बर्दियामा किशोरीमा बढ्दो रक्तअल्पता: ८१.९ प्रतिशतमा समस्या, पोषण र खानपान मुख्य कारण
बर्दिया ,११ चैत ।
बर्दिया जिल्लामा पछिल्लो समय किशोरीहरूमा रक्तअल्पताको समस्या अत्यधिक रूपमा देखिएको छ। स्वास्थ्य कार्यालय बर्दियाले गरेको अध्ययनअनुसार परीक्षण गरिएका किशोरीमध्ये ८१.९ प्रतिशतमा रक्तअल्पता फेला परेको छ।
स्वास्थ्य कार्यालयले जिल्लाका आठ नगरपालिका अन्तर्गतका आठ विद्यालयका दुई हजार ६७२ किशोरीमा रक्त परीक्षण गर्दा दुई हजार १८९ जनामा रक्तअल्पता देखिएको हो। केवल ४८३ किशोरीको हेमोग्लोबिन सामान्य अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ।
रक्तअल्पता देखिएका किशोरीमध्ये ५७५ जनामा सामान्य, एक हजार ४१३ जनामा मध्यम र ७२ जनामा कडा खालको रक्तअल्पता रहेको पाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार किशोरीहरूमा अपेक्षाभन्दा धेरै रक्तअल्पता देखिनु चिन्ताजनक अवस्था हो। उनले रक्तअल्पता न्यूनीकरणका लागि साप्ताहिक रूपमा आइरन चक्की खुवाउने कार्यक्रम सञ्चालनमा रहेको र प्रभावित किशोरीहरूको छ महिनापछि पुनः परीक्षण गरिने जानकारी दिए।
गत वर्ष पनि जिल्लाका १६ विद्यालयका तीन हजार ३३७ किशोरीमा गरिएको परीक्षणमा दुई हजार ६९३ जनामा रक्तअल्पता देखिएको थियो भने ६४४ जना सामान्य अवस्थामा रहेका थिए। यस वर्षको तथ्याङ्कले समस्या अझ बढ्दो क्रममा रहेको देखाएको छ।
कडा खालको रक्तअल्पता देखिएका किशोरीलाई आवश्यक औषधि उपलब्ध गराई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ। स्वास्थ्य कार्यालयका कुपोषण स्रोतव्यक्ति मानबहादुर नेपालीका अनुसार सामान्य र मध्यम अवस्थाका किशोरीलाई आइरन चक्कीका साथै पोषिलो आहार सेवन गर्न सुझाव दिइएको छ।
यस वर्ष कडा रक्तअल्पता देखिएका ७२ जनामध्ये करिब ९० प्रतिशत थारू समुदायका किशोरी रहेको कार्यालयले जनाएको छ।
सरकारले किशोरीहरूमा रक्तअल्पता रोक्न साप्ताहिक आइरन चक्की वितरण कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित सुधार हुन सकेको छैन। कतिपय किशोरीमा रक्तअल्पताका कारण चक्कर आउने, थकान महसुस हुने तथा पढाइमा असर पर्ने समस्या देखिएको छ। शिक्षिका शारदा ज्ञवालीका अनुसार वितरण गरिने आइरन चक्कीको मात्रा नै पर्याप्त नभएको गुनासो समेत छ।
बर्दिया अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनालले किशोरीहरूमा पोषणको कमी मुख्य कारण भएको बताउँदै घरायसी पोषिलो खाना भन्दा बजारमा पाइने जङ्क फुडप्रति आकर्षण बढ्दा समस्या जटिल बन्दै गएको उल्लेख गरे। उनका अनुसार रगत बढाउने खानेकुरा नखाने, क्याफिनयुक्त पदार्थको अत्यधिक प्रयोग तथा असन्तुलित खानपानका कारण किशोरीमा रक्तअल्पता बढिरहेको छ।
विशेषज्ञहरूले किशोरीहरूको स्वास्थ्य सुधारका लागि पोषणयुक्त आहार, नियमित स्वास्थ्य परीक्षण र जनचेतना अभिवृद्धि अत्यावश्यक रहेको औँल्याएका छन्।





