तीन महिनामै आम्दानीः बाँकेका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

बाँके, ४ चैत ।
बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका आसपासका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । करिब तीन महिनामै उत्पादन हुने र बजारमा राम्रो मूल्य पाइने भएकाले किसानहरूले यसलाई नगदे बालीका रूपमा रोज्न थालेका हुन् ।
बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेतले दुई वर्षअघि पाँच कठ्ठा जमिनमा करिब ९ हजार स्ट्रबेरी बिरुवा रोपेर खेती सुरु गरे । करिब ६ लाख रुपैयाँ लगानीमा उनले २५ क्विन्टल उत्पादन गरी ९ लाख रुपैयाँ आम्दानी गरे । लगाएको करिब तीन महिनामै फल तयार हुने भएकाले यो खेती उपयुक्त भएको उनी बताउँछन ।
यस वर्ष बस्नेतले आफ्नै घरमा करिब ४ हजार बिरुवा उत्पादन गरेका छन् । करिब ३ लाख रुपैयाँ लगानीमा २० क्विन्टल उत्पादन गरी १३ लाख रुपैयाँसम्म आम्दानी हुनेमा उनी ढुक्क देखिन्छन । उनकी श्रीमती शारदा बस्नेतका अनुसार यही व्यवसायबाट पाँच जनाको परिवारको गुजारा चलिरहेको छ । स्ट्रबेरी खेतीले पहिलेभन्दा आर्थिक अवस्था सुधार भएको भन्दै परिवार यस व्यवसायबाट सन्तुष्ट देखिन्छ ।
उच्च तापक्रम पुग्ने बाँकेमा पनि पछिल्लो दुई वर्षदेखि स्ट्रबेरी खेती सफल बन्दै गएको छ । परम्परागत खेतीभन्दा छिटो उत्पादन हुने र राम्रो मूल्य पाइने भएकाले किसानको आकर्षण नगदे बालीतर्फ बढ्दै गएको हो। कोहलपुरका हेमन्त थापाले पनि दुई वर्षदेखि स्ट्रबेरी खेती गर्दै आएको छ । पहिलोपटक २ हजार बिरुवा लगाउँदा राम्रो उत्पादन भएपछि यस वर्ष १५ कठ्ठामा ९ हजार बिरुवा विस्तार गरेको उनी बताउँछन ।
स्ट्रबेरी खेतीप्रति सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको छ ।
तराईमै उत्पादन भइरहेको खबर सामाजिक सञ्जालमा फैलिएपछि खेतमै पुगेर फल किन्ने र टिकटक बनाउनेको संख्या समेत बढेको छ। राप्ती सोनारीका प्रेमपुन मगर सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि अर्गानिक स्ट्रबेरी किन्न खेतमै पुगेको बताउँछन । त्यस्तै, कोहलपुरकी निना चन्द पनि आफ्नै क्षेत्रमा उत्पादन भएको अर्गानिक फल किन्न खेतमै पुगेकी थिइन् ।
किसान र उपभोक्ताको बढ्दो आकर्षणसँगै स्ट्रबेरी खेतीले राम्रो सम्भावना देखाए पनि सरकारी सहयोग अभाव चुनौतीका रूपमा देखिएको छ । उत्पादनदेखि बजार व्यवस्थापनसम्म प्रभावकारी नीति र सहुलियत उपलब्ध गराउन सके युवाको रोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने देखिन्छ । तर पर्याप्त नीति अभावका कारण खेतीयोग्य जमिन बैंकमा धितो राख्ने प्रवृत्ति बढ्दै गएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
तीन महिनामै आम्दानीः बाँकेका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८

Leave a comment

Your email address will not be published. Required fields are marked *