालाई पार्टीले हस्तक्षेप नगरी निर्वाचनमा उम्मेदवार बन्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो। उहाँले महिलाको राजनीतिक अधिकार सुनिश्चित गर्न महिला स्वयं संगठित भएर अघि बढ्नुपर्ने बताउनुभयो।
“अब महिलाले वडा सदस्य र उपमेयरमा मात्रै होइन, वडाध्यक्ष र मेयरमा समेत उम्मेदवारी दिने आँट गर्नुपर्छ,” उहाँले भन्नुभयो, “योग्य महिलालाई पार्टीले हस्तक्षेप नगरी टिकट दिने वातावरण बनाउनुपर्छ।”
पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष हमालले महिलाका हक, अधिकार, महिला हिंसा अन्त्य, सम्पत्तिमा महिलाको अधिकार, नागरिकता तथा संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। महिला आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर संगठित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।


समसामयिक राजनीतिक अवस्थाको चर्चा गर्दै उहाँले राजनीतिमा युवाको सक्रिय सहभागिता बढाउन युवाका सवाललाई राजनीतिक दलले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताउनुभयो। उहाँले देशमा बढ्दो महँगी तथा वर्तमान सरकारका कामकारबाहीबारे समेत चर्चा गर्नुभएको थियो।
नेकपा एमाले बाँके इन्चार्ज शान्ति ढकालले महिलाहरू राजनीतिमा सक्रिय भएर अघि बढ्नुपर्ने बताउनुभयो। अनेमसंघकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज बिना ज्ञवालीले पितृसत्तात्मक सोचका कारण महिलाको राजनीतिक तथा सामाजिक प्रगतिमा अवरोध सिर्जना भइरहेको बताउँदै यस्तो सोच महिला र पुरुष दुवैमा रहेकाले त्यसको अन्त्य आवश्यक रहेको बताउनुभयो।
नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा महिला फाँट इन्चार्ज लीला रानाले राजनीतिमा महिलाको सहभागिता बढाउन उनीहरूलाई जिम्मेवारी र अवसर दिनुपर्ने बताउनुभयो।

अनेमसंघ केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले अनेमसंघको इतिहास, पार्टी र अनेमसंघबीचको सम्बन्ध तथा राजनीतिक आन्दोलनमा महिलाको भूमिकाबारे प्रकाश पार्नुभयो।
नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध महिलाहरू संगठित भएर लाग्नुपर्ने बताउनुभयो। अनेमसंघ प्रदेश अध्यक्ष गीता पाण्डेले महिलाले विगतमा गरेको संघर्ष र आन्दोलनको इतिहासलाई बिर्सन नहुने बताउँदै अधिकार र उपलब्धिको संरक्षणका लागि महिला संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
सम्मेलनबाट माया गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरिएको छ। कमिटीको उपाध्यक्षमा तारा वली र फुलमाया जैसी, सचिवमा रिना पौडेल, उपसचिवमा सीता विश्वकर्मा तथा कोषाध्यक्षमा बेबी मण्डल चयन हुनुभएको छ।
सम्मेलनमा अनेमसंघ केन्द्रीय अध्यक्ष टुका भद्र हमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी अनेमसंघलाई सहयोग गर्ने तथा प्रदेश कमिटीमा निर्वाचित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पूर्वमाननीय दीपा शर्मा, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज बिना ज्ञवाली, एमाले बाँके अध्यक्ष निरक गुरुङ, प्रदेश उपसचिव तथा महिला फाँट इन्चार्ज लीला राना, अनेमसंघ केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेल, केन्द्रीय सदस्य सरस्वती मल्ल, प्रदेश अध्यक्ष गीता पाण्डेलगायतलाई दोसल्ला तथा कदरपत्र प्रदान गरिएको थियो।
सम्मेलनमा अनेमसंघ बाँकेले आफ्नो कार्यकालमा सम्पन्न गतिविधि समेटेर तयार पारेको ‘अठोट’ स्मारिका समेत विमोचन गरिएको थियो।


उद्घाटन सत्र अनेमसंघ बाँकेकी निवर्तमान अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन अनेमसंघ बाँके सचिव अनिता थापाले गर्नुभएको थियो।
उद्घाटन सत्रपछि केन्द्रीय सदस्य अछरी पोखरेलको अध्यक्षतामा अध्यक्षमण्डल तथा एमाले लुम्बिनी प्रदेश उपसचिव लीला रानाको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरी बन्दसत्र सुरु गरिएको थियो। बन्दसत्रमा निवर्तमान अध्यक्ष मिना सुवेदी ढकालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बेबी मण्डलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

महिलालाई वडा सदस्यमा सीमित नराखौँ, मेयर–वडाध्यक्षमा पनि उठ्ने आँट गरौँ : हमाल

राष्ट्रिय स्तनपान सप्ताह २०८३: “आमालाई सशक्त बनाउँदै,

महिलालाई वडा सदस्यमा सीमित नराखौँ, मेयर–वडाध्यक्षमा पनि उठ्ने आँट गरौँ : हमाल

महिलालाई वडा सदस्यमा सीमित नराखौँ, मेयर–वडाध्यक्षमा पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *