‘समृद्ध सल्यान, हाम्रो अभियान’ : नेपाली कम्युनिस्ट पार्टी सल्यानको ६ बुँदे प्रतिबद्धता सार्वजनिक

सल्यान ,८ फाल्गुन ।
नेपाली कम्युनिस्ट पार्टी सल्यानले ‘समृद्ध सल्यान, हाम्रो अभियान’ भन्ने नारासहित ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। राजनीतिक स्थायित्वदेखि उत्पादनमा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसम्मका महत्त्वाकांक्षी योजना अघि सार्दै पार्टीले आगामी दुई वर्षभित्र सल्यानलाई उज्यालो, जोडिएको र उत्पादक जिल्लाका रूपमा विकास गर्ने घोषणा गरेको हो।
सार्वजनिक गरिएको प्रतिबद्धतामा सडक पूर्वाधार र पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्न राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग र लुम्बिनी–रारा लोकमार्गलगायत रणनीतिक सडकहरूको स्तरोन्नति र निर्माण कार्यलाई तीव्रता दिने योजना सार्वजनिक गरिएको छ। साथै, सबै पालिका र वडासम्म पक्की सडक विस्तार गरिने तथा सञ्चार पूर्वाधार सुदृढीकरणमार्फत दुई वर्षभित्र सबै घरधुरीमा गुणस्तरीय सञ्चार सेवा पुर्याउने लक्ष्य लिइएको छ।
सार्वजनिक सेवामा डिजिटल पहुँच विस्तार गर्दै इन्टरनेट सेवा सुलभ र प्रभावकारी बनाइने प्रतिबद्धतामा उल्लेख छ।
पर्यटन क्षेत्रलाई समृद्धिको प्रमुख आधार मान्दै जिल्लाको समग्र ‘पर्यटन गुरुयोजना’ निर्माण गरिने जनाइएको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा कृषि पर्यटनको एकीकृत विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। यसअन्तर्गत कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल तथा फालाबाङ पुतली दरबारलगायतका प्रमुख गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धन गरिने योजना अघि सारिएको छ।
लोकसंस्कृति संरक्षणका लागि ‘सल्यान सांस्कृतिक प्रतिष्ठान’ स्थापना गर्ने, होमस्टे कार्यक्रम प्रवर्द्धन गर्ने तथा वार्षिक पर्यटन महोत्सव आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमार्फत सांस्कृतिक पहिचानलाई संस्थागत गरिने पार्टीको भनाइ छ।
शिक्षा क्षेत्रतर्फ संघीय शिक्षा ऐन पारित गर्न पहल गरिने, जिल्लामा कृषि क्याम्पस स्थापना गर्ने, डिजिटल सिकाइ प्रणाली विस्तार गर्ने तथा प्राविधिक र सिपमूलक शिक्षा कार्यक्रम थप गर्ने योजना सार्वजनिक गरिएको छ। स्वास्थ्यतर्फ सल्यान जिल्ला अस्पतालको निर्माण कार्य सम्पन्न गरी १०० शय्यासम्म स्तरोन्नति गर्ने तथा सबै पालिकामा कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य बिमा कार्यक्रम विस्तार, टेलिमेडिसिन सेवा सञ्चालन, सुरक्षित मातृत्व कार्यक्रम सुदृढीकरण तथा जेष्ठ नागरिक, महिला र बालबालिकालक्षित स्वास्थ्य सेवा प्रभावकारी बनाइने प्रतिबद्धतामा उल्लेख छ। साथै, खेलकुद विकासका लागि जिल्ला रंगशाला निर्माण, पालिकास्तरमा कभर्ड हल तथा विद्यालयस्तरमा खेलमैदान निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
पार्टीले यी योजनाहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना, समयसीमा र स्रोत व्यवस्थापनमा जोड दिने बताउँदै सल्यानलाई उत्पादन, पूर्वाधार र सेवाको हिसाबले आत्मनिर्भर र समृद्ध जिल्लाका रूपमा रूपान्तरण गर्ने दाबी गरेको छ।






