४४औँ मगर दिवसमा कोहलपुरमा निःशुल्क दन्त र स्वास्थ्य शिविर
बाँके,१६ फाल्गुन ।
४४ औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ को अवसरमा बाँकेको कोहलपुरमा निःशुल्क दन्त शिविर तथा स्वास्थ्य जाँच शिविर सञ्चालन भएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर बाँकेको आयोजनामा सम्पन्न भएको दिवसको अवसरमा निःशुल्क दन्त शिविर र स्वास्थ्य चेकजाँच शिविर सञ्चालन भएको हो । नेपाल मगर संघ कोहलपुर नगर कार्यसमितिका अध्यक्ष कविराम पुलामी मगरले दिवसको अवसरमा कौशिल्या अस्पतालको सहकार्यमा एक दिने निःशुल्क दन्त शिविर सञ्चालन गरिएको बताए ।
उनका अनुसार दिवसकै अवसरमा फोनिजसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य जाँच सेवा शिविर सञ्चालन गरिएको हो । उनका अनुसार दुवै शिविरमा गरेर अनुमानित १ हजार ५ सय जना भन्दा बढीले सेवा लिएका छन् । दिवसको अवसरमा औपचारिक कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ थियो । औपचारिक समारोहको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्नै उनले मगर समुदाय नेपालको साहसी समुदाय रहेको बताए । उनका अनुसार मगर समुदायको सम्मानमा नगरपालिकाले स्थानीय विदासमेत दिएको छ । यसैगरी नगरपालिकाले मगर समुदायको उत्थानको लागि हरेक वर्ष बजेटसमेत विनियोजना गर्दै आएको नगरप्रमुख आचार्यले बताए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय महासचिव टेक बहादुर नाम्जाली मगरले आधुनिक नेपालको निर्माणमा मगर समुदायको विशिष्ट योगदान रहेको बताए । उनका अनुसार नेपाल एक बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । सम्पूर्ण समुदाय मिलेर समृद्ध र विकसित मुलुक निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । कोहलपुर ११ स्थित न्युरोड मैदानमा औपचारिक समारोह सुरू हुनु पुर्व कोहलपुर चौराहा,न्युरोड,साझा चोक हुँदै मैदानमा सम्म बृहत सांस्कृतिक र्याली निकालिएको थियो ।
र्यालीमा मगर समुदायको संस्कृतिक झल्कने,बाजागाजा,नाचका साथै सांगितिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।यसैगरी,औपचारिक समारोहमा विभिन्न जातीय नाच,सडक नाटक प्रस्तुत गर्नुका साथै महिला पुरुष सटफुट प्रतियोगिता र निवर्तमान कार्यसमितिलाई सम्मान गरिएको संघले जनाएको छ । ‘ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौ,मगरात दर्शन निर्माणको संकल्प गर्दै संघको ४४औँ स्थापना दिवस मनायौ ।’ भन्ने मुल नारासहित बाँकेका विभिन्न पालिकामा दिवस मनाइएको हो ।





