मधेश र मुस्लिम समुदायका छोरीको भविष्य उज्यालो बनाउँदै जानकी गाउँपालिकाको कन्या विद्यालय अभियान

बाँके ,१२ माघ।
मधेश तथा मुस्लिम समुदायका बालिकालाई विद्यालयसम्म टिकाइ राख्ने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकाले सञ्चालनमा ल्याएको कन्या विद्यालयले स्थानीय तहमा शिक्षामार्फत सामाजिक रूपान्तरणको नयाँ अध्याय सुरु गरेको छ। सामाजिक परम्परा, सुरक्षा चिन्ता, आर्थिक अभाव र पहुँचको कमीका कारण विद्यालयबाट टाढा रहन बाध्य छोरीहरूका लागि यो विद्यालय आज आशा, विश्वास र अवसरको केन्द्र बनेको छ। छोरीको शिक्षालाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो अभियानले समुदायमै सकारात्मक सोचको विकास गराउँदै लैजान थालेको छ।
शैक्षिक सत्र २०८० देखि जानकी गाउँपालिका–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मा छात्राहरूका लागि मात्र कक्षा ८ सम्म अध्यापन सुरु गरिएको हो। विद्यालय स्थापना हुँदा सीमित विद्यार्थीबाट सुरु भए पनि हाल यहाँ ४२० जना छात्रा अध्ययनरत छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार विद्यालयलाई क्रमशः विस्तार गर्दै कक्षा १२ सम्म पुर्याउने दीर्घकालीन योजना रहेको छ। “छोरीहरूलाई आफ्नै गाउँमै सुरक्षित वातावरणमा उच्च शिक्षा दिन सकियो भने ड्रपआउटको समस्या धेरै हदसम्म समाधान हुन्छ,” उहाँले भन्नुभयो।
कन्या विद्यालय सञ्चालनका लागि गाउँपालिकाले हालसम्म करिब ९० लाख रुपैयाँ खर्च गरेको छ। सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत प्राप्त ५० लाख रुपैयाँबाट विद्यालयको पर्खाल, शौचालय र सुरक्षासम्बन्धी संरचना निर्माण गरिएको छ। त्यसैगरी गाउँपालिकाले थप ४० लाख रुपैयाँ विनियोजन गरी कक्षाकोठा, फर्निचर, खानेपानी, विद्युत् तथा अन्य आवश्यक पूर्वाधार तयार पारेको छ। नेपालगञ्जपछि जिल्लामै कन्या विद्यालय सञ्चालन गर्ने दोस्रो स्थानीय तहका रूपमा जानकी गाउँपालिका चिनिनु स्थानीय सरकारको शिक्षा क्षेत्रमा बढ्दो लगानी र प्रतिबद्धताको संकेत मानिएको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँका अनुसार विद्यालयमा छात्राहरूका लागि निःशुल्क शिक्षा, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, सुरक्षित यातायात, स्वच्छ खानेपानी र व्यवस्थित शौचालयको व्यवस्था गरिएको छ। उहाँका अनुसार छवटै वडाबाट छात्रालाई समेट्ने गरी नियमित यातायात सेवा सञ्चालन गरिएको छ, जसका कारण टाढा बसोबास गर्ने बालिकाले पनि सजिलै विद्यालय पुग्न पाएका छन्। “शिक्षामा पहुँच बढाउन यातायात नै सबैभन्दा ठूलो बाधा थियो, त्यसलाई हामीले प्राथमिकतामा राख्यौं,” अध्यक्ष खाँले बताउनुभयो।
अभिभावकको सुरक्षा चिन्तालाई मध्यनजर गर्दै विद्यालयमा शिक्षिका तथा कर्मचारी महिला मात्र राखिएको छ। गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवका अनुसार मधेश तथा मुस्लिम समुदायमा छोरीलाई टाढा विद्यालय पठाउन अझै पनि सामाजिक र सांस्कृतिक हिच्किचाहट हुने भएकाले छुट्टै कन्या विद्यालय आवश्यक देखिएको हो। “घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म सुरक्षित यातायात भएपछि अभिभावकहरू ढुक्क भएका छन्,” उहाँले भन्नुभयो। यसले विद्यालयमा छात्राको उपस्थितिदर र निरन्तरता उल्लेख्य रूपमा बढाएको छ।
जानकी गाउँपालिकामा हाल ४५ वटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा छन्। सामाजिक विकास समिति संयोजक राम अचल धोबीले अब विद्यालयको भौतिक विस्तारसँगै शिक्षाको गुणस्तर सुधारमा ध्यान केन्द्रित गरिने बताउनुभयो। “हामी अब नतिजामुखी शिक्षा मात्र होइन, व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिन्छौं,” उहाँले भन्नुभयो।
शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीका अनुसार कन्या विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी भइरहेको छ। यसले छात्राहरूलाई विज्ञान र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सूचना प्रविधि अधिकृत विकास जिसीले विद्यालयसँगै डिजिटल शिक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। कम्प्युटर ल्याब, आधारभूत सूचना प्रविधि शिक्षा र डिजिटल सिकाइ सामग्री प्रयोगमा ल्याइएको छ भने आगामी दिनमा अनलाइन कक्षा र ई–लर्निङ सामग्री विस्तार गरिने योजना रहेको छ।
परम्परागत सोच, सामाजिक बन्धन र संरचनागत अवरोधबीच छोरीहरूको भविष्य उज्यालो बनाउने लक्ष्यसहित सञ्चालनमा आएको जानकी गाउँपालिकाको कन्या विद्यालय आज शिक्षा मात्र नभई आत्मविश्वास, सुरक्षा र समान अवसरको प्रतीक बनेको छ। यहाँ अध्ययनरत छात्राहरू विद्यालयको चार दिवारभित्र मात्र सीमित छैनन्, उनीहरू शिक्षाको बलमा सुरक्षित, आत्मनिर्भर र सम्मानित भविष्यतर्फ अघि बढिरहेका छन्।





