सुर्खेतका ६ हजार किशोरीलाई  पाठेघरमा हुने क्यान्सरविरूद्धको खोप

सुर्खेत, २६ माघ । 

पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई सुरक्षित बनाउने उद्देश्यले सुर्खेत जिल्लामा एच.पी.भी. खोप अभियान सञ्चालन गर्न लागिएको छ । आगामी फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप प्रदान गरिन लागिएको हो ।

सुर्खेत जिल्लाभर ६ हजारभन्दा बढी किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको छ । विशेषगरी कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने किशोरीहरूलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइने छ । एच.पी.भी. खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी मानिएको खोप हो ।

वीरेन्द्रनगर नगरपालिकामा मात्रै ५० वटा खोप केन्द्र तोकिएको छ । ती केन्द्रमार्फत २ हजार १७० जना किशोरीलाई खोप सेवा प्रदान गरिने नगर स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गिरीले जानकारी दिए । अधिकांश खोप केन्द्र विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यार्थीहरूलाई सहज पहुँच पुग्ने विश्वास उनको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले खोप अभियानलाई सफल बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताएकी छन् । ‘यो अभियानमा कुनै पनि किशोरी नछुट्ने गरी खोप लगाउन सबै अभिभावक र सरोकारवालालाई आग्रह गर्दछु । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो,’ उनले भनिन्, ’त्यसका लागि खोपसँगै पोषणयुक्त खानपान र सचेत जीवनशैली अपनाउनुपर्छ भन्ने सन्देश हामीले घर–घरमा पुर्‍याउन आवश्यक छ ।’

प्रमुख ढकालले रोग लागेपछि परिवारमा पर्ने आर्थिक भार र ज्यानै गुम्न सक्ने जोखिमलाई मध्यनजर गर्दै खोप अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गरिन् । ‘यो खोप सुरक्षित छ, प्रभावकारी छ । त्यसैले सबै अभिभावकले आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन पठाउन म हार्दिक अपिल गर्दछु,’ उनले थपिन् ।

उनले विद्यालय बाहिर रहेका किशोरीहरू पनि अभियानमा समेटिनुपर्नेमा विशेष जोड दिइन् । ‘विद्यालय नजाने किशोरीहरू पनि उत्तिकै जोखिममा हुन्छन्, त्यसैले उनीहरूलाई खोजी–खोजी खोपको पहुँचमा ल्याउनुपर्छ । यो अभियानमा सबै मिलेर लागौं,’ नगरप्रमुख ढकालको भनाइ छ । स्वास्थ्यकर्मीहरूका अनुसार एच.पी.भी. खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । २०८१ सालको खोप सल्लाहकार समितिको सिफारिसअनुसार नेपाल सरकारले यो खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको हो ।

पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्युदर घटाउने उद्देश्यले यो अभियान देशव्यापी रूपमा सञ्चालन गरिएको हो । विशेषज्ञहरूले खोपसँगै नियमित स्वास्थ्य परीक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताएका छन् ।महिलामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त पाठेघरको मुखको परीक्षण गराउन प्रदेश अस्पताल सुर्खेतका डा. सुवास गौतम बताउँछन् । भिआईए विधिबाट हरेक तीन वर्षमा र एचआईभी संक्रमितलाइ एच.पी.भी. डीएनए विधिबाट एक वर्षमा परीक्षण गर्न सकिने व्यवस्था रहेको उनले बताए ।

प्रारम्भिक चरणमै रोग पहिचान भए उपचार सहज र प्रभावकारी हुने  सुझाव उनको छ । खोप पूर्ण रूपमा सुरक्षित रहेको र यसको गम्भीर साइड इफेक्ट नदेखिएको स्पष्ट पारेका उनले खोपले भविष्यमा हुने क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउने भएकाले यसलाई जनस्वास्थ्यको दृष्टिले अत्यन्त महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको बताए ।

अभियानलाई सफल बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारमाध्यमबीच समन्वय गरिएको छ । समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । सरकारले किशोरीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सुरु गरेको यो अभियानबाट सुर्खेतका हजारौं किशोरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । स्वास्थ्य कार्यालयले तोकिएको मितिभित्र नजिकको खोप केन्द्रमा पुगेर खोप सेवा लिन सम्पूर्ण अभिभावक र किशोरीहरूलाई अनुरोध गरेको छ ।

सुर्खेतका ६ हजार किशोरीलाई   पाठेघरमा हुने क्यान्सरविरूद्धको खोप

प्रतिनिधि सभा सदस्य निर्वाचन :  एक करोड

सुर्खेतका ६ हजार किशोरीलाई   पाठेघरमा हुने क्यान्सरविरूद्धको खोप

लागुऔषध सेवन गरी सवारी  चलाउने ६ चालक

Leave a comment

Your email address will not be published. Required fields are marked *