बर्दियामा भारत लैजान लागिएका तीन नेपाली बालबालिका उद्धार, ६ भारतीय नागरिक पक्राउ

बर्दिया ,२८ माघ।

भारततर्फ लैजान लागिएका तीन नेपाली बालबालिकालाई प्रहरीले उद्धार गर्दै छ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट बालबालिकालाई उद्धार गरिएको हो।
प्रहरीका अनुसार उद्धार गरिएका बालबालिकामध्ये रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराकी १३ वर्षीया बालिका तथा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन्। उद्धार गरिएका बालबालिकाका परिवारसँग प्रहरी सम्पर्कमा आइसकेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारत उत्तर प्रदेश बहराइच जिल्लाका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँकी ७४ वर्षीया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीया ज्ञानकुमारी महत रहेका छन्। यस्तै उत्तर प्रदेश अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत पनि पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूसँग काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लका अनुसार शंकास्पद रूपमा बालबालिकालाई भारततर्फ लैजान लागिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट बालबालिकालाई सुरक्षित रूपमा उद्धार गरिएको उनले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नियन्त्रणमा लिइएका व्यक्तिहरू दाङको घोराही बजार क्षेत्रमा गमला बनाउने काम गर्दै आएको खुलेको छ। उनीहरूले नेपाली बालबालिकालाई लामो समयदेखि आफूसँग राख्दै आएको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ। यद्यपि बालबालिकालाई भारतमा कुन उद्देश्यका लागि लैजान खोजिएको भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बालबालिकाको पारिवारिक अवस्था, उनीहरू कसरी ती व्यक्तिसँग पुगे तथा भारत लैजानुको उद्देश्य के थियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले सम्बन्धित जिल्ला प्रशासन तथा आफन्तहरूसँग समन्वय गरी बालबालिकालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको बताए।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको आशंका समेत रहेकाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। सीमावर्ती क्षेत्र हुँदै बालबालिका ओसारपसार हुने जोखिम उच्च रहने भएकाले प्रहरीले निगरानी र सुरक्षा व्यवस्थालाई थप कडा बनाएको बताइएको छ।
स्थानीय तह तथा सुरक्षा निकायले सीमावर्ती क्षेत्रका नागरिकलाई अपरिचित व्यक्तिसँग बालबालिका पठाउँदा सतर्क रहन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्। प्रहरीले यस्ता घटनाले बालबालिकाको भविष्य र सुरक्षामा गम्भीर असर पार्न सक्ने भएकाले अभिभावक तथा समुदायलाई थप सचेत रहन पनि अनुरोध गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *