लागुऔषध सेवन गरी सवारी चलाउने ६ चालक पक्राउ

सुर्खेत, २६ माघ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, बाट लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा चालकहरूमा लागुऔषध सेवन गरेको प्रारम्भिक लक्षण देखिएपछि प्रयोग गरी परीक्षण गर्दा क्यानाबिस र ओपिओइड लगायतका लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रारम्भिक परीक्षणपछि उनीहरूलाई थप अनुसन्धानका लागि प्रक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८, का २८ वर्षीय अजय थापा, वीरेन्द्रनगर–११ का २५ वर्षीय कासीराम डाँगी, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ का २४ वर्षीय हिक्मत शाही र सोही ठाउँका २५ वर्षीय जीवन शाही छन् ।
त्यस्तै, वीरेन्द्रनगर–११, का २५ वर्षीय प्रकाश विक, दैलेखको गुराँस गाउँपालिका–४, का २५ वर्षीय डिलबहादुर विक छन् । प्रहरीका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न यस्ता चेकजाँचलाई अझ कडाइका साथ निरन्तरता दिइनेछ ।






