विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह: उपेन्द्र यादवले तीनसय बढीलाई जसपामा भित्र्याए

बाँके,१२ फाल्गुन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् । जसपाले आज बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए । पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन लागेको भन्दै मतदानमा विवेक पुर्याउन आग्रह गरे । उनले मुलुकमा लामो समय काँग्रेस एमालेले सरकार चलाएको बताउँदै उनीहरुकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको बताए ।

पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरुको कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवा पुस्ता रिसाएको बताए । उनले जेनजी आन्दोलनलाई भ्रष्टचार र कुशासनको विद्रोह भएको बताए । एमाले नेतृत्वको सरकारले सामाजिक संजालमा लगाएको प्रतिवन्धका कारण पनि भदौं २३ र २४ गतेको घटना भएको बताए । उनले सरकारले दमन गरेर बच्चाहरुको ज्यान लिएको पनि दावी गरे ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार क्रुरुर हुँदा भदौं २४ को घटना घटेको समेत जिकिर गरे । एमाले र काँग्रेसको संयुक्त सरकारले संसद बचाउन नसकेको बताए । उनले ३५ वर्षदेखि ठूला दलहरुले सरकार चलाएको भन्दै अव भोट माग्न आउँदा किन जिताउने भनेर प्रश्न गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा सरकारले कुनैपनि काम गर्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । उनले ठूला दलहरुले मधेशी तथा मुस्लिम समुदायको कुनै पनि हितमा काम नगरेको बताए । उनले संविधानले मधेशी तथा मुस्लिम समुदायको पहिचान स्थापित गरेको उल्लेख गरे । त्यो अधिकार मधेश आन्दोलनबाटै सम्भव भएको पनि जिकिर गरे । आज कुनै पनि मधेशी तथा मुस्लिम समुदायका मानिसहरु शिर निहुराएर हिड्नु पर्ने अवस्था नरहेको समेत उनको भनाई छ । चुनावी सभालाई सम्वोधन गर्दै जसपा नेतृ अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी जसपामात्रै भएको बताईन् ।

उनले जसपाबाट चुनाव जित्ने र त्यसकै बलमा अहिले अरु पार्टीमा गएर चुनाव लड्नेहरुले धम्की दिने गरेको भन्दै त्यसको निन्दा गरिन् । उनले संघीयता जोगाउन र मधेश मुद्धालाई संरक्षण गर्न छाता चिन्हमा मत हाल्न पनि सबैलाई आग्रह गरिन् ।
उक्त चुनावी सभामा ठूलो संख्यमा यादवले पार्टी प्रवेश गराएका छन् । विभिन्न पार्टी परित्याग गर्दै तीन सय बढीलाई उनले पार्टी प्रवेश गराएका हुन् ।






