भौतिक मन्त्री चौलागाईंबाट भेरि करिडोरको अनुगमन
डोल्पा, १० चैत ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधव चौलागाईं भेरिकरिडोर सडक खण्डको अनुगमन गर्दै डोल्पा पुगेका छन् । मन्त्री चौलागाईं सुर्खेत–छिन्चु–जाजरकोट हुँदै डोल्पासम्मको भेरिकरिडोर सडकखण्डको स्थलगत अनुगमन गर्दै सोमबार साँझ डोल्पा पुगेको उनको सचिवालयले जनाएको छ ।
मन्त्रीसँगै सडक विभागका महानिर्देशक (डीजी) तथा इन्जिनियरसहितको टोली जाजरकोटदेखि डोल्पासम्मको सडकखण्डको अवस्था, प्रगति र चुनौतीबारे जानकारी लिँदै डोल्पा पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
गत १ चैतको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डअन्तर्गत ३३ किलोमिटर निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयपछि कार्यान्वयनको अवस्था र कसरी सुरुवात गर्न सकिन्छ भन्ने विषयमा बुझ्न मन्त्री चौलागाईं डोल्पा पुगेका हुन् ।
डोल्पा बसाइँका क्रममा मन्त्री चौलागाईंले स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । मन्त्री चौलागाईंसहितको टोली मंगलबार बिहान फर्किने तालिका रहेको सचिवालयले जनाएको छ ।





