भेरी अस्पतालमा थप ४ डायलाइसिस मेसिन सञ्चालन : मिर्गौला बिरामीलाई अब सहज सेवा

बाँके ,११ कार्तिक ।

भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ मेसिन सञ्चालनमा आएसँगै अब दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भई बिरामीहरूलाई ठूलो सहजता मिल्ने भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार, यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । तर, अब कुल १० वटा मेसिन सञ्चालनमा आएपछि तीन सिफ्टमार्फत दैनिक ३० जना बिरामीले सेवा लिन सक्ने भएका छन् ।

अस्पतालका नर्सिङ निरीक्षक बिना घलेले तीमध्ये दुईवटा मेसिन विशेष रूपमा सेरोपोजेटिभ बिरामीहरू (जस्तै हेपाटाइटिस र एचआईभी संक्रमित) का लागि छुट्याइएको जानकारी दिइन् । उनले भनिन्, “संक्रमण नियन्त्रण र संवेदनशीलताका दृष्टिले यी बिरामीलाई अलग्गै सुविधा दिइएको हो।”

डा. सुवेदीका अनुसार, नयाँ मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घट्ने विश्वास गरिएको छ । उनले भने,
“पहिले बिरामीहरूले हप्तौँ पालो कुर्नुपर्थ्यो, अहिले भने थप मेसिनले राहत दिएको छ र धेरै जनाको समयमै उपचार सम्भव भएको छ।”
अस्पतालका अनुसार, स्वास्थ्य विभागबाट तीनवटा नयाँ मेसिन प्राप्त भएका हुन् भने एक मेसिन अस्पतालले आफ्नै स्रोतबाट मर्मत गरी सञ्चालनमा ल्याएको हो । साथै, पुराना बेडहरूको मर्मत र सुधार गरेर सेवा गुणस्तरमा पनि सुधार ल्याइएको छ ।

डायलाइसिस वार्ड विस्तारसँगै अस्पतालले एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) क्षेत्रका बेडहरू पनि व्यवस्थित गरेको छ । कोभिड–१९ महामारीको समयमा सञ्चालन गरिएको पुरानो आइसीयूलाई नयाँ भवनमा सारेर त्यसको स्थान प्रयोग गरी डायलाइसिस सेवा अझ विस्तार गरिएको डा. सुवेदीले जानकारी दिए ।

नेपालगन्ज मात्र नभई बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका मिर्गौला पीडितहरूलाई भेरी अस्पतालको यो पहलले ठूलो राहत दिने विश्वास गरिएको छ ।

उपचारका लागि आएका एक स्थानीय बिरामी नितेश शर्माले भने,
“पहिले डायलाइसिसका लागि हप्तौँ पालो कुर्नुपर्थ्यो, अब छिट्टै सेवा पाउने आशा जस्तो जागेको छ।”

भेरी अस्पतालले यसअघि पनि प्रदेशमै मिर्गौला उपचारका क्षेत्रमा भरपर्दो सेवा दिँदै आएको छ । अहिले थप ४ वटा मेसिन सञ्चालन र बेड सुधारसँगै अस्पतालको क्षमता र पहुँच दुवै गुणात्मक रूपमा सुधार भएको देखिएको छ ।

यसरी, डायलाइसिस सेवाको विस्तारसँगै भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि सबल र विश्वसनीय केन्द्रका रूपमा उभिएको छ ।

 

भेरी अस्पतालमा थप ४ डायलाइसिस मेसिन सञ्चालन : मिर्गौला बिरामीलाई अब सहज सेवा

वर्षाले भिजायो धानबाली, जुम्ली किसानका चिन्तित

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds