सत्ता र सरकार

उमालाल आचार्य

शासन प्रणालीमा सत्ता र सरकार फरक विषय हुन भन्ने प्रष्ट बुझाई सर्वसाधारण सबैलाई नहुन सक्छ । मुलभूत रूपमा सत्ता भनेको स्वामित्व शक्ति र सरकार भनेको देशमा राज्य सञ्चालनको अवयव हो भन्ने अर्थ लगाउँछन विद्वानहरु । संधैभरी शासन सत्ता सरकारको अम्बलमा नहुन पनि सक्छ, त्यसो भएमा शासन सञ्चालन अत्यन्त कष्टकर हुन जान्छ । जेनजी आन्दोलनले एमालेका अध्यक्ष खड्ग प्रसाद ओली को सरकार ढालेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार निर्माण  गरिदियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा अमानवीय दमन गरि युवामाथी गोली हान्नेलाई कारबाही गर्न जाँचबुझ आयोग गठन गर्दै भ्रष्टाचारको विरुद्ध कडा कदम चाल्ने उद्घोष गरिन् । हिजो आन्दोलन रापबाट आत्तिएर सेनाको हेलिकप्टर चढी भागेका ओली भक्तपुरको गुण्डुमा सार्वजनिक भइ त्यहीँ टुरमुकाम बनाएर सरकारलाई बराबर चुनौती दिन थाले । सबैजनालाई ताजुब लाग्ने कुरा के भयो भने एकाएक ओलीमा त्यो दुस्साहस कसरी आयो ? कार्की सरकारले सुशासनका पक्षमा भने बमोजिमको काम गर्न किन सकेन ? यी प्रश्नमा घोत्लिंदा सरकार लाचार जस्तै बन्नुको मुल कारण के भने सरकारबाट विमुख भएपनि सत्ता ओलीहरुकै कब्जामा पो रहेछ । सरकारले पनि यो कुरा केही पछाडि मात्र महसुस गरेको हुनुपर्दछ भन्ने लाग्छ । किनभने  प्रतिबद्धता जनाएका सुशासनका कुरा तपसीलमा राखेर सरकार चुनावमा एकोहोरियो ।

आन्दोलनमा गोली चलेको बारे जाँचबुझ आयोगले प्रहरी प्रमुख चन्द्र कुबेर खापुङलाई पत्राचार गर्‍यो । हामी सबै फिल्डमा खटिएका थियौं भन्ने ढंगको गैरजिम्मेवार जवाफ मात्रै दिएनन् आइपर्दा यदि प्रहरीले गोली नचलाउने हो भने प्रहरी संगठनको कुनै औचित्य छैन भन्ने आसय सार्वजनिक रूपमा व्यक्त पनि गरे । आगजनी हुँदा, झडपमा जिउ ज्यान हताहत हुँदा, आपतकालीन अवस्थामा मात्र  सायद प्रहरीले कम्मरमुनी गोली चलाउन सक्छ त्यसमा कसैले प्रश्न उठाउन पनि मिल्दैन । तर चेतावनी दिएर,पानी फोहरा हानेर, रबरको  गोली प्रयोग गरेर भिड तितरबितर पार्नुपर्ने कानुनको प्रक्रिया पनि नपुर्‍याई आन्दोलनरत १९ जना युवाहरुलाई टाउको र छातीमा गोली लागेको छ ।

त्यस बारेमा कुनै जाँचबुझ नगरी सत्यतथ्य कसरी बाहिर आउन सक्छ ? त्यस्तो गैरजिम्मेवार खापुङको जवाफलाई कुनै मिडियाले स्याबास खापुङजी क्या बात भनेर बढवा दिए । ओलीहरुले पालेका खापुङहरु मिडियामा मात्रै होइन सरकारका सबै निकायमा आयोग र न्यायालयमा पनि थिए । ओलीलाई गुप्त सूचना दिइरहेका थिए भन्दा कतिलाई तितो लाग्ला तर सत्य नै यही देखिन्छ । यो हाहुको असंवैधानिक सरकार हो,यसलाई फालेर जसरी पनि हामी सत्तामा जान्छौं भन्ने ओलीको तुच्छ अभिव्यक्तिले नै खापुङहरुलाई ढाढस थियो । खापुङहरुको असहयोगबाट कार्की सरकार त्यसकारण लाचार जस्तै भैरहेको थियो ।

भदौ २३ मा आधुनिक हतियार र बमगोला बोकेर लुकिछिपी

संसदभवन ध्वस्त पार्न आएका आतंककारी समूह थिएनन् । भ्रष्टाचारले सीमा नाघ्दै जाँदा आजित भएका चेतनशील एक उमेर समूह (जेनजी) ले सरकारबाट  सामाजिक सन्जालमा लगाइएको बन्देज खुलाइदिन भनी आन्दोलनमा उत्रिएको थियो । बीबीसीले सार्वजनिक गरेको भिडियो सामाग्रीमा कर्फ्यु लागेको १० मिनेट भित्र (पिटर वान) संकेतका प्रहरी प्रमुखले गोली हान्ने आदेश दिएको कुरा उल्लेख छ । शुरुमा एकजना युवालाई पछाडीबाट टाउकोमा गोली हानेर ढालेको देखिन्छ ।  आन्दोलनलाई बदनाम र विषयान्तर गर्न जसले जेसुकै व्याख्या विश्लेषण गरे पनि भदौ २४ गतेको विशाल जनसागर, तोडफोड आगजनी र विध्वंस २३ गतेकै परिणति हो भन्ने बहुसंख्यक जनताको बुझाइ छ । २४ गतेको घटनामा ओलीका केही विवादित अभिव्यक्तिको चर्चा गरौं ।

आन्दोलनमा काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा दम्पतीले कुटाइ खाएको प्रसंगमा आफू भाग्न ५ मिनेट मात्र ढिला गरेको भए मार्ने नै रहेछन् भनी बोलेका ओलीले सम्पादक मण्डलसँगको अन्तरक्रिया कार्यक्रममा कहिलेकाहीँ भाग्दा केटाकेटी खुसी हुन्छन् भनेर भागे झैं गरेको हो भनिदिए । आन्दोलनकारी लाई कसले के के खुवाएर ल्याएको थियो नभागेर के गर्नु त भन्दै गरेका ओलीले राजीनामा दिए पनि देशको काम चलाउ प्रधानमन्त्री आफू नै भएको र भागेर विदेश नगएको बरु टुर मुकाम फेरेको भनिदिए । झापाको  सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीलाई सुरक्षा गर्न आधुनिक हतियार सहित सुरक्षा दस्ता खडा हुन्छ, मलाई आक्रमण गर्न आएको भए धेरैजना मर्ने सम्भावना थियो त्यसकारण आफू भाग्न बाध्य भएको भन्ने ढंगको अभिव्यक्ति दिएका थिए ।

जबकि सुरक्षा निकाय ले स्थिति सम्हाल्नका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनेको थियो भनी मिडियामा खबर आइरहेको थियो । स्वयं ओलीले पनि पछिल्लोपटक सुरक्षा निकायले समन्वय नगरी असहयोग गरेको भनी गुनासो गरिरहेका थिए । ठाउँ ठाउँमा उनले दिएको अभिव्यक्तिमा एकरूपता देखिदैन । राजीनामा बुझाउन गएका गृहमन्त्रीलाई राजीनामा नगर्न भनेका ओली ले आफ्ना अघिल्ला अभिव्यक्तिलाई एकपछि अर्को गर्दै गर्दै  पटकपटक खण्डन गरेबाट पनि पुष्टि हुनजान्छ आन्दोलनमा निर्मम दमन गरिएको थियो ।

कार्की सरकारलाई हारथाक बनाएर आत्मसमर्पण गराउन ओलीले बारम्बार लल्कार्ने र चुनौती दिने दुस्प्रयत्न गरिरहे । कहिले युवा संघको जुलुस निकाल्ने त कहिले भोलियन्टर फोर्स गठन गर्ने गरेर तर्साउन पनि खोजे । ऊनी चाहन्थे कि खोसिएको बागडोर सहिसलामत फिर्ता होस । तर सरकार चुनावी तयारीमा थियो भने काँग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टी  पनि चुनावमा होमिइसकेको थियो । यस्तो अवस्थामा एमाले पनि बाध्यताबस चुनावमा जानुको विकल्प थिएन । सरकारका विरुद्ध एक्लै आन्दोलन गर्दा औचित्य पुष्टि हुन नसक्ने र चुनावमा जाँदा पनि जेनजी आन्दोलनलाई उपेक्षा गर्न नमिल्ने अवस्थाले अप्ठ्यारो पारेपछि करिब ५ महिना पछाडि मात्र ओलीले सामाजिक संजालमा लामो लेख लेखेर जेनजीलाई सम्बोधन गरेका थिए ।

हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार दिएको छैन, त्यस्तो आदेश मैले कहिल्यै पनि दिएको छैन र आदेश दिने बारे सोच्न पनि सक्दैन,ज्यान गुमाउन बाध्य भएका १९ जना नानीबाबुहरु प्रती मेरो गहिरो श्रद्धाञ्जली छ त्यो पीडा आजसम्म पनि मसँगै छ भन्ने ढंगको व्यहोरा उल्लेख थियो लेखमा । ओलीको यस्तो लेख उपर अनेकन कोणबाट आलोचना बढेपछि लगत्तै उनले अर्को स्पष्टीकरण दिए, ५ महिना ढिलो किन आएको श्रद्धाञ्जली भन्ने ढंगबाट अनेकन टिप्पणी आएका छन, यसमा म गौरीबहादुर कार्की जाँचबुझ आयोगले निर्दोष सावित गर्नेछ भनी ढुक्क थिएँ तब बोल्न कुनै हतार गरेको थिइन भन्ने ढंगको आसय व्यक्त गरिएको थियो । जबकि कार्की आयोगलाई सक्ने भए गोली हान बयान दिन्न भनेर ठाडो चुनौती दिइरहेका थिए । जनता मा भ्रम छर्न फेरि कार्की आयोगको बैसाखी टेक्नुपर्ने कस्तो विडम्बना ! अन्तमा कार्की आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई दोषी देखायो त्यसैको आधारमा सरकारले पनि गिरफ्तार गर्‍यो ।

जेनजी आन्दोलन, आन्दोलनलाई ढाकछोप गरिएको भ्रम, बराबर प्रचारप्रसार गरिएका झुठा व्यहोरा  र बेइमानीपूर्ण लेख तथा अभिव्यक्तिका कारण चुनावले कल्पना बाहिरको आश्चर्यजनक परिणाम ल्याइदियो । रास्वपालाई  दुईतिहाई को अत्यन्त नजिक पुर्‍यायो भने बाँकी ५ पार्टीको जम्मा सांसद संख्या सय पुग्न नसकेको दयनीय अवस्था आयो । च्याँखेदाउ थापेर स्वार्थसिद्ध गर्ने क्षेत्रीय र जातिवाद पार्टी सबै स्वाहा भए । निरन्तर निराशा मात्रै दिएर आजित पारेका कारण जनताले सबै पुरानालाई एकचोटि भित्तामै पुर्‍याइदिए । अब विकल्पमा सरकार निर्माण गरेर कोही प्रधानमन्त्रीको कुर्सीमा बस्ने दुषित सपना असम्भव भएको छ ।

ओलीलाई आफ्नै इलाकामा धुलो चटाइदिएर घमण्ड तोडेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार निर्माण भयो । सरकारको गतिविधिलाई पुरानो सत्ताको ठुटा जराले बाधा व्यवधान र अवरोध पुर्‍याउन नपाओस् भनी कानुन निर्माणका लागि प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति समक्ष विधेयक पेस गरेको अवस्था छ । यस पटकको चुनाव कुनै उमेदवारले जित्ने र हार्नेमा मात्रै सिमित रहेन, देश समृद्ध बन्ने कि अझै बर्बाद हुने भन्ने ढंगबाट एक किसिमको जनमत संग्रह पनि भैदिएको छ । त्यसकारण अब शासन सत्ताको बागडोर लिएर सरकार निष्कन्टक समृद्धिको यात्रामा हिंड्न का लागि ढिलाइ गर्न हुँदैन भन्ने लागिरहेको छ ।

(लेखक : वीरेन्द्रनगर–१२, नेवारे निवासी हुन)

सत्ता र सरकार

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *