सम्पादकीय : डिलमायालाई न्याय देऊ !
नेपालको कानुनले कुनै पनि जंगली जनावरको सिकार गर्नु अपराध मान्छ । अझ संरक्षित क्षेत्रमा अनुमति बिना प्रवेश गरेर जनावर मार्नु झन् ठुलो अपराध हो । तर सुर्खेतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ । जसले एउटा परिवारको नै उजाडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा हातहतियारसहित सिकार खेल्न गएका ६ जना मध्ये बराहताल गाउँपािलका–२, का टोपबहादुर खत्रीको मृत्यु भएको घटनाले सबैको ध्यान तानेको छ । कानुनले बन्देज लगाएको अवस्थामा निकुञ्ज क्षेत्रमा प्रवेश गरेकाहरुले आफ्नो परिवारलाई धरासायी बनाएका छन् । टोपबहादुरको मृत्यु भएको छ, अन्य पाँच जना उनको मृत्यु भएपछि अपराधी करार भएका छन् । उनीहरुविरुद्ध टोपबहादुरको हत्या गरेको अभियोग त लाग्छ नै, निकुञ्ज क्षेत्रमा अनुमित बिना प्रवेश गरेको समेत मुद्दा लाग्ने छ । यो आफैमा दुखद् पक्ष हो । २३ फागुनको शनिबार टोपबहादुरलाई घरबाट निस्केको देखेका दुई छोराले अब बुवाको आश्रय पाउने छैनन् ।
दैनिक ज्याला मजुदरीका लागि भारत जाने गरेका टोपबहादुरकी श्रीमती डिलमाया थापाले स्थानीय भेरी माध्यमिक विद्यालयको बालविकास कक्षामा अस्थायीरुपमा पढाउँदै आएकी थिइन । श्रीमान्को ज्याला मजदुरी र आफुले पढाएवापत आउने पारिश्रमिकले उनीहरुको परिवार चलेकै थियो । उनको परिवारसँग यो भन्दा अन्य आयस्रोत छैन । त्यस दिन उनका साथिहरुले टोपबहादुरलाई फोन गरेका थिए । साथीहरुले बारम्बार आउन कर गरे । अन्ततः एकाएक निर्णय लिएर श्रीमती र छोराहरुलाई केही नभनी हिँडेका टोपबहादुर भने अब कहिल्यै घर फर्कने छैनन । टोपबहादुरको मात्र नभई उनीसँगै अवैधरुपमा निकुञ्ज प्रवेश गरेका अन्य पाँच जनाको परिवार पनि धरासायी अवस्थामा पुगेको छ । घटनामा संलग्न व्यक्तिहरुको आश्रयमा उनीहरुका परिवार रहेको देखिन्छ । टोपबहादुरलाई जंगलमै छाडेर भागेकाहरु तत्काल जोगिएका छन् । तर प्रहरीले उनीहरुलाई एक न एकदिन पक्राउ गरेर कानुनी दायरामा भने ल्याइ छाड्ने छ । उनीहरुको खोजिमा प्रहरी परिचालन भइसकेको छ । टोपबहादुरको मृत्यु भएपछि अब डिलमायाको थाप्लोमा नाबालक छोरा हुर्काउने कठिन जिम्मेवारी थपिएको छ । यति मात्र होइन अब उनको काँधमा श्रीमान्लाई न्याय दिलाउने बोझिलो भारीसमेत परेको छ ।
घटनाको छानविन गरी उनलाई न्याय दिलाउन राज्यले कुनै पनि कसरत बाँकी राख्न हुँदैन । यस घटनाबाट केही प्रश्नहरु चुनौतीका चाङ बनेर उभिएका छन् । पहिलो, चोरी सिकारी जस्तो अपराधलाई अझ कडाइका साथ नियन्त्रण गर्न राज्य अझै सक्षम भइसकेको छैन । दोस्रो, यस्ता घटनामा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याएर निष्पक्ष अनुसन्धान हुनुपर्छ । तेस्रो, पीडित परिवारलाई राज्यले तत्काल राहत र दीर्घकालीन सहायता सुनिश्चित गर्नुपर्छ । यसमा महत्वपूर्ण टोपबहादुरको मृत्युको वास्तविकता सार्वजनिक हुन आवश्यक छ । उनको मृत्यु दुर्घटना हो वा अपराध ? वास्तविक सत्य बाहिर आउनैपर्छ । न्याय केवल मृतकका लागि मात्र होइन, जीवितहरूको भरोसाका लागि पनि अनिवार्य हुन्छ । कामना गरौं ! राज्यले यस्ता कहाली लाग्दा घटना हुन नदिन आगामी दिनहरुमा कानुनी साक्षरतासँगै चोरी सिकारी हुने क्षेत्रहरुमा कडा निगरानी गर्ने संयत्र स्थापना गरोस् । डिलमाया जस्ता महिलाले जीवन भर पीडा भोगर बाँच नपरोस् ।





