मापदण्ड बिना चलिरहेको उद्योगको अनुगमन : शिव कत्था उद्योगको फोहोर नहरमा मिसिँदा गनापुरमा दुर्गन्ध
बाँके, ३ चैत ।
बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसाइँदा आसपासका बस्तीमा तीव्र दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
उद्योगले कच्चा पदार्थ प्रशोधनपछि निस्किने केमिकलयुक्त पानी सिधै सिक्टा नहरमा मिसाइदिँदा जानकी गाउँपालिका मात्र नभई नेपालगन्ज आसपासका बस्तीसमेत प्रभावित भएका हुन् । दुर्गन्धका कारण मानव स्वास्थ्यका साथै चराचुरुङ्गी र घरपालुवा जनावरमा समेत असर परेको स्थानीयवासीले बताएका छन् । समस्या बढेपछि जानकी गाउँपालिका–५ का वडा अध्यक्ष टिकानाथ यादवको पहलमा गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा उद्योगको स्थलगत अनुगमन गरिएको हो ।
स्थानीय राधा देवी विष्टका अनुसार उद्योगबाट निस्किने लेदो सिधै नहरमा मिसाइँदा त्यसको दुर्गन्ध टाढासम्म फैलिएको छ । “न्यूनतम मापदण्ड नै पूरा नगरी सञ्चालन गरिएको उद्योगका कारण वरपर बस्नै नसक्ने अवस्था छ,” उनले भनिन्, “दुर्गन्धका कारण विभिन्न रोग फैलिने जोखिमसमेत बढेको छ, त्यसैले तत्काल समाधान खोज्नुपर्छ ।”
स्थानीयले उद्योगले रातिको समयमा विषाक्त लेदो नहरमा मिसाउने गरेको आरोपसमेत लगाएका छन् । उनीहरूका अनुसार उद्योग सञ्चालकले स्थानीयको गुनासो र आग्रहलाई बेवास्ता गर्दै आएका छन् । अनुगमनपछि प्रतिक्रिया दिँदै जानकी–६ का वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले दुर्गन्धका कारण घरभित्र बस्नसमेत कठिन भएको बताए ।
“दुर्गन्धले खाँदाखाँदैको खाना पनि छोड्नुपर्ने अवस्था छ,” उनले भने, “घरमा बस्न र खेतबारीमा काम गर्नसमेत समस्या भएको छ ।” उनले उद्योगलाई नहरमा फोहोर पानी नखसाल्न कडा आग्रह गरिएको जानकारी दिए ।
अनुगमनका क्रममा उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नगरेको र फोहोर पानी प्रशोधनका लागि आवश्यक ट्रिटमेन्ट प्लान्टसमेत नराखेको पाइएको गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकारी दिए । पालिकाको निर्देशन अवज्ञा गरे वातावरण संरक्षण ऐन, २०७७ को दफा १३ (१) बमोजिम उद्योग सञ्चालनमा रोक लगाउने चेतावनी पनि उनले दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार उद्योग निकै पुरानो भए पनि अहिले आसपासमा बस्ती विस्तार भइसकेकाले समस्या झन् बढेको छ । “उद्योग खुलेको समयमा त्यहाँ बस्ती थिएन, अहिले जनसङ्ख्या र घरधुरी बढेपछि उद्योगका कारण धेरै मानिस प्रभावित भएका छन्,” उनले भने। स्थानीयले उद्योग स्थानान्तरण गर्नुपर्ने मागसमेत उठाएका छन् ।
वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले उद्योगले सावधानी नअपनाउँदा आसपासका बस्तीका साथै महेन्द्र राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू समेत दुर्गन्धबाट प्रभावित भएको बताए। नहरको पानी खाने गाईबस्तुमा समेत समस्या देखिन थालेको उनको भनाइ छ ।
अनुगमन टोली उद्योग पुगेका बेला उद्योग सञ्चालक उपस्थित नभएको बताइएको छ । टोलीले उद्योगका कामदारसँग कुरा गर्दै सञ्चालकलाई गाउँपालिकामा उपस्थित भई छलफल गर्न निर्देशन दिएको छ ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नं. ६ का अध्यक्ष जगदीश प्रसाद हरिजन, सूचना प्रविधि अधिकृत विकास जिसी, सामाजिक विकास समिति संयोजक रामअचल धोबी, वडा सदस्य अजमत अली साईसहित पालिका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो । स्थानीयका अनुसार कत्था उद्योगबाट फैलिने दुर्गन्धको समस्या नयाँ भने होइन । हरेक वर्ष समस्या दोहोरिने गरेको भन्दै स्थानीयले दीर्घकालीन समाधानको माग गर्दै आएका छन् ।





