जुम्लाका उत्पादन पूर्वी नेपालसम्म पुर्याउँदै तीर्थबहादुर
झापा, १५ माघ ।
जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थायी बासिन्दा तीर्थबहादुर तिरुवाले पूर्वी तराईका जिल्लामा कर्णालीका पहिचान बोकेका उत्पादन पुर्याउँदै आएका छन् । झोलाभित्र सिलाजित, केसर, यार्सागुम्बा, हिमाली तेल, मार्सी चामललगायत जुम्लासहित कर्णालीका पहिचान बोकेर उनले झापाको काँकडभिट्टाबाट सुनसरीको इटहरीसम्मका बजार, गाउँबस्ती, कुनाकन्दरामा पुगेका छन् ।
तीर्थका लागि यो झोला केवल सामान बोक्ने साधन होइन, यो उहाँको जीविकोपार्जन, आत्मसम्मान र सपना बोकेको संसार हो ।
तीर्थ आजभोली झापाको बिर्तामोडमा डेरा गरी सात जना साथीसँग बस्दै आउनुभएको छ । सबैजना जुम्लाकै उत्पादन बोकेर व्यापार गर्ने साथीहरू हुन् । कसैले राडी,पाखी बेच्छन्, कसैले अल्लोका कपडा, कसैले हातले बुनेका गलैँचा, कसैले खाकी (दाउरा, सुरुवाल), तीर्थको झोलामा भने जडीबुटीको सुवास मिसिएको हुन्छ ।
“यो व्यापार थालेको करिब १२ वर्ष भयो”, उनले भने, “तर पूर्वी तराईमा आएर गर्न थालेको सात वर्ष पुग्यो ।” पहिलेपहिले उनले बागलुङ, बेनी, पाल्पा, बुटवललगायत पहाडी र मध्य तराईका क्षेत्र घुम्नुभयो । एकपटक साथीहरूको सल्लाहमा पूर्वी नेपाल आएको बताउँदै उनले भने, “यहाँ बजार राम्रो रहेछ, मानिसहरू नयाँ कुरा चाख्न चाहन्छन् । सात वर्षयतादेखि व्यापारका लागि अन्यत्र जानु परेको छैन ।”
तीर्थको जीवन मौसमीयामसँगै घुम्छ । गर्मी याम (साउन र भदौ) उहाँका लागि व्यापारको सुनौलो समय हो । यही बेला ताजा यार्सागुम्बा बिक्रीमा आउँछन् । “यार्सा ताजा नै खोज्छन् मानिसहरू”, उनले भने, “त्यसैले उक्त समयमा बिक्री राम्रो हुन्छ ।”
जाडो याम (मङ्सिरदेखि चैत) मा तीर्थको पूर्वी तराईमा समय बित्छ । चैतमा मात्रै सबै सामान सकेर घर फर्किने उहाँको नियमजस्तै बनेको छ । “कहिले व्यापार राम्रो हुन्छ, कहिले दिनभर हिँड्दा पनि हात खाली हुन्छ । व्यापार भएको दिन दुःख बिर्सिदोरहेछ”, उनले भने, “आज बिक्री भएन भने भोली हुन्छ भन्ने भरोसा आफूमा हुनुपर्छ ।”
जुम्लाबाट ल्याइने जडीबुटी र अन्य सामान बेचेर तीर्थले वार्षिक दुवै याममा सबै खर्च कटाएर करिब आठ लाखसम्म आम्दानी हुने जानकारी दिए । “यो रकम सानो होइन, विशेषगरी आफ्नै देशमा, आफ्नै पसिनाले कमाएको हो । विदेश जानुभन्दा आफ्नै देशमा व्यापार गर्दा स्वतन्त्रता महसुस हुन्छ”, उनले अनुभव सुनाए, “कोही मालिक छैन, कोही गाली गर्ने छैन ।”
यो काममा सहजता भने नभएको तीर्थको बुझाई छ । गाउँका धेरै युवाजस्तै तीर्थ पनि कुनै समय भारत जान बाध्य भए । उत्तर प्रदेश, हरियाणा, पञ्जाब, हिमाञ्चल आसपासका क्षेत्र उनका लागि सङ्घर्षका मैदान बनेका थिए । “भाषा बुझ्दैनथेँ, भारतीयहरूले हेप्थे”, उनले विगत सम्झँदै भने, “सामान चोरी हुने डर, खान–बस्न समस्या, धेरै अपमान सहनुपर्यो ।”
वि.सं. २०७० देखि सुरुका चार वर्षको हिउँद उनले भारतमा बिताए । त्यहाँ गरेको सङ्घर्षले उनलाई आत्मनिर्भर बन्ने आँट दियो । “त्यहाँको दुःखले मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सिकायो”, तीर्थले भने । पूर्वी तराईमा अहिले तीर्थका नियमित ग्राहक पनि छन् । कोही मार्सी चामल खोज्दै आउँछन्, कोही सिलाजित । अझै पनि धेरै ग्राहक हिँड्दाहिँड्दै भेटिने उनले बताए । “नयाँ मानिससँग कुरा गर्न रमाइलो लाग्छ”, उनले भने, “कर्णालीका बारेमा सुनाउँदा उहाँहरूले चासोका साथ सुन्न्नुहुन्छ र सामान किनिदिएर सहयोग पनि गर्नुहुन्छ ।” यो व्यापारबाट तीर्थ एकदमै सन्तुष्ट हुनुहुन्छ । उहाँका लागि यो केवल पैसा कमाउने माध्यम होइन, जुम्लाको पहिचान बोकेर देशका कुनाकाप्चामा पुग्ने अवसर पनि हो । आज भद्रपुरको गल्लीमा तीर्थ झोला बोकेर अघि बढ्दै छन् । भोली उहाँ उर्लाबारीतिर लाग्नुहोला, पर्सि फेरि कुनै नयाँ बस्तीमा । तर जहाँजहाँ तीर्थ पुग्नुहुन्छ त्यहाँ जुम्लाको माटोको गन्ध, कर्णालीको पसिना र आत्मनिर्भरताको सन्देश पनि सँगै पुग्नेछ ।दिपक चन्द/रासस

