सम्पादकीयः काँक्रेविहारको पुनर्निर्माण

कर्णालीमा विभिन्न पर्यटकीय क्षेत्रहरु छन् । ति मध्येको एक हो काँक्रेविहार क्षेत्र । सुर्खेतमा रहेको ऐतिहासिक महत्वको काँक्रेविहार संरक्षित क्षेत्र पनि हो । यसकारण पनि यसको संरक्षण, विस्तार र विकासमा सबैको चासो आवश्यक छ । तर पनि हालसम्म यसको जति चर्चा छ, त्यो अनुसारको विकास भने हुन सकेको छैन । समग्र प्रदेशकै पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गर्न सकिन्छ । तर ऐतिहासिक महत्व बोकेको काँक्रेविहारको उत्खनन् हुनै बर्षौं लाग्यो । पुरातत्व विभागले बल्लतल्ल यसको उत्खनन् गरे पनि यसको पुनर्निर्माणमा तीव्रता आउन सकेको छैन । स्थानीयको माग अनुसार शिखर शैलीको मन्दिर बन्यो । त्यसमा गजुर पनि राखियो । तर त्यसको रंगरोगन भने हुन सकेको छैन । जसका कारण सुन्दर कल्पना गरेर त्यहाँ पुग्ने पर्यटकले कुरुप देख्ने अवस्था छ । अर्कोतर्फ काँक्रेविहार क्षेत्रलाई वरिपरिबाट पर्खाल लगाएर सुरक्षित बनाउने भनिएको थियो । त्यो पनि समयमै काम भएको छैन । बरु आवश्यक संरक्षण र विकासमा खेलाँची हुँदा पर्यटकहरु त्यहाँ पुग्न डराउनुपर्ने अवस्था छ ।

काँक्रेविहारको अवलोकनका लागि अहिले पनि मानिसहरु बाहिरबाट आउने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व मात्र होइन, काँक्रेविहार प्रदेशको गहना नै हो । यसको विकास र संरक्षण भएको खण्डमा धेरै आर्थिक लाभ लिन सकिने अवस्था छ । तर सुरुवातमा राज्यले लगानी गर्न आनाकानी गर्नु, पुनर्निर्माणमा भइरहेको खेलाँची र गुरुयोजनाको सही रुमिा कार्यान्वयन नहुँदा काँक्रेविहार क्षेत्र नाम मात्रको बनेको छ । बाहिरबाट नाम सुनेर घुम्न आउने आगन्तुकहरुले अवलोकन गरिसकेपछि सन्तुष्ट हुने अवस्था किन भएन ? अर्थात स्थानीय, प्रदेश र केन्द्र सरकारले यसको विकास, विस्तार, संरक्षण, आवश्यक प्रचारप्रसार र पुनर्निर्माणमा किन वेवास्ता गरिरहेका छन् । यो नै काँक्रेविहारको विकासमा भएको बाधक तत्व हो । देशका प्रमुख, सरकार प्रमुख, मन्त्री र नेताहरुले पनि यसको विकास र संरक्षणमा धेरै प्रतिबद्धता जनाए । काँक्रेविहारकै नारा दिएर धेरै दल र तिनका नेताहरुले चुनाव पनि जिते । तर आजसम्म काँक्रेविहारको विकास हुन नसक्नु कर्णालीको पर्यटन क्षेत्रका लागि दुर्भाग्य नै हो । बल्लतल्ल थालिएको पुनर्निर्माणको काम पनि अहिले अलपत्र छ ।

तोकिएको समयमा पनि काम हुन नसक्नुमा ठेकेदारको कमजोरी होला । तर काम गर्न नसक्ने ठेकेदारलाई किन कारबाही हुन सकेको छैन ? स्थानीय सरकार गठन भएपछि विकास हुने र आफ्नो ठाउँको विकास आफैले गर्ने बाचा जनप्रतिनिधिले गरेका थिए । तर वीरेन्द्रनगरले गौरवको गीत गाउने यही काँक्रेविहारको विकासमा के भूमिका निर्वाह गरिरहेको छ ? जनप्रतिनिधिहरु यो विषयमा गम्भिर छन् त ? वास्तवमा आज यही सवाल अगाडि आएको छ । कुनै पनि वहानामा अरुलाई दोष देखाएर काँक्रेविहारलाई अलपत्र अवस्थामा छोड्नु हुँदैन । समग्र प्रदेशको पर्यटन विकास र आर्थिक अवस्था सुधार गर्नका लागि पनि काँक्रेविहारको तत्काल पुनर्निर्माणको काम सक्नु पर्दछ । गुरुयोजना अनुसार नै रोकिएको काम सक्न र सकाउनका लागि अब स्थानीय र प्रदेश सरकारले पनि काम गर्न जरुरी छ ।

सम्पादकीयः काँक्रेविहारको पुनर्निर्माण

कर्णालीका सहकारी शतप्रतिशत व्याज र हर्जना अशुल्दै

सम्पादकीयः काँक्रेविहारको पुनर्निर्माण

YUGAAWHAN NATIONAL DAILY (2077-06-12)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds