कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपा विजयी

महेन्द्रनगर, २५ फागुन ।
प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् । यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् ।
२४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरेका छन् । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरेका हुन । बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।
त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरेका छन् । यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो । त्यसैगरी यहाँको कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भएका छन् ।
यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरेका छन् । कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो । जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलो पटक सांसद निर्वाचनमा होमिएका थिए ।






