मानव बेचबिखन रोकथामका लागि सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
बाँके, ६ चैत ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन नियन्त्रण तथा रोकथामका लागि दुवै देशका सरोकारवालाबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसै सन्दर्भमा बर्दियाको गुलरिया नगरपालिकामा इन्डो–नेपाल समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके यूनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित बैठकले सीमापार मानव बेचबिखन सञ्जाललाई कमजोर बनाउँदै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्य लिएको थियो ।
बैठकमा मधुवन नगरपालिका र राजापुर नगरपालिकाका उपप्रमुख, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय राजापुरका अधिकारीहरू, साथै मानव बेचबिखनविरुद्ध क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतीय संस्था ‘दिहात’का प्रमुख सञ्चालन अधिकृत दियांशु चतुर्वेदी र मोहम्मद इमरान अन्सारीले मानव बेचबिखनको वर्तमान अवस्था, चुनौतीहरू तथा सीमापार समन्वयका अनुभव प्रस्तुत गर्दै संयुक्त प्रयासको अपरिहार्यता औंल्याए ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले लागूऔषध दुर्व्यसन तथा जोखिममा रहेका समूहप्रति लक्षित सचेतनामूलक अभियान प्रभावकारी बनाउन स्थानीय तह र सुरक्षा निकायको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
बैठकले सीमापार सामाजिक सञ्जाल समन्वय समूह गठन गर्ने, सूचना आदानप्रदान प्रणालीलाई सुदृढ बनाउने, संयुक्त सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा नियमित समन्वय बैठकलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, उद्धार, पुनःस्थापना र पुनःएकीकरणका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ ।
यो समन्वय बैठकलाई मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य मजबुत बनाउने तथा सीमावर्ती समुदायको सुरक्षामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।




