ओली-प्रचण्ड सबा ३ घण्टा छलफल, मन्त्रिपरिषद् पुनर्गठन अनिश्चित

काठमाडौं, १२ असोज ।
पार्टीको सुझावअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। यसै सन्दर्भमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लगातार छलफल भइरहेको छ।

यसै सन्दर्भमा दुई अध्यक्षबीच आज पनि छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा सवा ३ घण्टा चलेको छलफलमा सहमति जुट्न नसकेको स्रोतले जानकारी दिएको छ।
बिहान ११ बजे शुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भए पनि निष्कर्ष निस्किन नसकेको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली केही मन्त्री हटाउने, केही नयाँ थप्ने गरी मन्त्रिपरिषद् बैठक तत्काल पुनर्गठन गर्नुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ। तर, प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने मत राख्दै आएका छन्। उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएकाले तत्काल मन्त्री परिषद् पुनर्गठन नहुने देखिन्छ।
१४ गते फैसला आउने सम्भावना रहेकाले अहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिन नहुने प्रचण्डको मत रहेको स्रोतको भनाइ छ। यस विषयमा प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन्।






