पश्चिम नेपालको चुनावी अभियानमा निस्किएका बालेन शाहको नेपालगन्जमा भव्य स्वागत

बाँके ,१२ माघ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सोमबार नेपालगन्जमा भव्य स्वागत गरिएको छ। पश्चिम नेपालको निर्वाचन प्रचार–प्रसार भ्रमणका क्रममा सुदूरपश्चिम जाने क्रममा नेपालगन्ज आइपुगेका शाहलाई नेपालगन्ज विमानस्थल र बजार क्षेत्रमा सयौँ समर्थक तथा पार्टी कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका हुन्।
मौसम खराबीका कारण हवाई उडानमा ढिलाइ हुँदा शाह निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो नेपालगन्ज पुगेका थिए। ढिलाइ हुँदाहुँदै पनि बिहानैदेखि ठूलो संख्यामा समर्थकहरू विमानस्थलमा भेला भई उहाँको प्रतीक्षामा बसेका थिए। विमानस्थलबाट शाह खुला जिपमा सवार भई सडक छेउछाउका स्थानीयलाई हात हल्लाउँदै अभिवादन गर्दै नेपालगन्ज बजार हुँदै पार्टी कार्यालयतर्फ प्रस्थान गर्नुभएको थियो।
नेपालगन्ज विमानस्थलमा शाहलाई बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनार, क्षेत्र नम्बर २ का उम्मेदवार विवेककुमार श्रेष्ठ, निवर्तमान सांसद लक्ष्मी तिवारी, स्थानीय नेता निलराज अधिकारी, बुद्धि सागर सुवेदी लगायतले स्वागत गर्नुभएको थियो।
नेपालगन्जस्थित जिल्ला पार्टी कार्यालयमा पनि सयौँ समर्थक, नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। शाहद्वारा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कार्यालय वरिपरि अत्यधिक भीड भएको कारण सुरक्षा र व्यवस्थापनका दृष्टिले उद्घाटन कार्यक्रम स्थगित गरिएको रास्वपाका नेता बुद्धि सागर सुवेदीले जानकारी दिनुभयो।
नेपालगन्जको कार्यक्रमपछि रास्वपाका वरिष्ठ नेता शाह कोहलपुर हुँदै बर्दिया जिल्ला प्रवेश गर्नुभएको छ। उहाँ बर्दिया हुँदै कैलाली जाने कार्यक्रम रहेको पार्टीले जनाएको छ। पश्चिम नेपालका विभिन्न जिल्लामा हुने भेटघाट, सभा तथा चुनावी अभियानमार्फत पार्टी सन्देश जनतासमक्ष पुर्याउने उद्देश्यसहित शाहको यो भ्रमणलाई रास्वपाले महत्वपूर्ण मानेको छ।






