अर्धवार्षिक लक्ष्य चुक्यो : आन्तरिक राजश्व कार्यालय जुम्लालाई वार्षिक लक्ष्य भेटाउन चुनौती

जुम्ला ,९ माघ।

आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक राजश्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको छैन। साउनदेखि पुष मसान्तसम्म २० करोड १३ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले हालसम्म १५ करोड ९८ लाख मात्र असुली गरेको छ, जसअनुसार ३ करोड ११ लाख रुपैयाँ लक्ष्यभन्दा कम सङ्कलन भएको हो।
जुम्ला, कालिकोट र मुगु तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पछिल्लो समय लक्ष्यअनुसार राजश्व उठाउन कठिनाइ भोग्दै आएको छ। चालु आर्थिक वर्षका लागि कार्यालयलाई ६४ करोड रुपैयाँ वार्षिक राजश्व सङ्कलनको लक्ष्य दिइएको छ। तर पहिलो ६ महिनामा झण्डै १६ करोड मात्र सङ्कलन हुन सकेकाले बाँकी ४८ करोड रुपैयाँ असुली गर्नुपर्ने चुनौती देखिएको छ। अर्धवार्षिक प्रगतिको गतिले वार्षिक लक्ष्य पूरा हुनेमा शङ्का उत्पन्न भएको छ।

आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेका अनुसार लक्ष्य हासिल गर्न करदाता शिक्षा, सचेतना कार्यक्रम तथा निगरानीलाई प्राथमिकता दिइएको छ। जुम्लामा हाल कुल १९ हजार ४२ जना करदाता रहेका छन्। तीमध्ये आयकरतर्फ १६ हजार ७७५, भ्याटतर्फ १ हजार ६८७ र अन्तःशुल्कतर्फ ८५० जना करदाता छन्।
छ महिनामा सङ्कलन भएको झण्डै १६ करोड राजश्वमध्ये आयकरबाट ११ करोड ९० लाख, भ्याटबाट ३ करोड ४४ लाख, अन्तःशुल्कबाट ६३ लाख ६६ हजार तथा अन्य शीर्षकबाट राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
प्रमुख घिमिरेले भौगोलिक विकटता, विशेषगरी कालिकोट र मुगुका करदातालाई समयमै कर बुझाउन कठिनाइ हुने गरेको बताउनुभयो। “आर्थिक वर्षको अन्त्यतिर भने अनिवार्य बुझाउन आउँछन्। बीचमा सचेतना कार्यक्रम पनि सञ्चालन गर्छौँ। जसरी पनि वार्षिक लक्ष्य भेटाउने अभियानमा छौँ,” उहाँले भन्नुभयो।
कार्यालयका अनुसार जुम्लामा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने, समयमै कर नबुझाउने र आम्दानी लुकाउने समस्या अझै कायम छन्। यस्ता समस्याको समाधानका लागि करदाता शिक्षालाई निरन्तरता दिइँदै आएको कार्यालयले जनाएको छ।

अर्धवार्षिक लक्ष्य चुक्यो : आन्तरिक राजश्व कार्यालय जुम्लालाई वार्षिक लक्ष्य भेटाउन चुनौती

आठौँ उपमेयर छात्रा कपको उपाधिका लागि बालशिक्षा

अर्धवार्षिक लक्ष्य चुक्यो : आन्तरिक राजश्व कार्यालय जुम्लालाई वार्षिक लक्ष्य भेटाउन चुनौती

सल्यानमा अनुभवी र नयाँ पुस्ताबीच कडा प्रतिस्पर्धा:

Leave a comment

Your email address will not be published. Required fields are marked *